पहिलो तामाङ हस्तलिखित पत्रिका म्हेन्दोको इतिहास

रविन्द्र तामाङ लेखक/अनुसन्धाता
काठमाडौं
तस्बिर : सन्तोस योन्जन

हस्तलिखित पत्रिकाको इतिहास

नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास पुस्तक हेर्दा वि.सं. २००७ सालको परिवर्तनपछि हस्तलिखित पत्रिका छापिएको पाइन्छ । पहिलो पटक वि.सं. २००९ सालमा बिराटनगरबाट नेपाली भाषामा हस्तलिखित रुपमा ‘आर्दशवाणी’ पत्रिका प्रकाशन शुरु भएको देखिन्छ । (देवकोटा, २०२४) त्यसैगरी ने.सं. १०७४ मा कक्षला पारोमा र भगवती प्रसादको सम्पादनमा ‘झी’ नामक नेपाल भाषामा हस्तलिखित पत्रिका प्रकाशन भएको पाइन्छ । (देवकोटा,२०२४) त्यसपछि वि.सं. २०१६ मा भोजपुरबाट तामाङ भाषाको हस्तलिखित पत्रिका ‘म्हेन्दो’ मोक्तान भाइ र गणेश योन्जनको सम्पादनमा प्रकाशन भएको देखिन्छ । (ढकाल, २०५३ ) नेपालबाट हस्तलिखित पत्रिका प्रकाशन भएको ९ वर्षपछि प्रकाशित ‘म्हेन्दो’ तामाङ पत्रपत्रिकाको इतिहासमा पहिलो पत्रिका हो ।

म्हेन्दो प्रकाशन पूर्वको पृष्ठभूमि

ब्रिटिस उपनिवेशबाट सन् १९४७ मा भारत स्वतन्त्र भएपछि दार्जीलिङ रहेका तामाङ र नेपालीहरुले सङ्गठित रुपमा आफ्नो धर्म र संस्कृतिको उत्थान मात्र होइन अ-आफ्ना भाषाका पत्रपत्रिका र पुस्तकहरु प्रकाशित गर्न थालेका थिए । (तामाङ, २०६२) त्यसो त भोजपुरका तामाङहरु कामका सिलसिलामा दार्जीलिङ आउने जाने क्रम पहिलेदेखि नै गर्थे । सर्वध्वज मोक्तान आफ्ना केही काम लिएर भतिजा भेट्न वि.सं. २०१५ तिर दाजिलिङ पुगे । सोही क्रममा उनले त्यहाँ तामाङहरुमा आएको धार्मिक, सांस्कृृतिक र साहित्यिक जागरण नजिकबाट देखे । उनले दार्जीलिङका तामाङहरुले आफ्नो जातीय पहिचानका लागि सन् १९२३ अर्थात् वि.सं. १९८० मा नै नेपाल तामाङ बुद्धिष्ट एशोशियसन संस्था स्थापना गरेको (तामाङ, २०६२) पाए र त्यही संस्थाको नेतृत्वमा तामाङहरुबाट आर्थिक सहयोग उठाएर धर्म, संस्कार र संस्कृतिको जर्गेना गर्न टाशी दारग्येलिङ तामाङ गुम्बा निर्माण (तामाङ, २०६२) गरेको देखे । त्यसपछि उनी पनि नेपाल तामाङ बुद्धिष्ट एशोशियसन संस्थाको सदस्य भए ।

उनले त्यसबखत लेखक बुद्धिमान् मोक्तानको सन् १९५६ अर्थात् २०१३ मा प्रकाशन भएको जिक्तेन ताम छ्योई र सन्तवीर लामाको सन् १९५७ अर्थात् २०१४ मा प्रकाशित ताम्बा काइतेन र सन् १९५९ अर्थात् २०१६ मा प्रकाशित सेबुसेमु (योन्जन, २०६९) जस्ता मातृभाषाका पुस्तकहरु प्रकाशन गरेको पाए । साथमा उनले दार्जिलिङमा नेपाली भाषाका थुप्रै पुस्तक र पत्रपत्रिकाहरु पनि प्रकाशित भएको पनि पाए । यिनै अनुभूति, प्रेरणा र प्रकाशनहरु कोसेली बोकेर उनी भोजपुर भित्रिए ।

दार्जीलिङबाट भोजपुर आएपछि सर्वध्वज मोक्तानलाई कसरी आफ्नो जातीय धर्म, संस्कृति र संस्कारको संरक्षण गर्ने कार्य भोजपुरमा आरम्भ गरौं भन्ने लागि रहेको थियो । यसैबिच उनले सर्वप्रथम भोजपुरमा नेपाल तामाङ बुद्धिष्ट एशोशियसन संस्थाको शाखा कार्यालय नारायण बजारमा स्थापना गरे । सोही संस्था मार्फत् बौद्ध धर्मको प्रचारप्रसार शुभारम्भ गरे । सिद्धकाली मन्दिर भएको स्थानमा गुम्बा बनाउन कोसिस पनि गरे उनले, तर असफल भए । त्यसपछि सोही संस्थामा भाषा फाँटको स्थापना गरेर मातृभाषाको संरक्षण अभियानलाई अघि बढाए र तामाङ भाषाको हस्तलिखित पत्रिका म्हेन्दो प्रकाशन गरेर कुशल कर्म गरे ।

भोजपुरको शैक्षिक परिवेश

२००७ सालको प्रजातन्त्रको प्राप्तिपछि भोजपुर बजारमा अवस्थित विद्धोदय हाइ स्कूलमा पढाउने क्रममा राजधानी र बिराटनगरबाट थुप्रै शिक्षकहरु पढाउन जाने गर्थे । शिक्षकहरुले विद्यार्थीहरुको मानसिक विकास गर्न साहित्यिक क्रियाकलापमा सरिक गराउथे । साहित्यिक क्रियाकलापमा शिक्षक र विद्यार्थी दुबैले नेपाली भाषामा गीत, कविता र कथाहरु वाचन गर्थे । सोही गीत, कविता र कथाहरु हस्तलिखित गरेर विद्यालयले सूचना पाटीमा टाँसेर ‘छाँगो’ हस्तलिखित पत्रिका प्रकाशन गर्ने गर्दथ्यो । यसैको सिको गरेर के.पी.जोशीले ‘आँकुरा’ र सुवास…? ले ‘ट्याम्के’ जस्ता हस्तलिखित पत्रिका प्रकाशन गरेर भोजपुर बजारका विभिन्न स्थानमा टाँस्ने गर्दथे । जसमा प्रायः परशु प्रधान, कृष्ण जोशी, शैलन्द्र साकारका कविताहरु छापिने गर्दथ्यो । सोही समय जन प्रज्ञारत्न विरहीको नेपाली र नेपाल भाषाको कविता वाचन सुनेर भोजपुरका साहित्यमा अभिरुची राख्नेहरु वाहा वाहा गर्थे । शिलशोभा ताम्राकारले भने सोही समयमा नेपाल भाषाको कविता सग्रह ‘ततालुमंका’ पुस्तक काठमाडौंबाट छपाएर भोजपुर ल्याएका थिए । यो २०१५ साल ताकाको कुरा हो ।

म्हेन्दो प्रकाशनसँग जोडिएको कथा

कवियत्री शिलशोभा ताम्राकारको नेपालभाषाको कविताको अंश कण्ठस्थ वाचन गर्दै एक दिन मोक्तान भाइ आसरानी मोक्तान कहाँ जसै पुगे तसै उनीले भोक्तान भाइलाई एक झापड लगाइन् । मोक्तान भाइ रोएनन् चूप लागेर बसे । रोएको भए अर्को चड्कन दिने प्रचलन थियो त्यतिखेर । अनि केहीबेरपछि विस्तारै उनले मोक्तान भाइलाई फकाउँदै भनिन्– ‘के नेवारी भाषाको कविता भट्टयाएको भनेर पो म रिसाएको त, के तेरो आफ्नो भाषा छैन र !? नेवारी भाषा जानेर त तलाई के फाइदा हुन्छ । आफ्नो भाषा पो जान्नु पर्छ । आफ्नो भाषाको पो विकास गर्नुपर्छ । जा सर्वध्वज मोक्तानले तलाई तामाङ भाषा पनि सिकाइ दिनु हुन्छ, अनि तामाङ भाषाको कविता पनि ।’

त्यसपछि मोक्तन भाइ फुरुक्क भएर सर्वध्वज मोक्तान कहाँ गए । उनले मोक्तान भाइलाई दार्जीलिङबाट ल्याएको तामाङ भाषाका पुस्तकहरु ताम्बा काइतेन र जिकतेन तामछ्योई देखाएर भने- ‘हेर यसरी लेख्नुपर्छ तामाङ भाषामा गीत र कविता’ । अनि उनले दार्जीलिङबाट ल्याएको नेपाली भाषाको पुस्तक र पत्रिकाहरु देखाएर भने- ‘अब हामीले यस्तै भए पनि सानो तामाङ भाषाको पत्रिका प्रकाशन गर्नु पर्यो’ । मोक्तान भाइले टाउको हल्लाएर हुन्छ भने ।

सर्वध्वज मोक्तानले भोजपुर बजारमा रहेका ताम्बा, गान्बा, डम्फुरे र लामाहरुबाट तामाङ भाषाका गीत-कविताहरु लेख्न लगाए । सानो पत्रिकाको लागि लगभग रचनाहरु सङ्कलन भयो । सर्वध्वज मोक्तानले पत्रिका प्रकाशनको बैठक राखे । सोही बैठकमा उनले नेपाली भाषाको पत्रिकाको नमुना देखाउँदै ‘नेपाल खाल्डोमा नागदह रहेको बखत विपश्पी बुद्धले रोपेको बीजबाट कमलको फूल उत्पन्न भएको, सोही फूलमा महाज्योति प्रकट भएको, सोही महाज्योतिलाई छोपेर स्वयम्भू चैत्य बनेको’ कथा सुनाउँदै पत्रिकाको नाम ‘कमलको फूल’ अर्थात् ‘म्हेन्दो’ राख्नुपर्छ’ भने । सोही कारण पत्रिकाको आवरणमा नेपालको नक्सा बनाउने सो नक्साभित्र केरकार गरेर दह र नागहरु देखाउने भने । उनले अगाडि नेपालको नक्साभित्र काठमाडौं उपत्यका सङ्केत गर्न गोलो चिन्ह राख्ने, नेपालको नक्साभित्र म्हेन्दोला याम्बु भनेर अक्षर लेख्ने भने । यसरी उनले आवरण बनाउने अवधारणा अघि सारे ।

सर्वध्वज मोक्तानले नै पत्रिका प्रकाशन गर्ने जिम्मेवारी युवाहरुलाई दिनु पर्छ, हामी जस्ता बूढाहरुले त संरक्षण गर्ने हो भने । अनि सर्वध्वज मोक्तानले चञ्चल अनि जोसँग पनि बोलिहाल्ने स्वभाव भएका मोक्तान भाइलाई पहिलो सम्पादकमा प्रस्ताव गरे । त्यसपछि गम्भीर अनि कम बोल्ने, बोल्दा बान्की मिलाएर चट्ट बोल्ने स्वभाव भएका गणेश योन्जनलाई दोस्रो सम्पादकमा प्रस्ताव गरे । (सम्पादकद्वयको लघु जीवनी यस आलेख अन्तमा प्रकाशित छ) अनि प्राप्त भएका रचनाहरुलाई समेटेर राम्रो अक्षर भएको कारण पत्रिका हस्तलेखन गर्ने जिम्मा गणेश योन्जनलाई तोके ।

पत्रिकामा यस्ता यस्ता कुरा हुनुपर्छ भनेर सर्वध्वजले नै दार्जीलिङबाट ल्याएको नेपाली भाषाको एउटा पत्रिका (सम्भवत भारती पत्रिका हुनु पर्छ) नमुना स्वरुप देखाए । सम्पादकद्वयले सर्वध्वज मोक्तानले भने झै पत्रिका हस्तलेखन गरे । अर्को दिनको बैठकमा पत्रिकाको संरक्षकमा सर्वध्वज मोक्तान राखियो । सर्वध्वज मोक्तान र आसरानी मोक्तानले पत्रिका प्रेसमा छाप्न लैजान आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । तर, पत्रिका छाप्न बिराटनगर, जोगमनी, काठमाडौं, दार्जीलिङ, बनारस मध्ये एक ठाउँमा पुग्नुपर्ने भएकोले कोही पनि जान तयार भएनन् । कारण त्यति खेर सम्पादक मोक्तान भाइ कक्षा ९ मा र गणेश योन्जन कक्षा ८ मा पढदै थिए । आफ्नो पढाई छोडेर पत्रिका छाप्न उनीहरु त्यहाँ जान सकेनन् । फलस्वरुप पत्रिका हस्तलिखित रुपमा प्रकाशित हुन पुग्यो ।

सुरुवातमा सम्पादक गणेश योन्जनले २० प्रति पत्रिका हस्तलेखन गरेर तयार गरे । पत्रिकामा प्रकाशनमा लाग्ने कागज र मसीको खर्च जुटाउन भनेर २ वटा विज्ञापन राखियो । बी.आर.मोक्तानको पुस्तक ‘लाल चम्पा’ पढौं भन्ने एउटा र अर्को ‘लताकपडा चाहियो भने तामाङ स्टोरमा आउनुहोस्’ भन्ने अर्को विज्ञापन राखियो ।

सम्पादकद्वयलाई त्यतिखेर तामाङ भाषा आउँदैन्थ्यो । त्यसैले उनीहरुले सम्पादकीय नेपाली भाषामा लेखे । एकातिर तामाङहरुलाई भोजपुर बजारमा भोटे भन्ने अर्कोतिर तामाङ अर्थात् भोटे भाषामा पत्रिका प्रकाशन गर्न लागिएको हुँदा पत्रिका प्रकाशन नभएसम्म सबै क्रियाकलापहरु गोप्य राखियो ।

पत्रिकाको प्रकाशन नेपाल तामाङ बुद्धिष्टि एसोसियसन, भोजपुर शाखाको भाषा फाँटको मुखपत्रको रुपमा आयो ।

पत्रिकको स्वरुप अवलोकन

पहिलो तामाङ हस्तलिखित पत्रिका म्हेन्दोलाई सरसर्ती हेर्दा पत्रिकाको पहिलो पृष्ठमा आवरण, आवरणको भित्री पृष्ठ खाली, पहिलो पृष्ठ सम्पादक, प्रकाशकको नाम र विषय सूची, दोस्रो र तेस्रो पृष्ठमा लक्ष्यबहादुर योन्जनको ‘तामाङ व्हाई (गीत)’, चौथो पृष्ठमा देव बहादुर योन्जनको ‘फ्ल्कि दोगै’ कविता, पाँचौ पृष्ठमा देवबहादुर योन्जनको ‘आ.हुँ.आ.रि.टा.’ कविता, छैठौं पृष्ठमा धनप्रसाद तामाङको ‘म्हि’ कविता, सातौं पृष्ठमा २ वटा विज्ञापन, आठौं पृष्ठमा सर्वध्वज मोक्तानको ‘दोद’ कविता र नवौं पृष्ठमा काजि तामाङको ‘तामाङ ह्वाई’ र दशौं पृष्ठमा नेपाली भाषामा ‘सम्पादकीय’ रहेको छ । (हेर्नुहोस् पत्रिकाको तस्बिर)

हस्तलिखित पहिलो तामाङ पत्रिका ‘म्हेन्दो’को सम्पादकीय यस्तो रहेको छ :

सम्पादकीय
प्रथम प्रयाशमा यति गर्न सकियो, प्रयाश
हो- जारी रहनेछ ।
कस्तो भयो ?
हामिलाई थाह छैन र भयन ।
लेखादिको अनिकाल छैन- छ । ब्लोन आस्याङले
लेखिदिनु भयन २ प्रति तयार गरि दिनु भयको भए
सघाउ पुग्थ्यो ।
जे भय पनि,
अर्को पटक हामि समालिन्छौं र संरक्षकज्यूले
प्रेसमा लाने सल्लाहा दिनु भयको र रकम दिन्छु
भन्नु भयको छ । आसरानी तामाङ (गुरुङ)ले
पनि सगाउने विश्वास दिनु भयको छ । यो कस्तो
लाग्यो ? हामिलाई सुझाव दिनु होला ।
सम्पादक

प्रकाशन पछिका प्रतिक्रिया

म्हेन्दो पत्रिका हस्तलिखित रुपमा तयार भए पछि पत्रिकाको एकप्रति भोजपुर बजार नारायण टोलमा टासियो । अन्य प्रतिहरु भोजपुरका गाउँका मेलापात एव हाट बजारमा प्रचारप्रसार गर्न पूर्णबहादुर ब्लोन, देवबहादुर योन्जन र धनप्रसाद नेगिले लगेका थिए ।

तामाङ भाषामा पनि पत्रिका प्रकाशन भएकोमा भोजपुरका तत्कालीन साहित्यकार पद्म सुन्दास, प्रज्ञारत्न विरहीले प्रशंसनीय कार्य गरेको भनी हौसला थपे भने नेपाल भाषी युवा साहित्यकार र सहपाठीहरु शैलेन्द्र साकार, कृष्ण जोशी, परशु प्रधान, सीता श्रेष्ठलगायतले भोटे भाषामा प्रकाशित भएको, त्यसमा पनि एक रुपैयाँ तिरेर किन्नु पर्ने पत्रिका कसले पढ्ला भनी ओठ लेप्र्याएर खिसी गरेका थिए ।

असहयोग र प्रशासनिक हस्तक्षेप

म्हेन्दो पत्रिका चार अङ्क प्रकाशन हुँदै गर्दा एकातिर पत्रिकामा संलग्न अग्रजहरु प्रवेशिका परीक्षा दिन कानपुर गएका र अर्कोतिर प्रकाशन परिवार भित्रै प्रकाशनमा बेवास्ता र असहयोगको वातावरण र्सिजना भयो । त्यसमाथि राजा महेन्द्रले २०१७ साल पुस १ गते दलमाथि प्रतिबन्ध लगाएर पञ्चायत व्यवस्थाको सुरुवात गर्ने राजनीतिक घटना घट्यो । यसपछि भोजपुर माल अड्डा गोश्वाराका वडाहाकिम भएर छिरिङ तेन्जी लामा आए । उनले आफ्नो कार्यालयमा संरक्षक र सम्पादकलाई डाकेर ‘पत्रपत्रिका प्रकाशनतिर होइन, पढाईतिर राम्रो ध्यान दिनु, होहल्ला गर्नतिर लाग्ने होइन’ भनी सचेत गराए । त्यसपछि हरेक वर्षको बुद्ध पूर्णिमा र कात्तिक पूर्णिमामा गरी दुईपटक प्रकाशित हुने गरेको हस्तलिखित पत्रिका म्हेन्दो बन्द हुन पुग्यो ।

अन्तमा

दार्जीलिङको भाषा, साहित्य र संस्कृतिक क्रियाकलापबाट उत्साहित भएर सर्वध्वज मोक्तानको पहलमा भोजपुरबाट २०१६ सालमा प्रकाशन भएको हस्तलिखित तामाङ पत्रिका म्हेन्दोको सम्पूर्ण अङ्क संरक्षण गर्न सकेको पाइँदैन । तापनि संरक्षित पहिलो अङ्कको अवलोकन गर्दा पत्रकारिताको सैद्धान्तिक नियमहरु पालना गरेको देखिन्छ । अर्को शब्दमा भन्दा म्हेन्दोमा एउटा पत्रिकामा हुनुपर्ने सम्पूर्ण गुणहरु जस्तै आवरण, सम्पादकको नाम, प्रकाशक, प्रकाशन मिति, वर्ष, अङ्क, समय, विषय सूची, रचना, विज्ञापन र सम्पादकीय पाइन्छ । यो नै पत्रिकाको सबल पक्ष हो । कनिकुथी भए पनि मातृभाषामा सम्पादकीय नलेखिनु, अरु रचना हुँदाहुँदै एउटै व्यक्तिको दुईवटा रचनाहरु प्रकाशित गर्नु, आवरणको पछिल्लो पृष्ठ खाली राख्नु र मुखपत्रको रुपमा आएको पत्रिकामा नेपाल तामाङ बुद्धिष्ट एशोसियसनको समाचार–गतिविधि छापिएको नपाइनु पत्रिकाका दुर्वल पक्ष हुन् । यसबाट पत्रिकाका संरक्षक, प्रकाशक, सम्पादक र संलग्न परिवारहरुमा पत्रकारिताको ज्ञान अब्बल देखिन्छ ।

मातृभाषाको काव्यात्मक अर्थात् गीत र कविताले मात्र भरिएको वि.स. २०१६ मा हस्तलिखित रुपमा भोजपुरबाट प्रकाशित म्हेन्दो पत्रिका नेपाली, भोजपुर र तामाङ पत्रकारिताको इतिहासमा एकातिर महत्वपूर्ण स्थान रहेको छ भने अर्कोतिर तत्कालीन अवस्थामा भोजपुरको मातृभाषा कस्तो थियो भनेर अध्ययन गर्ने अभिलेख पनि भएको छ । साथै यस पत्रिकाका संरक्षक सर्वध्वज मोक्तान प्रेरक व्यक्तित्व, सम्पादक मोक्तान भाइ र गणेश योन्जन पहिलो तामाङ पत्रकारका साथै पत्रिकामा सिर्जना प्रकाशन भएका लक्ष्यबहादुर योन्जन, देवबहादुर योन्जन, धनप्रसाद नेगी तामाङ र काजी तामाङ तामाङ वाङमयको पहिलो पुस्ताका मातृभाषी कवि एवम् गीतकारको रुपमा अमर स्रष्टाको रुपमा दर्ज भएको छ भन्दा फरक नपर्ला ।

………………………………………………………………………………………………………………………………………………………………………..

मोक्तान भाइ (१९९९)

तस्बिर : खोजराज गोले/पेमा लामा

पिता बखतबहादुर मोक्तान र माता विष्णुमाया मोक्तानको कोखबाट वि.सं. १९९९ माघ २ गते भोजपुरमा मोक्तान भाइ अर्थात् शेरबहादुर मोक्तानको जन्म भएको हो । उनले प्रवेशिका परीक्षासम्मको अध्ययन विद्घोदय माध्यामिक भोजपुरमा पुरा गरे । सोही विद्यालयमा कक्षा ९ मा पढ्दापढ्दै उनले तामाङ भाषाको हस्तलिखित अर्धवार्षिक पत्रिकाको ‘म्हेन्दो’ सम्पादन गरे । जसको उनले ४ अङ्क सम्पादन गरेका थिए ।

पत्रिका प्रकाशनका समय उनलाई तामाङ भाषा आउँदैनथ्यो । प्रवेशिका परिक्षा दिएपछि उनी मावली गाउँ न्याङ पुगे जहाँ ३ महिना बसेपछि उनले तामाङ भाषा सिके । विभिन्न बाधा र अप्ठयाराहरुसँग सामना गर्दै नेपाली साहित्यमा स्नातकसम्म अध्ययन गरे । जीविका आर्जनको लागि वि.सं. २०२२ सालदेखि भूमि सुधार कार्यालय अन्तर्गत सहकारी अधिकृत भएर सहकारी शिक्षण पेशालाई अँगाले ।

आफ्नो पुख्यौंली थलो सिन्धुपाल्चोकको अन्तरबुङलगायत विभिन्न तामाङ गाउँ ठाउँ घुमे । तत् पश्चात् उनले तामाङ जातिसँग सम्बन्धित ‘उठानदेखि बैठानसम्म’ भन्ने पुस्तकाकार कृतिको पाण्डुलिपि तयार गरे । कार्यको सिलसिलामा घरबाट बाहिरबाहिर हिडिरहनु पर्ने भएपछि उनले जागिर छोडे र भोजपुरमा नै फर्केर आफ्नै पुख्र्यौली पेशा व्यापारमा संलग्न भए ।

बाजे धनवीर तामाङ पनि लेखक भएकोले उनको गहिरो छाप मोक्तान भाइमा सानैदेखि परेको थियो । यसैले नेपाली भाषामा छन्दवद्ध कविता लेख्न मन पराउँछन् उनी । उनको मधुपर्क, प्रज्ञा र गोरखापत्र जस्ता राजधानीका ठूला पत्रिकाका साथै विभिन्न साहित्यिक पत्रिकाहरुमा नेपाली भाषाका थुप्रै फूटकर रचनाहरु प्रकाशित छन् ।

तामाङ वाडमयको ‘लास्सो पुरस्कार’बाट सम्मानित मोक्तान भाइको वि.सं. २०४० मा ‘उठानदेखि : तामाङ जाति एक परिचय’ भाग–१, २०५४ मा ‘स्मृति र विस्मृतिका टाउकाहरु’, २०५५ मा ‘मेरा भूतकालीन वकपत्रहरु’.(कविता), २०५७ मा ‘यम्बुला क्याप्सु छे’ (मातृभाषीय खण्डकाव्य) र वि.सं. २०६१ मा ‘संक्षिप्त बुद्ध महिमा’ (धार्मिक खण्ड काब्य भाग-१) कृतिहरु प्रकाशित छन् । त्रिवेणी साहित्य समाज, नेपाल तामाङ बुद्धिष्ट एशोसियसन, बुद्धिष्ट समाज, नेपाल तामाङ घेदुङ, विश्व शान्ति गुम्बा निर्माण समितिमा सङ्लग्न उनी पछिल्लो समय धर्म संस्कृति, भाषा-साहित्य र सामाजिक सेवामा समर्पित छन् ।

मोटामोटा मझौला कद, हँसिला अनि बोलिरहनु पर्ने स्वभाव भएका मोक्तानका श्रीमती तीर्थकुमारी बल, २ छोरा १ छोरी छन् ।

गणेश योन्जन (२००४-२०७७?)

लेखक रबिन्द्र तामाङ बायाँ सँगै दायाँतर्फ गणेश योन्जन

पिता नरबहादुर योन्जन र माता मैरानी मोक्तानको कोखबाट वि.सं. २००४ जेठ ८ गते भोजपुरमा जन्मेका हुन् । उनले विद्घोदय हाइ स्कुलबाट माध्यामिक स्तरको पढाई सकाए ।

विद्यालयमा कक्षा ८ मा पढ्दापढ्दै उनले वि.सं. २०१६ मा तामाङ भाषाको हस्तलिखित पत्रिका ‘म्हेन्दो’ अर्धवार्षिक पत्रिका ४ अङ्क सम्पादन गरे । पत्रिका प्रकाशनको आरम्भ गर्ने क्रममा उनले प्रकाशनको औचित्य प्रकाश पार्ने अवधारणापत्र प्रस्तुत गरेका थिए ।

मातृभाषाको ज्ञान नभए पनि अक्षर राम्रो भएकोले उनले ‘म्हेन्दो’ पत्रिकाको सम्पादक हुने मौका पाएका थिए । जसका कारण ‘म्हेन्दो’ पत्रिकाका सबै अङ्क र प्रतिहरुमा उनका हस्तलेखन रहेका छन् । टिका टिप्पणी आइरहे पनि जसको कुनै पनि वास्ता नगरी चार अङ्कसम्म प्रकाशन गर्न उनी लागि रहे ।

२०१७ सालको राजनैतिक घटना घटे पश्चात तत्कालीन वडा हाकिम छिरि तेन्जी लामाबाट हप्की पनि खानु परेको थियो । यही वर्ष उनले प्रवेशिका परीक्षा दिए । यसपछि उनी उच्च शिक्षा हासिल गर्न काठमाडांै झरे । जसका कारण उनलाई मातृभाषा सिक्ने अवसर भने प्राप्त भएन । तत्पश्चात् ‘म्हेन्दो’ पत्रिकालाई अघि बढाउने उत्तराधिकारी भएन । यो पत्रिका पूर्ण रुपमा बन्द भयो ।

भोजपुरमा नै रहँदादेखि उनी प्रेम, राष्ट्रिय भावना र क्रान्तिको विगुल फुक्ने नेपाली भाषामा कविताहरु लेख्थे । उनकै अनुसार यो क्रम १४ देखि २० वर्षसम्म रह्यो । यस अवधिमा उनका थुप्रै फुटकर गीत र कविताहरु प्रकाशन भएका थिए ।

गीत संगीतमा उनको खुब शोख थियो । गीत गाउने रहर मेटाउन उनले काठमाडौंमा गणेश रसिकलाई भेटे । उनबाट जानकारी पाएपछि एक वर्षसम्म कुरेर भए पनि रेडियो नेपालमा स्वर परीक्षा दिए । उनका केही गीतहरु डिस रेकर्ड भएका थिए । केही समय उनी जनकवि केशरी धर्मराज थापाको जनगीत अभियानमा संलग्न भए । उनका के कति रचना प्रकाशित भए र के कती लोक तथा आधुनिक गीत रेकर्ड भए भन्ने कुरा भने थाह हुन सकेको छैन ।

उनले त्रिचन्द्र कलेजद्वारा सञ्चालित पब्लिक कलेजको रात्री कक्षाबाट स्नातक तहसम्मको पढाइ पुरा गरे । पढ्दा पढ्दैै उनी वि.सं. २०२२ सालदेखि कृषि सामग्री तथा खाद्य संस्थानमा जागीर खान पुगे । पछि कृषि सामग्री तथा खाद्य संस्थान छुट्टिएपछि उनी खाद्य संस्थानतर्फ परे जहाँ उनले सहायकस्तरदेखि अधिकृतस्तरसम्मको पदमा रहेर सेवा गरे । उनले ३० वर्षसम्म जागीरे जीवन व्यतित गरे ।

वि.सं. २०१५-०१६ सालतिर पिता नरबहादुर योन्जनले एउटा घडेरी लिएका थिए । उनी साही घडेरीमा २०३४–३५ सालसम्म सानो कटेरो बनाएर बसे । २०५२ सालमा सरकारी कर्मचारीहरुका सरकारले गोल्डेन ह्याण्ड चेकको अफर ल्याएपछि उनले स्वेच्छिक अवकास रोजे । वि.संं. २०६८ मा पुरानो घर भत्काएर हालको आधुनिक घर निर्माण गरेर बस्न थाले ।

पछि उनी थेरवादी अर्थात् हिनयानी बौद्ध धर्मप्रति आर्कषित भए । बौद्ध विहारबाट १० दिने बौद्ध शिविरबाट विपश्यना ध्यानको अभ्यास गरेपछि उनी बुद्ध विहार, इटहरी, फुलवारी टोलको सचिव भएर बौद्ध धर्म सेवामा समर्पित भए । उनले धरानमा बनेको बौद्ध दाह संस्कार थलो र तामाङ धेदुङको भवन निर्माणमा पनि आर्थिक सहयोग गरेका थिए । एकदमै औपचारिक, कम बोल्ने र गम्भिर स्वभावका योन्जनको केही समय पहिले निधन भएको खबर प्राप्त भएको छ । मझौला कद, हरदम चिटिक्क कपडा लगाउनु पर्ने योन्जनका १ श्रीमती र २ छोरा छन् ।

rabindratamang@gmail.com

(तामाङ इतिहास, संस्कृति र लोकसाहित्यका अनुन्धाता तामाङ रक्षा मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत छन् ।)

सन्दर्भ सामग्री
देवकोटा, ग्रिष्मबहादुर (२०२४) : नेपालको छापाखाना र पत्र-पत्रिकाको इतिहास ।
ढकाल, विप्लव (२०५३) : भोजपुरको साहित्यिक रुपरेखा, काठमाडौं ।
तामाङ, रविन्द्र (२०५३ आश्विन २६) : तामाङ भाषासेवी मोक्तान भाइ, आजको समाचारपत्र, काठ ।
मोक्तान भाइ (२०६१) : मोक्तान भाइ र संक्षिप्त बुद्ध महिमा, भूमिका, संक्षिप्त बुद्ध महिमा, काठमाडौं ।
तामाङ, प्रताप बल (२०६२) : तामाङ प्रतिभा स्व.बुद्धिमान मोक्तान, काठमाडौं ।
तामाङ, अमृत योन्जन (२०६३) : तामाङ पत्रिका म्हेन्दो खोजी र प्राप्ति, तामाङ पहिचानका सन्दर्भहरु, काठमाडौं ।
तामाङ, अमृत योन्जन (२०६९ असार) : नेपाल बाहिरका तामाङ वाङ्मय, काठमाडौं ।
व्यक्ति स्रोत 
मोक्तान भाइ : लेखकले पटकपटक विभिन्न समयमा गरिएको कुराकानी ।
गणेश योन्जन : लेखकले सम्पादकको घरमा मिति २०७६ जेठ १५ गते गरिएको कुराकानी ।

तपाईको प्रतिक्रिया