तामाङ भाषा सरकाकारी कामकाजी भाषामा सिफारिस हुनु निकै ठुलो उपलब्धि हो: अमृत योन्जन-तामाङ

सैलुङअनलाइन संवाददाता
काठमाडौं

भाषाशास्त्री अमृत योन्जन-तामाङले तामाङ भाषा सरकारी कामकाजी भाषामा सिफारिस हुनुलाई ठुलो उपलब्धि भएको बताएका छन् । भाद्र २१ गते आयोगले सरकारलाई बुझाएको प्रतिवेदन माथि सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

भाषिक अभियन्ता एवं भाषाशास्त्री योन्जनले यस अवसरलाई चरम खुसीको अवसर समेत बताएका छन् । ‘तामाङ भाषाको सन्दर्भमा यो निकै ठुलो उपलब्धि हो’, योन्जन लेख्छन्, ‘चरम खुसीको यस अवसरमा एकजना भाषिक अभियन्ताको हैसियतले म सबै तामाङहरूमा बधाई ज्ञापन गर्दछु ।’

तर भाषाशास्त्री योन्जनले खुसीसँगै भाषा आयोगले तामाङ भाषाबारे पर्याप्त र ययार्थपरक सूचना सङ्कलन गर्न नसकेको र सङकलित सूचनालाई प्रयोजनमूलक ढंगले विष्लेषण गर्न नसकेको प्रतिक्रिया समेत दिएका छन् ।

‘भाषा आयोगले तामाङ भाषाबारे पर्याप्त र ययार्थपरक सूचना सङ्कलन गर्न नसकेको वा सङकलित सूचनालाई प्रयोजनमूलक ढंगले विश्लेषण गर्न नसकेको देखिन्छ’, योन्जन लेख्छन् ।

उनले आयोगले प्रतिवेदन बुझाउँदा आफैंले निर्धारण गरेका भाषा विकासका कतिपय सूचकलाई वेवास्ता गरेको जनाउँदै आयोगलाई यस विषयमा सच्चिन आग्रह समेत गरेका छन् । ‘आयोगले प्रतिवेदन बुझाउँदा भाषा विकासका लागि आवश्यक र आफैंले निर्धारण गरेका कतिपय सूचकलाई वेवास्ता गरेको पनि देखिन्छ’, उनी लेख्छन्, ‘यसबारे भाषा आयोग सच्चिनु पर्दछ र सच्चिन आग्रह गर्दछु ।’

यसै सन्दर्भमा योन्जनले तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा प्रयोगका लागि आयोगले सिफारिस गर्ने अवस्थासम्म ल्याई पुर्याउन भूमिका खेल्ने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

योन्जन अगाडि लेख्छन्, ‘यस अपूर्व उपलब्धिको लागि सबै तामाङहरू जो जस्ले आफूले बोल्ने भाषालाई तामाङ भाषा भनेर राष्ट्रिय जनगणनामा लेखाए, जो जसले तामाङ भाषालाई आफ्नो परिवार र परिवेशमा बोलेर, फलाकेर र गाएर जीवन्त राखे, अनि पुस्तान्तरण गरिरहे, जसले तामाङ भाषामा साहित्य रचना गरेर तामाङ साहित्यको भण्डार भरे, जो जसले लेखन प्रणाली (लेखन शैली, मानकीकरण)को आधार तयार गरेर भाषाको विकासमा सघाए, तामाङ कोश र तामाङ व्याकरण तयार गरे, भाषाको स्तरीकरण गरे, जो जसले माध्यम भाषाको रूपमा तामाङ भाषा विद्यालयहरूमा पठनपाठन गरे, गराए, जो जसले विद्युत र मुद्रण माध्यमबाट तामाङ भाषालाई सञ्चारमा प्रयोग विस्तार गरे, जो जसले तामाङ भाषालाई विविध प्रविधिमा प्रयोग गर्न सघाए, जो जसले तामाङ भाषामा अभिलेख तयार गरे, उहाँहरू सबैप्रति फ्याफुल्ला व्यक्त गर्दछु, आभार प्रकट गर्दछु ।’

भाषा आयोगले भदौ २१ गते तामाङ लगायत ११ भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोगका लागि प्रतिवेदन मार्फत् सिफारिस गरेको छ । जस अनुसार प्रदेश १ मा मैथिली र लिम्बू, प्रदेश २ मा मैथिली, भोजपुरी र बज्जिका, बागमतीमा तामाङ र नेवार, गण्डकीमा मगर, गुरुङ र भोजपुरी, लम्बिनीमा थारु र अवधी, कर्णालीमा मगर र सुदुरपश्चिममा डोट्याली र थारु भाषाहरु रहेका छन् ।

योन्जनले भाषा आयोगको परिभाषा उदृद गर्दै ‘सरकारी कामकाजको भाषा भन्नाले राज्यले कानुनी मान्यता प्रदान गरेको र स्तरगत योजना भएको भाषा सम्झनु पर्ने’ बताउँदै भाषाले सरकारी कामकाजको मान्यता प्राप्त गरेपछि व्यवस्थापिका, न्यायपालिका (अदालती कामकार्यवाही) र कार्यपालिका (प्रशासन, अभिलेखन र सेवा सम्प्रेशण)मा भाषाको प्रयोग विस्तार हुने बताएका छन् ।

भाषाशास्त्री योन्जनले भाषिक मानव अधिकारलाई स्थानीय स्तरसम्म कार्यन्वयन गर्ने काम जटील मात्र नभई झन्झटिलो समेत हुने भन्दै त्यसलाई सफल पार्नका निम्ति सबै तामाङहरुलाई जोस, जाँगर र विवेकको बृद्धि गर्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया