अबदेखि शिक्षक हुनका लागि सामान्य र विषयगत गरी दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् ।
मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।
संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षा दुई सय पूर्णाङ्कको हुनेछ । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ । सामान्य परीक्षा वस्तुगत हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले सामान्य परीक्षा उत्तीर्ण गरेकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको बताए । ‘विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नयाँ व्यवस्था गरेका हौँ ।,’ उनले भने, ‘यसबाट शिक्षक छनोटमा प्रतिस्पर्धा बढ्ने छ र उत्कृष्ट मात्र शिक्षकमा छनोट हुन सक्नेछन् ।’
सामान्य परीक्षामा कम्तीमा ५० अङ्क प्राप्त गर्नेले मात्र विषयगत परीक्षा दिन पाउनेछन् । संशोधित नियमावलीअनुसार सामान्य परीक्षामा प्राप्त अङ्कको ५० प्रतिशत अङ्क मात्र विषयगत परीक्षाको प्राप्ताङ्कमा जोडिने व्यवस्था छ ।
नियमावलीले शिक्षकको अन्तर्वार्ताका लागि तोकिएको २५ अङ्कको नयाँ बाँडफाँट गरिएको छ । अन्तर्वार्ताका लागि १५ अङ्क, अनुभवबापत १० वर्षको बढीमा पाँच अङ्क, न्यूनतम शैक्षिक योग्यताका लागि तीन अङ्क र माथिल्लो शैक्षिक योग्यताका लागि दुई अङ्क दिने व्यवस्था नयाँ नियमावलीमा गरिएको छ ।