प्रेमको एक पदयात्रा – तिमिसम्म

भूपाल राई कवि/गीतकार
कविता

वर्षौं अघि तिमी छुटेको निर्मम पलदेखि
वर्षौं पछि तिमिलाई फेरि भेटेको पलकसम्म
म कहाँ कहाँ भत्किएँ ?
कति पटक धस्किएँ ?
मैले त्यसको हिसाब कसैलाई मागेको छैन
बस्, तिम्रो प्रेमको श्रीपेच पहिरिएर
म यतिखेर राजा भएको छु

त्यस्तो राजा
जसले तिमिमाथि कहिल्यै एकतर्फी शासन चलाउने छैन
जसले राज्यको अहंले किन्चित टेक्ने छैन
बरु एक एक बुँद आँसुको गजुर चुल्याएर
उपहारमा गीतको दरबार दिनेछु
र, तिमिलाई रानी बनाउँनेछु ।

मेरी रारा….नी !
कृपया मलाई निस्लोट निस्लोट थाक्न देऊ
बेहोस बेहोस बहुलाउन देऊ
म मेरो अन्तिम प्रेमको पदयात्रामा
धेरै परसम्म हिड्न चाहान्छु
धेरै परसम्म पुग्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका