उर्मिला तामाङको मृगौला प्रत्यारोपन हुने

सैलुङअनलाइन संवाददाता
0 Shares
भक्तपुर

दुबै मृगौला फेल उर्मिला तामाङले नयाँ जीवन पाउने भएकी छन् । उनलाई उपचारका लागि २१ लाख ८२ हजार ७८८ रुपैयाँ सहयोग हस्तान्तरण गरेसँगै उनीले नयाँ जीवन पाउने भएकी हुन् ।

‘छोर्वाला काई’ रेडियो कार्यक्रमको ११ औं प्रयास ‘उर्मिला तामाङ बचाउ अभियान’बाट तामाङको सहयोगार्थ विभिन्न कार्यक्रम आयोजना गरी संकलित रकम आज भदौ १० गते कार्यक्रम बीच सूर्यविनायकमा हस्तान्तरण गरिएको हो ।

आर्थिक रुपले विपन्न रामेछापको दोरम्बा गाउँपालिका- ७ निवासी ३५ वर्षीया तामाङलाई अभियानले पत्रकार सम्मेलन गरी सहयोग हस्तान्तरण गरेको हो ।

संकलित रकम प्रमुख अतिथि दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिं लामालगायत अतिथिहरुले बिरामीलाई हस्तान्तरण गरेका थिए ।

चिकित्सकले तामाङको दुई वर्षअघि नै दुबै मृगौला फेल भएको बताएका थिए ।

तामाङको सहयोगार्थ ‘छार्वाला काई’ले बृहत सांस्कृतिक कार्यक्रम, घुम्ति कविता वाचन र देश विदेशमा रहेका विभिन्न सहयोगीहरुबाट रमक संकलन गरिएको अभियानका संयोजक सुदिन दोङले जानकारी दिए ।

तामाङलाई सहयोग रकम हस्तान्तरण गर्दै विशेष अतिथि तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले तामाङको उपचारमा थप रकम लाग्ने भएमा आफू सहयोग गर्न तयार रहेको बताएका थिए ।

तामाङलाई आर्थिक सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियन्ता दोङले मानवीय सहयोगका अभियानहरु आगामी दिनमा पनि निरन्तर रहने जानकारी दिए ।

मृगौला पीडित तामाङको भक्तपुर दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको र सोही अस्पतालमा प्रत्यारोपणको प्रक्रिया पनि अघि बढाइएको अभियन्ता दोङले जानकारी दिए । तीन महिनाभित्र तामाङको मृगौला प्रत्योरोपन हुने भएको छ । तामाङलाई उनकै श्रीमानले मृगौला दिनेछ ।

पैसाकै कारण कोही पनि मर्नु नपरोस् भन्दै आफूहरुले तामाङको उपचारमा लाग्ने सम्पूर्ण रकम संकलन गरी सहयोग गरेको उर्मिला तामाङ बचाउ अभियानका सक्रिय अभियन्ता विरेन्द्र विक्रम लामाले जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल, समाजसेवी आसमान वाइवा, विनायक दोङ, ऋतुराज पाख्रिन, गीतकार कुमार स्याङवालगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया