सोनाहाफाटामा थारु सङ्ग्रहालय स्थापना गरिँदै

सैलुङअनलाइन संवाददाता
भजनी

कैलाली जिल्लाको दक्षिणपूर्वमा रहेको भजनी नगरपालिका वडा नं ८ सोनाहाफाटामा थारु सङ्ग्रहालय स्थापना गरिने भएको छ ।
सोनाहाफाटा गाउँको चारैतिर पर्यटकीय गन्तव्य छन् । टीकापुर र भजनी नगरपालिकाको बिचमा पर्ने हुलाकी राजमार्गसँग जोडिएको सो क्षेत्रमा थारु जातिको पहिचानसँग जोडिएका वस्तुहरूलाई प्रदर्शन गर्ने उद्देश्यका साथ थारु सङ्ग्रहालयको स्थापना गरिन लागेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिव जयप्रसाद ढुङ्गानाले जानकारी दिए । ‘एकपछि अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ उनले भने, ‘अब यस क्षेत्रमा सरकारको लगानी हुन आवश्यक छ । सरकारले संरचनाहरूको विकासका लागि काम गर्न सके पर्यटकहरूका लागि महत्त्वपूर्ण गन्तव्य बन्न सक्थ्यो ।’

पर्यटकहरूका लागि महत्त्वपूर्ण रहेको सोही क्षेत्रमा पर्ने बिपी निकुञ्ज, पदमप्रकाश्वेर महादेव मन्दिर, सत्ती कर्णाली सामुदायिक वन, डल्फिन क्षेत्र, त्रिवेणी धार्मिक क्षेत्र, तालतलैयाहरुको अवलोकनका लागि आएका पर्यटकहरूलाई थारुहरूको पहिचानलाई समेत झल्काउने गरी थारु सङ्ग्रहालयको स्थापना गरिने जनाउँदै सोनाफाटा गाउँलाई पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बनाउन थारु सांस्कृतिक सङ्ग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्ने सङ्ग्रहालयकी अध्यक्ष कृष्णा चौधरीले बताइन् । उनका अनुसार सङ्ग्रहालयमा थारूकला संस्कृति, पोसाक, खानपिन, जीवनशैली लोप र आधुनिकतातर्फ परिवर्तन हुँदै गएकाले थारु संस्कृति जगेर्ना गर्न, ऐतिहासिक थारु रीतिरिवाज पहिचानलाई जीवन्त राख्न थारु सङ्ग्रहालयको स्थापना गरिनेछ ।

‘हाम्रा थुप्रै परम्परा र चालचलनहरू नयाँ पुस्ताले बिर्संदै गएको अवस्थामा त्यसलाई जगेर्ना गर्नकै लागि भए पनि थारु सङ्ग्रहालयको स्थापना गरिन लागेको हो ।’ सङ्ग्रहालयका सल्लाहकार संयोजक रम्या डगौराले भने, ‘यसले एकातिर हाम्रो पहिचानलाई जोगाउन सकिन्छ भने अर्कोतिर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके आम्दानीको स्रोत पनि बढ्छ ।’ उनले डल्फिन क्षेत्रलगायत थुप्रै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुसँग जोडिएको कारणले पनि भोलिको दिनमा थारु सङ्ग्रहालय पर्यटकहरूका लागि महत्त्वपूर्ण बन्ने जानकारी दिए ।

सङ्ग्रहालयमा थारु जातिको रहनसहन, सांस्कृतिक झल्किने सामग्री, पोसाक, पुरानो जमानामा थारुको दैनिक जीवनसँग प्रयोग हुने वस्तु, गरगहना जस्ता विस्थापित हुँदै जान लागेका सामग्री तयारी र व्यवस्थापन गर्न प्रत्येक थारु घरघरबाट सामग्री सङ्कलन गरी यसलाई सङ्ग्रहालयका रूपमा व्यवस्थापन गरिने समितिका सचिव फाकुराम चौधरीले जानकारी दिए । ‘हाम्रो कला संस्कृतिहरू दिनदिनै हराउँदै गएको अवस्था छ । पुस्ता परिवर्तनसँगै पुराना कुराहरूको जगेर्ना गर्नेतर्फ अहिलेको पुस्ता सक्रिय देखिएको छैन ।’ उनले भने‚ ‘इतिहासलाई त मेटिन दिनु भएन । भोलिका दिनमा आफ्नो इतिहास खोज्ने समय आएको बेलामा पनि सङ्ग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’

सङ्ग्रहालयको व्यवस्थापनका लागि अहिले समुदायबाट मात्रै पहल सुरु गरिएको जनाउँदै पालिका, प्रदेश , सङ्घीय सरकार र सङ्घसंस्थालाई अनुरोध तथा पहल गर्ने सङ्ग्रहालयका सहसचिव राजकुमार चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया