नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन सम्पन्न

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले राससलाई जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् ।

काठमाडौंमा १३८ वडामध्ये ६० प्रतिशत वडाको निर्वाचन सर्वसम्मत भए पनि केही वडामा भने वडा सभापति र सचिवलगायतका पदमा निर्वाचन हुन लागेको प्रमुख निर्वाचन अधिकृत आचार्यले बताए । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले गाउँ-नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

तपाईको प्रतिक्रिया