अब म कोठा सर्नु पर्छ

नाकारा कवि
खोटाङ

पश्चिम फर्केको घरको बिच कोठामा
म बुनिरहेको छु जिवनका सुईटरहरु
म तुनिरहेको छु भविष्यका सपनाहरु
तर ती सब सिद्दिन पाएनन्
हुर्किन पाएनन्
अब मलाई बस्नु छैन त्यहाँ
र सुत्नु छैन दक्षिण फर्किएको खाटमाथी ।
अप्ठ्यारो ढोकाबाट छिर्नु पर्ने त्यो कोठामा
न त कहिल्यैे घाम लाग्छ
न त कहिल्यै जुन झुल्किन्छ ।
कृतिम प्रकाशको उज्यालो मुनि बसेर
दिर्घकालिन अन्धकार बाँचिरहेको छ मेरो आँखाले
चिसो घुम्टो ओडेका भित्ताहरुले डामेर
अङ्ग सबै डल्लिने सेपिलो सर्दी पिइरहेको छ मेरो शरिरले ।
र, सिनो झैं दुङ्दुङ्ती गनाइरहने
अहमता बाँचेका भुइँ र भित्ताहरु
मुर्दा घरको शंख फुकिरहने
पात्ले काठका सिलिङ्गहरु
र नलिखुट्टा बजाउँदै टिनका छानामा दौडिने
ओसिलो मसानहरु
र तिनिहरुलाई
सहयोग गर्न तल्लिन पल्लो कोठामा बस्ने
ईष्र्या पालेका जुरेचिलहरु
जो आफैंले टिपिरहेका छन्
आफ्नै स्थायी सन्तानका टुसाहरु
ती सबलाई छामिरहेका छन् मेरा हातहरुले
स्पर्श गरिरहेका छन् मेरा सुईटरहरुले
प्रस्ट देखिरहेका छन् मेरा सपनाहरुले ।

मलाई सकस छ त्यहाँ बस्न ।

त्यही घरको तल्लो कोठामा
हरक्षण पुर्खाको विरासत खाइरहेको छ तप्कनिको सेपले
र पिताको आशीर्वाद काप्चिरहेको छ पिडाले,
कोरैकोरको त्रासदी छ त्यहाँ
मानवता खरानी भएको छ त्यहाँ
लहलह छ स्वार्थ त्यहाँ
डाह उम्रीएर आँगनमा
अपराधका लेउ हुर्किएर सिकुवाभरी
शान्ति र न्याय भाग्दैछ जस्केलाबाट त्यहाँ
समृद्धी तड्पिदैछ खोपिमा त्यहाँ
र त मलाई खुब सकस छ बस्न त्यहाँ ।
मैले त्यो कोठामा
लेनिनका खेतहरु सिँचाई गर्न सकिन र सकिन मलजल गर्न
चे र काका हो का बारीहरु
म प्रत्येक पटक ब्युझिँदा देख्न थालेँ
चेचेन आतङ्कले खाएको यल्तसिनको त्रसित अनुहार
खमेर रुजका पोलपोट सिर्जित कत्लेआम खप्पर
र, आफ्नै सन्तानको जिउँदो लास
होनहार पाखुराहरुको भयभित कङ्काल
कङ्गाल बन्दै गइरहेको आफ्नै शरिरको प्रतिरुप
र च्यातिन आटेका मेरा सुईटर र सपनाहरु
अब म बस्नु छैन त्यो कोठामा
मलाई खुब सकस छ बस्न त्यहाँ ।

म आत्तुर छु
अब आफ्नो बुत्ताले भ्याएसम्म पखेटा फट्टायर
माथि माथि उड्न
तन र मनले देखेसम्म शान्त र सुन्दर संसारको आनन्द लिन
जिवनलाई प्रस्ट साँध लागाएर
चाहे जति सहज सास फेर्न
हो म एकदम आत्तुर छु
शाङ्कुमर्याङको शिखरमा
विजयको नयाँ लाल झण्डा गाड्न
बोलिभियाको रुखको टुप्पोमा बसेर
वाशिङटनको सिकार गर्न
साँच्चै आत्तुर छ, इच्छाशक्तिको मेरो ताप
माओ र क्रुप्स्कायहरु जन्माउन
त्यसैले त, अब म त्यहाँबाट कोठा सर्नु पर्छ
त्यो घर ध्वस्त हुनु अगावै
मेरा सुईटर र सपनाहरु पुरिन अगावै ।

खोटाङ

तपाईको प्रतिक्रिया