दूतावासले मनाए संविधान दिवस, एनआरएनए साउदीलाई सम्मान

नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

नेपाली दूतावास साउदी अरेबियाले सातौँ संविधान दिवस मनाएको छ । दूतावासले शुक्रबार एक कार्यक्रम गरी संविधान दिवस मनाएको हो ।

दूतावासको प्रांगणमा भएको कार्यक्रममा एनआरएनए साउदी, डाक्टरहरू अनिरुद्र पाठक, मुख्तार अन्सारी, स्वास्थ्यकर्मी कृष्ण भुसाल लगायतलाई कोरोना महामारीसँगै विभिन्न सहयोग गरेकोमा सम्मान गरेका थिए । एनआरएनए साउदीले भने अहिले पनि रियाद, दमाम र जेद्दाको सेल्टर संचालनमा सहकार्य गरिरहेका छन् ।

कार्यक्रममा कार्यवाहक राजदूत दिलीपकुमार पौडेलले संविधान दिवसको शुभकामना दिँदै दूतावासमा जनशक्ति अभाव भएको बताए । नेपाल सरकारलाई थप कर्मचारीका लागि बराबर पत्र लेख्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेका कारण थप कर्मचारी नेपालबाट आउन नसकेको कार्यवाहक राजदूत पौडेलको भनाइ थियो ।

दूतावासमा जनशक्ति अभाव रहे पनि साउदी रहुन्जेल नेपाली श्रमिकहरूका लागी आफ्नो टोली लागिरहने कार्यवाहक राजदूत पौडेलले बताए । साउदी भौगोलिक बनावट र नेपाली श्रमिकहरूको संख्याका आधारमा दूतावासलाई सक्रिय बनाउन थप कर्मचारी आवश्यकता भएको कार्यवाहक राजदूत पौडेलको भनाइ थियो ।

कार्यवाहक राजदूत पौडेलका अनुसार साउदी र नेपालबिच कूटनीतिक सम्झौता सन् १९७७ मा भएको र सन् १९७८ बाट कार्यालय स्थापना गरेर सम्बन्ध सुरु गरेका हुन् । दूतावासले एकजना नेपालीले गरेका गल्तीका लागि ४५ पटकसम्म विभिन्न निकायमा पुगेर नेपाल फर्काइएको कार्यबाहक राजदूत पौडेलले बताए । उनका अनुसार गल्ती भने नेपालीकै थिए । विभिन्न कारण पीडित भएर दूतावासको सेल्टरमा रहेकाहरुलाई यहाँको कानुन अनुसार गलतीको माफी दिलाएर नेपाल फर्काउन सफल भएको कार्यबाहक राजदूत पौडेलले जानकारी दिए ।

दूतावास स्थलगत अनुगमनका लागि साउन र भदौमा मात्रै ६० भन्दाबढी कम्पनीमा पुगेको कार्यवाहक राजदूत पौडेलको भनाइ थियो । उनका अनुसार नेपाली श्रमिकहरुको तलब १००० +३०० रियाल लागु गरिएका छन् । त्यस्तै २०७६ साल असोजमा भएको सम्झौता अनुसार साउदीको घर, (मजरह) तरकारी खेतीपातीमा काम गर्नेहरू छुट्टी गएर फर्किन सक्ने बताए । उनका अनुसार छुट्टी गएका फर्कन दूतावाससँग समन्वय गरेर पत्र वा कागजात लानु पर्नेछन् ।

कार्यक्रममा साउदीका पूर्व क्षेत्रका जनसम्पर्क अधिकारी हरि घिमिरेलाई बिदाइ गरेका थिए । दूतावासले घिमिरेलाई लामो समय योगदान दिएको भन्दै दोसल्ला ओढाएर सम्मान पत्रसमेत प्रदान गरेका थिए । दूतावासले नवनियुक्त जनसम्पर्क अधिकारी नारायण पासवानलाई जिम्मेवारी स्वागत तथा बधाई दिएका थिए ।

आदिवासी जनजाति महासंघ साउदीकी सल्लाहकार एवं दिदीबहिनी समूहकी अध्यक्ष तुलसीमाया गुरुङ, जनसम्पर्क समितिका कार्यवाहक सभापति द्वारिकाराज गिरी, एनआरएनएकी केन्द्रीय सदस्य यस्मिन बेगम, एनआरएनए साउदीका अध्यक्ष डम्बर यादव, नेपाली प्रवासी मंचका अध्यक्ष अमर श्रेष्ठ, टेली मनीका साउदी मेनेजर जितेन्द्र थपलिया, अन्तर संस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल, हेल्प मधेसीका अध्यक्ष कमलदेव साह लगायत शुभकामना दिएका थिए ।

हाल साउदी अरबमा नेपालीहरु झन्डै ३ लाख २५ हजार रहेको अनुमान छ । कार्यबाहक राजदूत पौडेल साउदी आएयता नेपालीहरुले विभिन्न सेवाहरु स्थानीयस्तरबाट पाइरहेका छन् । पछिल्लोपटक दूतावासका प्रमुखसमेत  स्थलगत अनुगमनमा आइरहदा काम गर्न थप उर्जा मिलेको यहाँ रहेका नेपालीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया