नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौँ

नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बिचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए ।
उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उनले यो सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए ।
 साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्नु सङ्क्रमण घट्नुको अर्को कारण भएको उनले बताए ।
शनिवार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र सङ्क्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय सङ्क्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् ।
नेपालमा सङ्क्रमण दर १८.७ प्रतिशत र सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्ण मात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।
यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्ण मात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।
यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ बर्समाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् भने सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ जना सघन उपचार कक्ष ९आइसियु०, ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेसन, एक हजार १७२ जना संस्थागत आइसोलेसन र २३६ जना क्वारेनटिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया