मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना

सैलुङअनलाइन संवाददाता
बागमती

हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनिलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

तीज पर्व नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका मुख्यमन्त्री शाक्यद्वारा आज जारी सन्देशमा उल्लेख छ । सन्देशमा यस पर्वमा महिलाको सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु भनिएको छ । ‘तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निमार्णतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु’, सन्देशमा उल्लेख छ ।

यस्ता सांस्कृतिक पर्वले सबै नेपालीको बिचमा विविधतामा एकता, धार्मिक सहिष्णुता पारिवारिक मिलन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेका हुन्छन् भन्ने विश्वास रहेको मुख्यमन्त्री शाक्यले उल्लेख गरेकी छन्।

यसैबिच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै धार्मिक दृष्टिले मात्र नभई शारीरिक र मानसिक रूपमा पनि तीज महत्त्वपूर्ण पर्व रहेको उल्लेख गरेकी छन् । शुभकामनामा सन्देशमा उनले हिन्दु महिलाको धार्मिक पर्व हरितालिका तीज नेपाली आमा दिदी बहिनीका लागि महत्त्वपूर्ण रहिआएको बताएकी छन्।

तपाईको प्रतिक्रिया