एनआरएनए साउदीको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

एनआरएनए साउदी अरेबियाले दमाम र अल-कासिममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दमाममा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा १ सय १५ जना नेपालीहरुले परिक्षण गरेको एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार उनीहरूले फैसालियास्थित अल असेम रेष्टहाउस फर फेस्टिभवलमा संचालित शिविरमा स्वास्थ्य परिक्षण गरेको हो । उक्त नि:शुल्क शिविर राहदानी लिन आएका नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर संचालन गरेको अध्यक्ष यादवको भनाइ थियो ।

नि:शुल्क शिविर संचालनका लागि दिदिबहिनी समूह साउदीकी अध्यक्ष एवं अल-बदर अस्पतालमा कार्यरत तुलसी गुरुङले बिशेष भूमिका खेलेकी थिइन् । गुरुङले आफू कार्यरत अस्पतालले नेपालीहरुका लागि बिशेष छुट दिने तयारी गरेको बताइन् । छुटका लागि उपचार गर्न अस्पताल आउदा आफूलाई भेट्नु पर्ने समेत गुरुङले जानकारी दिइन् ।

स्वास्थ्य शिविर संचालनका लागि एनआरएनए केन्द्रिय उपाध्यक्षकी उम्मेद्वार यास्मि बेगम, मध्यपूर्व संयोजकका उम्मेद्वार राजेन्द्र अर्याल, केन्द्रिय सदस्य तेजबहादुर थापा, साउदी संरक्षक ओम घले, आदिवासी जनजाती महासंघ साउदीका अध्यक्ष खेम गुरुङ लगायतले सहयोग गरेका थिए ।

अल-कासिममा १४६ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण

त्यसैगरी अल कासिममा समेत एनआरएनए साउदीले नि:शुल्क स्वास्थ्य परिक्षण गरेको छ । अल-कासिमको बुरैदास्थित अलसिफा अस्पतालमा भएको शिविरमा १४६ जना नेपालीहरुले नि:शुल्क स्वास्थ्य परिक्षण गरेको एनआरएनए साउदीका उपाध्यक्ष भक्त वीर राईले जानकारी दिए ।

एनआरएनएका उपाध्यक्ष राईका अनुसार बदैया, अनैजा र अलरास लगायतबाट स्वास्थ्य परिक्षण गर्न आएका थिए । उपस्थितहरुले स्वास्थ्य परिक्षण पश्चात् एनआरएनएलाई धन्यवाद दिदै आगामी दिनमा समेत श्रमिकमैत्री कार्यक्रमहरु गर्न सुझाव दिएको उपाध्यक्ष राईको भनाइ छ ।

थप यो पनि

साउदीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

तपाईको प्रतिक्रिया