प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युमन कार्कीले गैरकानुनी काम गर्ने कसैलाई दबाब-प्रभावमा नछोड्ने चेतावनी दिएका छन् । कार्कीले आफ्नो कार्यकालको एक महिनाको प्रगति सार्वजनिक गर्दै मंगलबार प्रहरी आचरणमा नबसे सहन नसक्ने बताए।
‘पुलिसले कुनै अपराधी र तस्करसँग साँठगाँठ गरेको सहदिनँ, प्रहरी आफैं ठीक हुनुपर्छ,’ कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गर्दै भने, ‘अपराधी र तस्करसँग मिल्ने प्रहरी जागिरमा बसिरहन उचित हुँदैन, म कारबाही गरेर त्यस्ता प्रहरी हटाउँछु।’
प्रहरी आन्तरिक शुद्धीकरणलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै कार्कीले तस्करी, हतियार ओसारपसार, लागुऔषध कारोबारलगायत कुनै पनि सीमा अपराध नियन्त्रणमा प्रहरी आक्रामक भएर लाग्ने बताए।
‘तस्करी नियन्त्रणमा म कसैसँग कुनै पनि किसिमको कुरा पनि गर्न सक्दिनँ र मेरो मातहतको प्रहरी तस्करसँग मिल्यो भने जागिरमा बसिरहन दिँदिनँ पनि,’ कार्कीले भने। सीमानामा मरिच, गाइगोरु तस्करी, हतियार कारोबार तथा लागुऔषध नियन्त्रणमा पर्याप्त जनशक्ति खटाएको भन्दै डिआइजी कार्कीले प्रहरीले गैरकानुनी काम गर्ने कसैलाई पनि कुनै पनि दबाबमा नछोड्ने दृढता व्यक्त गरे।
सम्मेलनमा कार्कीले आर्थिक वर्ष २०७६र०७७ को साउन महिनाको प्रगति विवरण सार्वजनिक गरे। साउन महिनामा मात्र २७ प्रहरीलाई कारबाही गरिएको उनले बताए।
राम्रो काम गर्ने ३९ जनालाई पुरस्कृत गरिएको जानकारी पनि उनले दिएका छन्। कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी नायब उपरिक्षकसम्म रहेको कार्कीले बताए।
एक महिनामा ६६ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको उनले जनाए। भन्सार छली निकासीरपैठारीमा करिब २ करोड २२ लाख मूल्य बराबरको सामग्री जफत गरी २३ जनालाई पक्राउ गरिएको उनले बताए। ‘तस्करी नियन्त्रण गरी राजस्व संकलनमा सरकारलाई सहयोग गर्छौं’ कार्कीले भने।
साउन महिनामा मात्र प्रदेशका आठ जिल्लामा २७८.७२१ किलो गाँजा, २ सय ५० ग्राम अफिम र अन्य लागुऔषध २ हजार ६५९ एम्पुल बरामद भएको उनले बताए।
लागुऔषधका मुद्दामा एक सय चार जनालाई पक्राउ गरी ६० वटा मुद्दा दर्ता गरेको कार्कीले बताए।
अवैध मदिरा बनाउने ४ जनालाई पक्राउ गरी २३ वटा भट्टी, ७ हजार १५९ लिटर कच्चा पदार्थ र ३३ हजार ७ सय ८५ लिटर मदिरा नष्ट गरिएको उनले जानकारी दिए।
प्रदेश २ मा साउन महिनामा ट्राफिक कारबाहीबाट ६९ लाख ५८ हजार ५ सय रुपैयाँ संकलन भएको छ।
सिरहा, रौतहट र पर्सामा कटुवा पेस्तोल, भरुवा बन्दुक लगायतका ४ थान हतियार र ६ जनालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दामा कारबाही थालिएको उनले बताए।
डिआइजी कार्कीले प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन्, निकासी तथा पैठारीमा पनि प्रहरीले हात हालेको बताए । कार्कीले भने, ‘प्राकृतिक स्रोतसाधन, खोलानालामा अवैध उत्खनन् र ओसारपसार हुन प्रहरीले दिँदैन ।’