पसिनाको निगार

चितवन

इतिति पसिना,
अलिनो हावा र घामले लगे

इतिति पसिना,
भजाएर कर्मको शंखध्वनि
– लिई गए तिर्खालु धर्महरूले

इतिति पसिना
पढाएर आदर्शको आदिम पाठ
– लिई गए विचार, दर्शनहरूले

इतिति पसिना
हिँड्दा हिँड्दै
भोकाएका बाटोहरूले लगे

लिई गए
इतिति-इतिति पसिना
– अग्ला अग्ला दरबारहरूले
– सामन्त बन्जर जमीनहरूले
– साघुरा उकाली-ओरालीहरूले
– गाउँ, बेशी, शहर, सत्ताहरूले

ओहो !
हाम्रा पसिनाहरू
केवल नुनिलो मात्रै कहाँ हुँदो रहेछ र !

हुँदै हुँदै प्रशोधन
पसिनाका हाडखोरहरू
बन्दो रहेछ हजार मिष्टान्न-व्यञ्जन !
र त बन्नै नपाएको रहेछ
पसिनाको आफ्नै-छैटौं महासागर

खेर जान दिन्न अब
खेरा गएका हाम्रा पसिना

गर्छु जम्मा सबै पसिनाहरू
र, बनाउँछु पसिनाकै निगार

पिलाई दिन्छु
अलिकति पसिनाकै निगार
र, गर्न लगाउँछु
भोकलाई भोककै-उदण्ड नृत्य

पिलाई दिन्छु
अलिकति पसिनाको निगार
धर्म, विचार र दर्शनहरूलाई
र, बक्न लगाउँछु
पसिनाको हिसाब-किताब
दूधको दूध , पानीको पानी

हो, अब म
पसिनाको निगार बनाउँछु
मात्तिने गरि पिलाई दिन्छु
– हरेक झुटहरूलाई
– हरेक भ्रमहरूलाई

र, बक्न लगाउँछु कठघरामा
हाम्रो पसिनाको स्वर्णिम-गाथा
दूधको दूध पानीको पानी

ओ शासक !
तिमी पनि चाख्छौ कि अलिकति
हामीले बनाएको पसिनाको निगार ?

भरतपुर-११, चितवन

तपाईको प्रतिक्रिया