सुन एकैदिनमा तोलाको एक हजार बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य सोमबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

छापावाला सुनको मूल्यमा प्रतितोला १ हजारले वृद्धि भई प्रतितोला ७३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला १ हजारका दरले वृद्धि भएको छ । आइतबार तेजाबी सुन प्रतितोला रु ७२ हजार २ सयमा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । स्थानीय बजारमा चाँदीको मूल्य  १० रुपैयाँ वृद्धि भई प्रतितोला रु ८६० पुगेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला ८५० रुपैयाँमा खरीद बिक्री भएको थियो ।

साउन महिनामा सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो ।

भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस १ हजार ५ सय ३२.७५ अमेरिकी डलर पुगेको छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुश्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका