खाडीमा भन्दा बारीमा मनग्य कमाइ

ध्रवसागर शर्मा सञ्चारकर्मी
काठमाडौँ
तस्विर : फाइल

‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन ’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी बिताउने लालसामा वैदेशिक रोजगारीका लागि विदेश गएर सयौँ हन्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन ।
अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दश नङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूल खेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणा बढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन् ।
त्यस्ता धेरै युवामध्येका तीनजना प्रतिनिधि पात्र छन् म्याग्दीको मङ्गला गाउँपालिकाका जीवन पौडेल, बेनी नगरपालिका–२ ज्यामरुककोटका हरिलाल घिमिरे र बेनी नगरपालिका–६ अर्थुङ्गेका नरेश जिसी । जीवनको उर्बर समय मुगलानमा पसिना बगाउँदै बिताएका यी तीनै जना युवाको पहिले र अहिलेको अवस्था करिब करिब मिल्दोजुल्दो छ । साउदी अरब, कतार र युएईमा एक दशक भन्दा बढी परिश्रम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका यी तीनजना युवाको जीवनको उत्तरार्द्धमा बल्ल हरियाली छाउन थालेको छ ।
मङ्गलाका ४७ वर्षीय पौडेल, ज्यामरुक कोटका ५३ वर्षीय घिमिरे र अर्थुङ्गेका ४८ वर्षीय जिसीले जीवनको युवा अवस्था क्रमशः साउदी अरब, कतार र युएईको चर्को घाममा पसिना बगाउँदैमा बिताए । खाडी मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि उहाँहरूको जिन्दगीमा खुसी फर्किएको छ ।
अर्का किसान घिमिरे पनि तरकारी खेतीबाट सन्तुष्ट हुनुहुन्छ । ‘विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्केर आएँ, अनि तरकारी खेती सुरु गरेँ’, उनले भने ‘कतिले मलाई विदेश छोडर बारीको माटोमा पैसा फलाउने रे भनेर  गिज्याए । तर, म आफ्नो काममा लागिरहेँ ।’ घिमिरेले यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दो रहेछ भने ।
त्यसै गरी अर्थुङ्गेका जिसीले पनि विदेशको बसाइँलाई बिट मारेर गाउँमै कृषि कर्ममा रमाउँदै राम्रो कमाइ गरिरहेको छन् । उनको तीन रोपनी बारी भरी लटरम्म तरकारी फलिरहेको छ । बजारमा स्थानीय तरकारीको माग रहेकाले बिक्रीको कुनै समस्या छैन । तरकारी बेचेर मासिक ३० हजारभन्दा बढी आम्दानी हुने गरेको उनले बताए ।
अहिले रोजगार पाउन नसकेको भन्दै धेरै युवा बिदेसिने गरेका छन् । तर, म्याग्दीमा भने विदेशबाट फर्केर आएका युवाले तरकारी, फलफूल खेती र पशुपालन गरेर विदेशको भन्दा बढी कमाइ गरिरहेका छन् । स्थानीय तह र सम्बन्धित सरकारी निकाय तथा गैरसरकारी सङ्घ संस्थाले पनि व्यावसायिक किसानलाई प्रोत्साहन गर्ने, कृषि औजारदेखि मल बीउसम्म सहयोग गर्ने र आर्थिक अनुदान समेत उपलब्ध गराउने गरेकाले धेरै युवाको कृषि पेसातर्फ आकर्षण बढ्दै जान थालेको पाइएको छ ।
युवालाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि कृषि औजार र मल बीउ खरिदमा अनुदान, सिँचाइको प्रबन्ध, ठुलो क्षेत्रफल र ठुलै समूहमा खेती किसानी गर्न प्रोत्साहन गर्नुपर्ने यस क्षेत्रमा लागेका युवा बताउँछन् । जिसीले भने, ‘हामी पाँच लिटर दूध उत्पादन गरेर बिक्री हुँदैन, के गाई पालन गर्नु भन्छौँ । एक डोको सिमी फलाएर बिक्री नै हुँदैन, किन सब्जी खेती गर्नु भनेर क्यारेमबोर्ड खेलेर बस्छौँ । त्यसो होइन । हामीले हरेक उत्पादन ठुलो मात्रामा गर्नुपर्छ ।’
उनका अनुसार कृषिलाई परम्परागत होइन, आधुनिक र प्रविधिकरण गरेर थोरै श्रमबाट धेरै उत्पादन दिन सक्नुपर्छ, जसले गर्दा लागत कम हुन्छ । यसका साथै यसले ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढाउनेछ । सबै युवा उद्यममा लागेपछि गाउँमा दिगो आर्थिक गतिविधि हुनेछ ।

तपाईको प्रतिक्रिया