तालिबान सरकारले छात्रालाई चाँडै विद्यालय फर्काउने

सैलुङअनलाइन संवाददाता
अफगानिस्तान

अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो ।

शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरुले चिन्ता व्यक्त गरेका थिए । मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको थियो ।

सूचनामा हजारौं छात्राको पढाई तथा भविश्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरुलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए । विद्यालय जान नपाउँदा आफूहरुको आम्दानी गुमेकाले आफूहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसूस भइरहेको समेत शिक्षिकाहरुले बताएका छन् । उनीहरुले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक संकटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको गुनासो गरेका छन ।

शिक्षिका तथा छात्रालाई विद्यालय नबोलाइएको बारेमा विश्व समूदायले समेत चासो राखेपछि तालिबानले उनीहरुले चाडै बोलाउने प्रतिवद्धता जनाउन बाध्य भएको हो । संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धी भएको जनाएका छन् । सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो बृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ । त्यसैगरी विद्यालय जाने छात्राहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको युनेस्कोका अधिकारीहरुले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरुको संख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो ।

थप यो पनि

तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

तपाईको प्रतिक्रिया