ऐतिहासिकताले भरिपूर्ण चिसापानी गढी

रिपेश दाहाल संचारकर्मी
वाग्मती

देशमा भएका गढी तथा किल्लामध्ये सबैभन्दा धेरै ऐतिहासिक चिजबिजको संरक्षण भएको स्थान हो, मकवानपुरको चिसापानी गढी । यहाँ पुरातात्त्विक महत्त्वका थुप्रै वस्तु सुरक्षित रहेकाले ऐतिहासिक अध्ययनका हिसाबले यो गढी महत्त्वपूर्ण रहेको इतिहासका जानकारहरू बताउँछन् ।

इतिहासका अध्येता केदार न्यौपानेका अनुसार कुनै बेला निकै नै चल्तीको नाका रहेको चिसापानी गढी दक्षिणी क्षेत्रको सबैभन्दा ठुलो नाका थियो । यहाँ त्यसताका निर्माण गरिएका पाटी तथा पौवाको अध्ययन गर्दा दैनिक हजारौँ नागरिक यहाँबाट बाहिरिने तथा भित्रिने क्रम रहन्थ्यो भन्ने अनुमान उनको छ ।

तत्कालीन समयका बाइसे–चौबीसे राज्यहरूबिच तथा सिक्किम, भुटान, बङ्गाल, कुमाउँ, गढवाल, तिब्बत, चीन तथा अङ्ग्रेजहरूसँग समेत लडाइँ गरेको नेपालको इतिहास साँच्चै नै गर्विलो छ । नेपालले तिब्बत, सिक्किम, भुटानजस्ता देशहरूलाई लडाइँमा हराएर वीरता प्रस्तुत गरेको थियो भने तत्कालीन समयका स्वतन्त्र मुलुकहरू कुमाउँ, गढवाललाई नेपालमा मिलाएको थियो । तिब्बतको गुहारपछि सहयोगका लागि आएको चीन र तिब्बतको अत्याधुनिक हातहतियारसहितको विशाल संयुक्त सेनासँग वीरतापूर्वक लडेको नेपाली सेनाले लडाइँमा हार बेहोरे पनि चिनियाँ पक्षलाई ठुलो क्षति गराउँदै वार्ताका लागि बाध्य पारेको थियो ।

त्यस्तै अङ्ग्रेज तथा बङ्गाली सेनासँग पनि वीरतापूर्वक लडेको नेपाली सेनाले नेपालीको वीरतालाई विश्वव्यापी बनाउन सफल भएको थियो । इतिहासमा भएका ती सबै लडाइँहरूका साक्षी हुन्, हाम्रा गढी तथा किल्लाहरू । विभिन्न कालखण्डमा शत्रुहरूको आक्रमणबाट बच्न तथा सुरक्षित तरिकाले प्रतिरक्षा गर्न निर्माण गरिएका गढी तथा किल्लाहरू देशका अमूल्य निधि हुन् । देशमा परापूर्व कालदेखि हालसम्म कैयौँ गढी तथा किल्लाहरू बने तथा भत्किए पनि, तर देशभर दुई सयभन्दा बढी गढी अझ पनि इतिहास र वीर पुर्खाहरूका वीरताका साक्षी बनेर बसिरहेका छन् ।

थुप्रै ऐतिहासिक प्रमाणका आधारमा इतिहासमा देशकै सबैभन्दा व्यस्त ठाउँ थियो, मकवानपुरको चिसापानी गढी । देशको दक्षिणी क्षेत्रबाट नेपाल खाल्डो प्रवेश गर्ने महत्त्वपूर्ण नाका भएकै कारण यहाँ भन्सार, राहदानी केन्द्र, कारागारलगायत महत्त्वपूर्ण सरकारी अड्डाहरू थिए । देशकै ठूला तोपहरूमध्ये मानिने काली तोप, भैरव मन्दिर, आकासे तोप, विशाल दमाहाजस्ता ऐतिहासिक चिजबिजले भरिपूर्ण छ चिसापानी गढी । पृथ्वीनारायण शाह तथा पछि राणाका पालामा बनेका भवनहरू अझै पनि यस क्षेत्रमा रहेका छन् । अग्रजहरूका अनुसार २०२४ सालसम्म क्षेत्रीय कारागार यहीँ गढी परिसरमै थियो ।

हेटौँडालगायत कतिपय तराईका जिल्लालाई राजधानीसँग जोड्ने मदन भण्डारी मार्गबाट चिसापानी गढी हुँदै सयौँ मोटर आवतजावत गर्ने गरे पनि निकै नै ठुलो ऐतिहासिक महत्त्व बोकेको गढीको संरक्षण तथा संवर्द्धन गरेर पर्यटन प्रवर्द्धन गर्नेतर्फ विगतमा कसैले चासो नदिँदा गढी क्रमशः भग्नावशेषमा परिणत हुँदै गएकामा अब भने यसको संरक्षणमा भीमफेदी गाउँपालिकाले पहल थालेको छ ।

गढी क्षेत्रको बृहत्तर विकासका लागि २८ करोड रुपैयाँको योजना अघि सारेको गाउँपालिकासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत सहकार्य गर्ने भएको छ । हाललाई मन्त्रालय र गाउँपालिकाको सहलगानीमा पाँच करोड रुपैयाँ बराबरको संरक्षण तथा संवर्द्धन योजना सञ्चालन गर्न बोलपत्र आह्वान भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदा लामाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले यसअघि यहाँ पैदल मार्ग निर्माण गरिसकेको छ भने संरक्षणका लागि घेराबारको निर्माण गरेको छ ।
कुनै बेला नेपाल सरकारका तर्फबाट नेपालकै तराई क्षेत्र तथा भारत जाने नेपालीका लागि राहदानी जारी गर्ने एवं भारतबाट नेपाल आएका तीर्थयात्रीको प्रवेशाज्ञा वितरण गर्ने तथा भन्सार एवं राजस्वसमेत सङ्कलन गर्ने स्थान हो, चिसापानीगढी । नेपालमा ३५ वटा मात्रै जिल्ला रहेको बखतमा हालको चितवन र मकवानपुर जिल्लासहितको ‘चिसापानीगढी जिल्ला’ पनि यही चिसापानीगढीका नाममा नामकरण भएको बुढापाकाहरू बताउँछन् । पछि विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले देशलाई चौध अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि चिसापानी गढी जिल्ला चितवन र मकवानपुरमा विभाजन हुन पुग्यो । त्यसपछि भने चिसापानी गढीको चर्चा कम हुन थाल्यो । मकवानपुरको सदरमुकाम पनि भीमफेदीबाट हेटौँडा सरेपछि त चिसापानीगढी इतिहासमा रुचि राख्ने सीमित नेपालीको मात्र चासोको विषय बन्न पुग्यो ।

यस गढीको निर्माण विसं १८०१ भएको बताइन्छ । इतिहाससम्बन्धी लेखिएका केही लेखोटहरुमा उल्लेख भएअनुसार १८०१ सालमा मकवानपुरका सेनराजाको पहलमा नजिकैका महत गाउँका बासिन्दाले गढीको निर्माण गरेका हुन् । लगत्तै नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले यो गढीको पुनर्निर्माण गरेका थिए । इतिहासकारहरूका अनुसार उपत्यका विजय गर्न पृथ्वीनारायणले चिसापानी गढी तथा चन्द्रागिरि गढीको प्रयोग गरेका थिए । गोर्खालीलाई हान्न आएका अङ्ग्रेज फौजलाई पनि यो गढीमा पराजित गरिएको इतिहास छ ।

इतिहासको साक्षीका रूपमा रहेका थुप्रै अमूल्य निधिहरू मकवानपुरमा संरक्षणको पर्खाइमा छन् । मकवानपुरमा मकवानपुरगढी र चिसापानीगढी भग्नावशेषका रूपमा रहेको छ भने पालुङको कोटथुम्कीगढी र चन्द्रागिरिगढीको अस्तित्व विलीन हुने अवस्थामा छ । फापरबारीको झुरझरेमा रहेको भनिएको राईहरुको दरबार लोप भइसकेको छ । फापरबारीमा रहेको तामाङ राजाको दरबार लगभग विलीनको अवस्थामा छ । त्यस्तै हालको बकैया गाउँपालिकाको अम्बास लेकमा विशाल आकारको गढी फेला परेको भए पनि ऐतिहासिकताको अध्ययन भएको छैन । यसअघि अस्बास गढीको चर्चा कहीँकतै भएको पाइँदैन तर उक्त गढी सिन्धुलीको हरिहरपुर गढीभन्दा ठुलो र व्यवस्थित देखिन्छ ।

चिसापानी गढीमा अहिले पनि तोप, गोला यत्रतत्र छ । किल्लाभित्र अहिले पनि काली तोप, आकासे तोपलगायत युद्ध सामग्री छरिएर रहेको छ । जानकारहरूका अनुसार काली तोप नेपाल अङ्ग्रेज युद्धको बेला सन् १८१४ देखि सन् १८१६ को समय अर्थात् विसं १८७१ देखि १८७३ को समयमा देशको सुरक्षाका लागि राखिएको हो । मकवानपुरगढी, सिन्धुलीगढीजस्तै यस क्षेत्र भएर आउने अङ्ग्रेज सेनालाई लखेट्नका लागि यसको निर्माण भएको थियो । नेपाल अङ्ग्रेज युद्धमा पनि यो गढी प्रयोग भएको पाइन्छ । इतिहासकारहरूका अनुसार यस गढीमा हार खाएपछि अङ्ग्रेजहरू सिमभञ्ज्याङको नाका हुँदै उपत्यका छिर्न गएको बताइन्छ । पछि तत्काल सुगौली सन्धिको वातावरण बनेपछि अङ्ग्रेजहरू रोकिएका थिए ।

चिसापानी गढीको काली तोप एकपटक मात्र प्रयोगमा आएको इतिहासका जानकारहरूको भनाइ छ । यो तोप पड्काउँदा यसको आवाजले यस किल्ला वरपर रहेका गर्भवतीको गर्भसमेतमा असर पारेकाले गर्भवतीलाई यसको वरपर जान तत्कालीन समयमा निषेध गरिएको थियो । यो चलन आजसम्म आइपुग्दा पनि कायम छ । यहाँ वटुकभैरवको मन्दिर भएकाले महिलालाई प्रवेश निषेध गरिएको बुढापाकाहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया