एनआरएनएका निर्वाचन समिति महाधिवेशनको तयारीमा जुट्दै

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति तयारीमा जुटिरहेका छन् ।

सङ्घले अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाईदेखि नै जुटिरहेको जनाए ।

समितिले आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको जनाएका छन् । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको संयोजक पौडेलले जानकारी दिए । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ, उनले भने ।

सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ-भोटिङ) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरूको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ, संयोजक पौडेलले भने,‘ प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरू (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रस्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने हुन्छ ।’

मतदाताहरूलाई सङ्घको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ । अहिले सोही अनुसार फोटो सङ्कलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट वञ्चित हुने अवस्था आउन सक्छ । यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समितिले अनुरोध गरेका छन् ।

गैर आवासीय नेपालीको अवस्था प्रस्ट देखिनका लागि भिसा सहितको आइडी कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनी सकेपछि पछाडि नवीकरण गरिएका भिसा तथा आइडी कार्ड भए membership@nrna.org मा पठाइ दिनुहुन समेत सूचित गरिन्छ ।

आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

अधिवक्ता पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहेको छ । यस्तै सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (युके), डा. विष्णुमाया परियार (अमेरिका), डा। देवकाजी डङ्गोल (कतार), डा. गणेश गुरुङ (नेपाल) छन् ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरू सहितको उपसमिति बनाएर आवश्यक सरसल्लाह लिँदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ ।

निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा सङ्घको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले सङ्घको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ ।

निर्वाचनका बाँकी आवश्यक प्रक्रियाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको विश्वास दिलाउँदछ ।

महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरूको पालना गर्दै आवश्यक सूचनाहरूका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषद्को इमेल र सूचनाहरू हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ ।

तपाईको प्रतिक्रिया