सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएको छ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएको हो । यसैगरी आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएको छ ।
नव नियुक्त मन्त्री तारा लामा तामाङलाई प्रदेश प्रमुख गङ्गाप्रसाद यादव र राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको शपथ गराए लगत्तै दुवैले मन्त्रालय पुगेर पदभार सम्हालेको छ । तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुनहुन्छ भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।
सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठुलो दल बनेको छ । मन्त्री तामा र बोहोरा दुवै नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध छन् । भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो ।
प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक/एक सांसद छन् ।