घुम्न जाउँ देउढुंगा

जीवन लामा सञ्चारकर्मी
266 Shares
दाेलखा

हिन्दु र बौद्ध धर्मवलम्बी दुवैको आस्थाका केन्द्र हुन्, देउढंगा । देउढुंगा महादेवको दर्शन गर्नाले चिताएको पूरा हुने जनविश्वास छ । व्रम्हा, विष्णु, महेश्वर, शिव, सरस्वती, लक्ष्मी र महादेव सबैको एकसाथ दर्शन पाईने विश्वास गर्छन् यहाँ पुग्ने भक्तजनहरु ।

सदरमुकाम चरिकोटबाट बिगुसम्म एकदिन गाडीमा र अर्कोदिन बिगुबाट पैदल यात्रा गरी पुग्न सकिन्छ देउढुंगा ।

देउढुगां वरिपरी घनाजंगल र डाँडाकाँडाले घेरिएको छ । सुनसान जंगल बिच एक्लै ठिङ्ग ठडिएको छ देउढुंगा । अग्लो ढुंगाको टाकुरा, टाकुरा मुनि तल भूँईमा सानो मन्दिर छ । भूँईबाट ज-जस्ले सिक्का हुर्याएर ढुंगाको टाकुरा टुप्पोमाथि पुर्याउन सक्छ, उसको चिताएको पुरा हुने विश्वास गरिन्छ ।

देउढुगां मन्दिरको दर्शन गर्न बिहान सबेरै टाशीगच्छल गुम्बा बिगुबाट ठाडो उकालो हिड्नुपर्छ । लगभग ६ घण्टा पैदल उकालो उक्लिएपछि मन्दिरको दर्शन पाइन्छ ।

किसान वस्तुभाउ, अन्नपात र प्राकृतिक विपत्तिबाट आफ्नो रखवारीका लागि देउढुगां पुग्ने गर्छन् । निसन्तानहरु सन्तान प्राप्तिका लागि । वस्तुभाउ माग गर्नेहरु वस्तु बाँध्ने दाम्लो लिएर र निसन्तानहरु कोक्रो सहित वर पुकार सहित मन्दिर पुग्छन् । भक्तजनहरु मागेको वर प्राप्त भएपछि पुनः चिताएको प्राप्त भयो भनेर खुशी हुँदै भगवानलाई धन्यवाद व्यक्त गर्न फेरि मन्दिर पुग्ने गर्छन् ।

२०७२ सालको महाभूकम्पले देउढुगां मन्दिरमा क्षति पुगेन । त्यस अघि विक्रम सम्वत् १९९० सालको भूकम्पमा पनि मन्दिरंमा कुनै क्षति नभएको बताउँछन् स्थानीयहरु । दैवी शक्तिकै कारण देउढुगां नभत्किएको जनविश्वास छ ।

भक्तजनहरु उकालोमा देवता आफैँले तानेको भान हुने बताउँछन् र उकालो यात्रा सहज महशुस गर्छन् । अहिले दुई किलोमिटर जत्ति बाटोमा वडा कार्यालयले सिँढी निर्माण गरेको छ । ठाउँ ठाउँमा चौतारा बनाएको छ । यसले उकोलो यात्रालाई थोरै भएपनि सहज बनाएको छ ।

देउढुगां दर्शन यात्रामा रङ्गीबिरङ्गी फूलहरु, विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाज र झरना, खोलानालाको दृष्यले मन झनै फुरुङ्ग बनाउँछ । दोलखाका अधिकांश भूभाग नियाल्न सकिने यस क्षेत्रको यात्रामा उत्तरतर्फको गौरीशंकर हिमश्रृङ्खलाहरु नियाल्दा नियाल्दै बाटो कटेको पत्तै हुँदैन । धार्मिक आस्था र विश्वाससँगै प्राकृतिक सौन्दर्यको आकर्षक गन्तव्य बन्न पुगेको छ, देउढुंगा ।

प्राय पर्यटकहरु देउढुंगा जाँदा र फर्कदा गरी दुई रात बिगुमा बिताउँछन् । गौरीशंकर संरक्षण क्षेत्रले बिगुमा घरबास (होमस्टे) को व्यवस्था गरेको छ । करिव एक सय जना पर्यटकको लागि सहज व्यवस्थापन हुने घरबस छ ।

बिगु शेर्पा जातिको बस्ती हो । बिगु एउटा ऐतिहासिक गुम्बा छ जुन नेपालकै पहिलो आनी गुम्बाको रुपमा परिचित छ । अहिले पनि ८५ जना आनीहरु छन् यहाँ ।

२०७२ को भूकम्पले बिगु गुम्बामा ठूलो क्षति पुर्यो । भूकम्पपछि गुम्बाका भवनहरु पुनः निर्माण हुने क्रममा छ । आलु, मकै र कोदो बिगुका स्थानीय उत्पादन हुन् । यिनै चिजबाट बन्ने परिकार खुवाउँछन् पपर्यटकलाई यहाँ । चौरीको दूध, छुर्पी र घीउ यहाँका विशेष हुन् । पाहुनालाई शेर्पा संस्कृति अनुसार बेलुकी स्याब्रु नाच देखाउँछन् ।

हिउँद होस् या वर्षात् बिग गुम्बा र देउढुगां दर्शन गर्न जाने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । युवादेखि ज्येष्ठ नागरिकहरु समेत घुम्नको लागि दुवै स्थान पुग्ने गर्छन् ।

शब्द र तस्बिर:जीवन लामा

तपाईको प्रतिक्रिया