टिकटक बनाउदा सेतीमा खसेकी युवतीको शव भेटियो

सैलुङअनलाइन संवाददाता
तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मंगलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ ।

टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका-८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् । १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका-७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् । ` शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ´, प्रनाउ तिमिल्सिनाले भने ।

विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडियो खिचेका थिए । भिडियोमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया