‘राधा पियारी’ मा सुधीर र गरिमा

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सङ्गीतकारका रूपमा परिचित वसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजित प्रेस मिटमा प्रदर्शन गरिएको हो । सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष,वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा सङ्गीतकार वसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाएका थिए ।

अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर छन् । कार्यक्रममा सुधीरले आफ्ना विगतका भिडियो झैँ ‘राधा पियारी’ पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरे । त्यसै गरी, गरिमाले गीतको शब्द, स्वर, सङ्गीत मात्रै नभई भिडियो पनि उत्कृष्ट बनेकाले दर्शकको प्रतिक्रिया लिन आफू निकै आतुर रहेको बताइन् । ‘यो गीतको हिस्सा बन्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ गरिमाले भनिन्, ‘मैले आफूले सक्दो मिहिनेत गरेको छु । दर्शकले मन पराउनेमा आशावादी छु ।’ यसअघि पनि थुप्रै भिडियोमा गरिमासँग काम गरेकाले आफूलाई गरिमा सहज लाग्ने सुधीरले बताए ।

निर्देशक काजी र श्यामले आफूहरूले भिडियोमा ‘कमेडी फ्लेभर’ प्रस्तुत गर्न खोजेको बताउँदै भने, ‘गीतको भाव अनुसार दर्शकलाई अधिक मनोरञ्जन दिने कोसिस गरेका छौ । सोहीअनुरूप नै हास्य रस मिसाएका हौ ।’

गायिका मेलिनाले आफूले वसन्त सापकोटाको सङ्गीतमा थुप्रै गीतहरू गाएको र सफलसमेत भएको स्मरण गर्दै उनीसँग यो गीतमा पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले वसन्तको सङ्गीत तथा गायन कलाको प्रशंसा गरे । उनले वसन्तका हरेक गीतका आफ्नै विशेषता रहेको बताउँदै अझ प्रगतिको शुभकामना व्यक्त गरे । त्यसै गरी, कार्यक्रमका अर्का अतिथि निर्देशक कृष्णमुरारी ढुङ्गेलले गीतको मर्मअनुरूपको भिडियो बनेकोमा निर्देशक तथा सुधीर र गरिमाको तारिफ गरे । उनले वसन्त र मेलिनाको गायन कलाको पनि प्रशंसा गरे । अर्का अतिथि सङ्गीतकार चेतन सापकोटाले गीत र भिडियो आफूलाई निकै मन परेको बताए । उनले वसन्तको सङ्गीत मात्र होइन, गायन पनि उत्तिकै अब्बल रहेको र उनले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

सञ्चारकर्मी लक्ष्मण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा ‘राधा पियारी’ मा संलग्न कलाकर्मीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युब च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ । उत्सव दाहालले खिचेको भिडियोको कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियोको प्रस्तुतकर्ता भिमा लोहार छिन् ।

तपाईको प्रतिक्रिया