आर्थिक वर्ष २०७५/०७६मा सिरहामा ८८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एव म डिएसपी अपिल बोहरनले झुण्डिएर आत्महत्या गर्ने ५१ जना रहेको बताए । विष सेवन गरेर ३७ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७४/०७५मा ४० जनाले झुण्डिएर आत्महत्या गर्दा २२ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीसँग तथ्याङ्क छ । हरेक वर्ष आत्महत्याको दर बढिरहेको प्रहरीले जनाएको छ । आव २०७३/०७४मा भने ३४ जनाले झुण्डिएर र १३ जनाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको राजधानी दैनिकमा खबर छ ।
तीन वर्षको तथ्याङ्क केलाउँदा हरेक वर्ष आत्महत्या गर्ने दर बढेको डिएसपी बोहरनले बताए । ‘आत्महत्या विभिन्न कारणले भइरहेको छ, कतिपय मानसिक समस्याका कारणले मरिरहेका छन् भने कतिपय साथीभाइ, परिवार, लागूऔषध, बेरोजगार, सम्बन्धविच्छेद कारण भइरहेका छन्,’ उनले भने ।
आत्महत्याका पूर्व लक्षण
प्रायः एकान्तमा बसी टोलाउने, सामान्य कुराकानीमा पनि रिसाउने, झर्कने, आवेशमा आउने जस्ता अस्वाभाविक व्यवहारहरू देखाउनेलगायत छन् ।
त्यस्तै लागूऔषध, मादक पदार्थ सेवन, समयमा खानपिन नगर्ने, मानसिक सन्तुलन ठिक नभएजस्तो देखिने चाँडै भावुक हुने, उत्तेजित हुनेलगायतका समस्याहरू देखिन थाल्ने मनोविश्लेषकहरू बताउँछन् ।
आत्महत्या नियन्त्रणका उपाय
परिवार तथा समाजमा माथिका लक्षण देखिन थालेमा समयमै पहिचान गरी मनोचिकित्सकलाई देखाउन सके सम्भावित घटना रोक्न सकिन्छ ।