महालेखा नियन्त्रण कार्यालय (मलेनिका) काठमाडौंको टोलीले रसुवामा आर्थिक वर्ष ०७५÷०७६ को आम्दानी र खर्चको अन्तिम लेखापरीक्षण गर्न सुरू गरेको छ ।
मलेनिकाले सदरमुकाम धुन्चेमा कार्यालय स्थापना गरेर रसुवाको गत आर्थिक वर्षको अन्तिम लेखापरिक्षण सुरू गरेको हो । यसपटक जिल्लाका पाँच वटै गाउँपालिका, प्रदेश र संघ अन्तर्गत रहेका सरकारी कार्यालयमै पुगी उनीहरुले परिक्षण सुरू गरेका हुन् ।
टोलि नम्बर १ मा राजेन्द्र ओझा र २ मा प्रेम मुङमेनको समयोजत्वमा आठजना खटिएका छन् ।
गत वर्ष गाउँपालिकाहरुको स्रेस्ता सदरमुकाममै ल्याएर लेखापरिक्षण गरिएको थियो । गाउँपालिकाबाट स्रेस्ता बोकाएर ल्याउँदा झन्झट भएको र कागजात तथा फिल्ड देखाउन नपाउँदा वेरूजु बढी देखिएको थियो । टोली नम्बर १ का संयोजक एवम निर्देशक राजेन्द्र ओझाले भने, ‘यसपटक सम्वन्धित गाउँपालिका मै पुगेर लेखापरिक्षण गरेको हो । लेखापरीक्षणका लागि संविधानले पाँच वटा आधार दिएको छ ।’
नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारी र औचित्यलाई आधार मानेर परिक्षण गरिनेछ । यसका लागि जिल्लामा दुइवटा टोलि खटिएको छ । परिक्षणको काम आगामी असोजको पहिलो हप्ताभित्र सकिने उनले जानकारि दिए ।
स्रेस्ता राखेको हिसावले रसुवा मध्यमस्तरको जोखिममा पर्छ । अहिले रसुवा सहित २२ जिल्लामा ४२ वटा टोली परिचालन भएका छन् ।