भुजुङमा ‘भदौसभा’ सम्पन्न, सभाले तोके दण्ड जरिवानादेखि बजारभाउसम्म

सैलुङअनलाइन संवाददाता
लमजुङ

पर्यटकीय गाउँ लमजुङको भुजुङ गाउँका स्थानीयले नयाँ कानुन निर्माण गरेका छन् । क्व्होलासोंथर गाउँपालिका वडा नं. ४ भुजुङ गाउँको नीतिनियम तथा ऐन कानुन निर्माण गर्न बर्सेनि भदौसभा हुने गरेको छ । यस वर्ष पनि गाउँलेले भदौ २४, २५, २६ र २७ गते भदौसभा गरेर नयाँ कानुन बनाएका छन् ।

भदौको अन्तिम साता भदौसभा गर्ने गरिएको र सभाबाट नयाँ ऐन कानुन बनाउने गरिएको स्थानीयले बताउँछन् ।

रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरुपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौसभा गर्ने गरिएको बताए । ‘भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र वर्षेनि परिमार्जन गर्दै लाने गरेका छन्’, गुरुङले भने, ‘भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौसभा भन्ने गरिएको हो ।’

उनले भने, ‘वर्षायाममा धान तथा कोदो रोपाइँ सकिएपछि केही फुर्सद हुने र फुर्सदको समयलाई सदुपयोग गर्दै उहिलेदेखि भदौसभा गर्दै आएको छ । भदौसभाले नीति नियमको पालना नगर्नेलाई जरिवानासमेत गर्ने गरेको छ ।’

‘भदौ २४, २५ र २६ गते सबै गाउँले सभामा सहभागि भएका थिए’, स्थानीय नौराज गुरुङले भने, ‘भदौ २७ गते भने समितिका २५ जना मात्र सहभागि थिए ।’

नौराजका अनुसार भदौसभाले गाउँमा कायम रहेको श्रमज्यालादेखि उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको छ । सभाबाट लोकल कुखुराको प्रति शेर २०० रुपैयाँ, बोइलर कुखुरा प्रति शेर १ सय ८० रुपैयाँ, लोकल रक्सी प्रति बोतल एकसय रुपैयाँ, राँगाको मासु प्रति धार्नी छसय रुपैयाँ, भैंसीको मासु प्रति धार्नी पाँच सय ५० रुपैयाँ, खसीको मासु प्रति धार्नी एक हजार १ सय रुपैयाँ, भेडाबाख्रा मासु प्रति धार्नी एक हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै श्रमज्यालाको पनि मूल्य निर्धारण गरेको छ । ज्यामी (दक्ष) लाई प्रति दिन छसय ५० रुपैयाँ, ज्यामी (अर्धदक्ष) लाई प्रति दिन छसय रुपैयाँ ज्यामी (ढुङ्गा माटो बोक्ने) लाई पाँचसय रुपैयाँ तोकिएको छ । गोरु जोत्नेलाई गोरुसहित एक हजार रुपैयाँ, असारे पर्म खाजाुहित चारसय रुपैयाँ, हिउँदे पर्म तीनसय रुपैयाँ, अन्न प्रति पाथी दुईसय रुपैयाँ, पराल प्रति भारी दुईसय रुपिया, अर्गुम गर्दा घ्याब्रे गुरुलाई पगरी पाँच हजार रुपैयाँ, अर्गुम गर्दा पच्यु गुरुलाई पगरी चार हजार रुपैयाँ, पुटपुटे नाचमा गाउँ कोषमा पाँच हजार रुपैयाँ तोकिएको छ । पुटपुटे नाचमा गुरुहरुको १० हजार तोकिएको छ ।

यस्तै, दशैं र तिहारमा एक टोलले अर्काे टोललाई भैंसी उपलब्ध गराउँदा जरिवाना गर्न नपर्ने नियम बनाएको छ ।

वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार भदौसभाले समाजमा चोरीडकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ । उनका अनुसार सभामा पाप नगरेको, वर्षभरि आफ्नो परिवारले अरु कसैमाथि नराम्रो नसोंचेको, अधर्म नगरेको, चोरीडकैती लगायत नराम्रो काम नगरेको भनी खुकुरीको धार र तामाको ताउलो छोएर कसम खाने गरिन्छ । कुनै पनि व्यक्तिले जानी नजानी गल्ती गरेको भए जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया