नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले ४ जना केन्द्रीय सदस्य थपेका छन् ।
थपेका केन्द्रीय सदस्यहरु देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई रहेका छन् ।
पार्टी विधानअनुसार केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्थाअनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।
योसँगै नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय बनेको छ ।
यसैगरी, बैठकले जिल्लाका इन्चार्ज र सह-इन्चार्ज तथा विभाग/जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी पनि हेरफेर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार राष्ट्रिय सुरक्षा विभागको इन्चार्जमा भानुभक्त ढकाल र सह-इन्चार्जमा रामकुमार राई नियुक्त भएका छन् ।
कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी र सूदूरपश्चिम सम्पर्क कमिटी इन्चार्जमा वीरमान चौधरी नियुक्त भएका छन् ।
अखिल नेपाल महिला संघको सह-इन्चार्जमा अमृता थापा र सीता पौडेल तथा दलित संघको सह-इन्चार्जमा तिलक परियार थपिएका छन् ।
त्यसैगरी कास्कीको सह-इन्चार्जमा चुडामणि जंगली विश्वकर्मालाई नियुक्त गरिएको छ ।
कार्यकारी अधिकार प्राप्त गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पहिलो पटक सचिवालय बैठक बसेको हो ।