तनहुँमा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न पोखरी निर्माण

सैलुङअनलाइन संवाददाता
तनहुँ

डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

भानु नगरपालिकामा १२, देवघाट, ऋषिङ र बन्दिपुरमा एक-एक, म्याग्दे गाउँपालिकामा दुई वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको उनको भनाई छ ।

चितुवाको सबैभन्दा बढी आतंक रहेको भानुमा धेरै पोखरी निर्माण गरिएको छ । वनमा पानीको स्रोत मासिदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो । ` तनहुँमा केही वर्षयता चितुवाको बढी आतंक छ, जंगलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो,´ उनले भने, `जसकारण धेरै जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाउनुपर्‍यो ।´ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि यो अभियानले सहयोग पुग्ने काफ्लेको भनाई छ ।

१७ सामुदायिक वनमा पोखरी निर्माणका लागि कार्यालयले रु १४ लाख ८० हजार अनुदान दिएको छ । ११ वटा सामुदायिक वनलाई रु एक-एक लाख, पाँच वटा सामुदायिक वनलाई ५०-५० हजार रुपैयाँ र एउटा सामुदायिक वनलाई एक लाख ३० हजार रुपैयाँ सहयोग गरिएको छ । कार्यालयका अनुसार भानुको देउराली, कालिका, सानो देउराली, मस्र्याङ्दी, भिमसेन थुम्की, मजुवा ओख्ले, लोहीपाखा, रातमाटे पत्थरेढुङ्गा, भानुभक्त, बेलथुम्की, तिलाहार, झाक्रीथुम्का, इन्द्रचेक, देवघाटको पालेथुम्की, बन्दिपुरको वार्से गह्रा ठकुरीडाँडा, म्याग्देको वाराही र ज्यानटाङ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैँले पोखरी निर्माण गर्न थालेका छन् । ` प्रत्येक सामुदायिक वनभित्र पोखरी भइदिए वन्यजन्तु जंगलमै बस्ने र बस्तीसम्म आउँदैनथे,´ काफ्लेले भने, `यसले गर्दा मानव र वन्यजन्तुको द्वन्द्व पनि घट्छ ।´ कार्यालयले गत आवमा मात्रै चितुवाको आक्रमणबाट क्षति भएकालाई रु १६ लाख राहत वितरण गरेको छ । गत आव चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको थियो ।

कार्यालयले पीडित परिवारलाई रु दश लाख राहत उपलब्ध गराएको थियो । सोही अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाले थुप्रै पशु चौपाया मारेको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । २१ लाख ८६ हजार ७०४ रुपैयाँको क्षति मूल्यांकन गरिएकामा १६ लाख ५९ हजार १०४ रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया