काठमाडौं-टिमुरे-रतनकोट-जुगे बस संचालन

सैलुङअनलाइन संवाददाता
सुनकोसी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको टिमुरे(रतनकोट) जुगे सार्वजनिक बस संचालनमा आएको छ । जिल्लाको सुनकोसी गाउँपालिकामा पर्ने जुगेसम्म असोज २१ गतेबाट बस संचालनमा ल्याएको हो ।

अरनिको यातायात समितिले संचालनमा ल्याएको बस सेवालाई पूर्वमन्त्री एवं नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गरेको थियो । बस काठमाडौँ कोटेश्वरबाट खाडीचौर(सानोपाखर १२ किलो हुँदै टिमुरे, रतनकोट, जुगे पुग्नेछन् ।

काठमाडौँबाट दिउँसो १२ः १५ मा छुट्ने बस जुगेबाट भने बिहान ७ बजे छुट्ने लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य प्रमोद लामाले बताए । उनका अनुसार काठमाडौँबाट १२ किलोसम्म ३०० रुपैयाँ १२ किलोबाट अन्तर्पु २० रुपैयाँ, टिमुरे ४० रुपैयाँ, रतनकोट ६० रुपैयाँ र जुगेसम्म ८० रुपैयाँ गरि काठमाडौँबाट जुगेसम्म कुल ३८० रुपैयाँ लाग्नेछ ।

पूर्वमन्त्री बस्नेको पहलमा उक्त सडक निर्माणका लागि ३० करोड ७४ लाख रुपैयाँ विनियोजित भएको स्थानीयहरूको भनाइ छ । सुनकोसी गापभित्र पर्ने सडक झन्डै १२ किलोमिटर रहेका छन् । बस दसैंतिहार लक्षित गरेर संचालनमा ल्याएको अनुमान गरे पनि बसलाई निरन्तरता दिने बताएको छ ।

कार्यक्रममा पूर्वमन्त्री बस्नेतले सडक निर्माण कार्यमा महत्त्वपूर्ण भूमिका खेलेका सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरे । बस संचालनबाट सर्वसाधारणलाई सुविधा पुगेकाले आफ्नो खुसी सीमा नरहेको पूर्वमन्त्री बस्नेतले बताए । उक्त सडकका लागि आफू सांसद हुँदा नै बजेट विनियोजन गरेको उनको भनाइ थियो ।

त्यसै गरी बस उद्घाटन गर्न पुगेका नेता बस्नेतले जनप्रतिनिधि लगायत स्थानीयहरूसँग दसैँको शुभकामना आदानप्रदान समेत गरे ।

कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसीले दसै शुभकामनाका क्रममा सुनकोसीको विकासमा पूर्वमन्त्री बस्नेतको पहल र निर्देशनमा भएको बताए । सुनकोसीको सबै वडाहरूमा यातायातको पहुँच पुर्‍याउन कुनै कसर बाँकी नराख्ने पालिका अध्यक्ष जिसीले बताए । त्यस्तै सुनकोसी ६ का अध्यक्ष रामकुमार थापाले दसैँको शुभकामना दिँदै बस सधैँका लागि संचालन गर्न सबैको जिम्मेवारी भएको बताए ।

तपाईको प्रतिक्रिया