नेपालीज् जनजाति एसोसिएसन अफ क्यानडा (एनजेएसी) ले २५ औं विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस २६ तारिख सोमबार मनाएको छ ।
मिसीसागा शहरको मेडोभेल कन्जरभेसन पार्कमा आयोजित कार्यक्रममा ह्योल्मो समाज क्यानडा, क्यानेडियन नेवा गुठी, मगर संघ क्यानडा, शेर्पा किदुग क्यानडा, तामाङ सोसाइटी अफ क्यानडा, तमु धि क्यानडा र किरात कम्युनिटी क्यानडाको तर्फबाट सांस्कृतिक र्याली प्रदर्शन, विभिन्न झाँकीहरु, नाच र परम्परागत भेषभुषामा गीत प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि फस्ट नेसन लिडर केथ म्याकक्रेडीले क्यानेडियन र नेपाली आदिवासीहरु भविष्यमा समान उद्देश्यका लागि सहकार्य गर्दै जानुपर्ने बताए ।
कार्यक्रममा अमेरिकाको मिचिगन युनिभर्सिटी, राजनीतिक विभागका प्रोफेसर डा. महेन्द्र लावतीले आदिवासीहरुप्रति नेपाल सरकारले विभेदपूर्ण व्यवहार गर्दै आइरहेको बताउँदै आदिवासी जनजातिले नयाँ रुपबाट आन्दोलनलाई उठाउनुपर्ने उल्लेख गरे ।
एनआरएनए क्यानडाका सभापति चिरन्जीवी घिमिरेले भविष्यमा एनजेएसी लगायत सम्पूर्ण संस्थाहरुसँग नेपालीको हितका लागि सहकार्य गर्न तत्परता रहेको जानकारी दिए ।
संयोजक रश्मि थापामगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गोबा राई, गिरी बुढाथोकी र ऐश्वर्य राईले गरेका थिए ।