पाँचथरमा ‘म अघि बढ्छु’ कार्यक्रम सुरु भएको छ । प्रदेश १ सरकारले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई सक्षम र सचेत नागरिकको रुपमा स्थापित गराउने लक्ष्य अनुरुप सुरुवात गरिएको यो कार्यक्रम पाँचथरमा पनि सुरु भएको हो ।
कार्यक्रमले समाजमा हुने विकृति र विसंगतीलाई निर्मुल पार्ने, आपतविपत व्यवस्थापनमा युवा जमातको निर्माणमा अभिप्रेरित गर्ने उद्देश्य लिएको छ । बुधबार जिल्लाका ९४ वटा सामुदायिक र संस्थागत माविका सामाजिक विषय शिक्षकहरुलाई शिक्षक नायकको रुपमा छनौट गरी अभिमुखिकरण सँगै यो कार्यक्रमको सुरुवात गरिएको कार्यक्रमका जिल्ला संयोजक श्री माङ्युङले जानकारी दिए ।
प्रदेश १ सरकारको प्राथमिकतामा परेको यो कार्यक्रमले १३ वर्षदेखि १९ वर्ष उमेर समूहका युवायुवतीलाई सकारात्मक दिशातर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको छ । जिल्लाका ८२ वटा सामुदायिक र ११ वटा संस्थागत माध्यमिक विद्यालयका शिक्षक नायकहरुलाई कार्यक्रम सन्चालन के कसरी गर्ने ? भन्ने विषयमा जानकारी गराइएको थियो । अब जिल्लाका प्रत्येक शिक्षक नायकको नेतृत्वमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरिने भएको छ । ती क्लवहरु मार्फत म अघि बढ्छु कार्यक्रमको उद्देश्य अनुरुप काम अघि बढाइने बताइएको छ ।
प्रदेश १ को १४ वटै जिल्लाका करिब २ हजार विद्यालयका २ लाख विद्यार्थीहरुलाई समावेश गराईने लक्ष्य यो कार्यक्रमको छ । यो कार्यक्रमले कक्षा ९ देखि १२ मा अध्ययनरत करिब २ लाख विद्यार्थीहरुलाई समाजप्रति जिम्मेवार, सिर्जनशीलता, चरित्रवान, सभ्य नागरिक बनाउने समतामूलक समाजको अपेक्षा लिएको कार्यक्रमका प्रदेश संयोजक नवराज राईले जानकारी दिए ।
यो कार्यक्रम अन्तर्गत सञ्चालन हुने गतिविधिहरुमा लागुऔषध दुव्र्यसनीको विषयमा सचेतनामूलक तालिम सन्चालन गर्ने, किशोरकिशोरीहरुलाई सार्वजनिक क्षेत्रहरु, मठ मन्दिर, देवालय, प्राचीन क्षेत्रहरुको सरसफाई, ट्राफिक सचेतना जस्ता कार्यक्रमहरुमा सहभागी गराइने छ । साथै विपतका बेला अपनाउनुपर्ने पूर्वतयारी एवंम विपत पछिको अवस्थाका विषयमा सैद्धान्तिक एवं व्यवहारिक ज्ञान समेत प्रदान गरिने संयोजक राईले बताए ।
त्यसैगरी समाजमा हुने जुनसुकै परीस्थितिमा जिम्मेवारीपूर्वक सेवामा जुट्ने सहयोगी भावनाको विकास गराउने सामाजिक क्रियाकलाप सञ्चालन गर्ने, चेतनामूलक कार्यक्रम उत्पादन गरी सञ्चार माध्यम मार्फत प्रचारप्रसार गरिने योजना रहेको छ ।
यो कार्यक्रम अन्तर्गत संरचनाको निर्माण गर्दा प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजनमा निर्देशक समिति, जिल्लामा सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख सहितको सल्लाहकार समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरी अनुगमन समिति गठन हुने व्यवस्था रहेको छ ।
त्यसैगरि प्रत्येक स्थानीय तहमा स्थानीय तहका प्रमुखको संयोजनमा १८ सदस्यीय समन्वय समिति, प्रत्येक विद्यालयमा प्रधानध्यापकको संयोजनमा कार्यक्रम कार्यन्वयन समिति र कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीहरुमध्येबाट १५ सदस्य रहने सगरमाथा टिन्स क्लब गठन गरिने व्यवस्था छ ।
यो कार्यक्रमले विशेषगरी विद्यार्थीहरुमा नैतिक र जिम्मेवार व्यक्तित्वको विकासमा टेवा पुग्ने र सकारात्मक समाजको निर्माण हुने अपेक्षा गरिन्छ ।