न्वागी मनाउँदै चेपाङ समुदाय

सैलुङअनलाइन संवाददाता
काठमाडौं

चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व मनाइँदै छ । चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङका अनुसार चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते यो पर्व मनाउँदै आएको छ ।
चेपाङ समुदायले न्वागी पर्व धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउने गरेको आइतासिङले बताए । उनका अनुसार चेपाङ समुदायमा नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफूलहरू चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

न्वागीका दिन चेपाङ झाँक्री (पान्दे)हरूले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । न्वागीमा चेपाङहरूले कुखुराको बलिसमेत दिने गर्छन् ।

आज उनीहरु छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीत प्रस्तुत गर्ने गर्दछन् । रातभर दोहोरी गाउने केटाकेटी चिनजान गर्ने र मन मिले भगाएर विवाह गर्ने प्रचलनसमेत रहँदै आएको छ ।

२०६३ देखि चेपाङ समुदायले नेपाल चेपाङ सङ्घको आयोजनामा न्वागी सामूहिकरूपमा मनाउँदै आएको छ । त्यसअघि समुदायले परापूर्वकालदेखि नै टोलटोलमा जम्मा भएर यो पर्व मनाउँदै आएका थिए ।

सङ्घले चेपाङ समुदायको बसोबास गर्ने जिल्ला र पालिकामा हरेक वर्ष आलोपालो गरी कार्यक्रम आयोजना गर्दै आएका छन् । महासचिवका अनुसार यस वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चैनपुरमा सामूहिक कार्यक्रम आयोजना गरिने भएको छ । चैनपुरमा उपस्थित हुन नसक्नेहरूले गाउँ टोलमै विधिपूर्वक न्वागी मनाउन समेत संघले अनुरोध गरेका छन् ।

नेपालको २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेका छन् ।

तपाईको प्रतिक्रिया