राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्ति पीठको दर्शन र पूजा अर्चना

सैलुङअनलाइन संवाददाता
काठमाडाैं
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दशैँको महाष्टमीका अवसरमा विभिन्न शक्तिपीठको दर्शनका क्रममा बुधबार काठमाडौँको नक्साल भगवती मन्दिरमा पूजारीबाट टीका र प्रसाद लिँदै तस्वीर : प्रकाश सिलवाल, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी बडादसैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्ति पीठमा दर्शन तथा पूजा अर्चना गरेकी छन् । यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पुजारी र सर्वसाधारणलाई दसैँको शुभकामना दिनाका साथै उनीहरूका सुझाव ग्रहण गरिएको छ । महाअष्टमी पर्व विशेष रूपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रूपमा लिइन्छ ।

राष्ट्रपति भण्डारीले अपराह्न ४ः३० बजे नक्सालस्थित नक्साल भगवती मन्दिरमा पुगेर काठमाडौँस्थित देवी मन्दिरको दर्शनारम्भ गरिएको थियो । सो अवसरमा मन्दिरमा उपस्थित पुजारी, उनीहरुका परिवार र सर्वसाधारणलाई राष्ट्रपति भण्डारीले विजयादशमी २०७८ का अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरिन् ।

उक्त मन्दिरका पुजारी खगेन्द्र निरौलाले राष्ट्रपतिलाई नवदुर्गाको प्रसाद र टीका लगाइदिँदै मुलुकको आर्थिक विकासका लागि देशका खनिज पदार्थको उत्खनन गर्न तथा मुलुकभित्रको अपार स्रोत साधनको सही सदुपयोग गर्न सुझाव दिए ।

राष्ट्रपति भण्डारीलाई मन्दिरका मूल पुजारी निलिक महर्जनले मन्दिर परिसरस्थित ऐतिहासिक ढुंगेधाराको दुरावस्थाका बारेमा अवगत गराएको थियो ।

मन्दिरस्थित ढुंगेधारा अवलोकन गर्दै राष्ट्रपति

राष्ट्रपति भण्डारीले सदाझैँ मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान, शोभा भगवतीलगायतका मन्दिरमा दर्शन गरिएको थियो । राष्ट्रपति भण्डारीले आज बिहान काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–९ पलान्चोकस्थित भगवती मन्दिरमा पुगेर पूजाअर्चना गरिन् ।

धार्मिक मान्यताअनुसार शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्ति पीठमा भक्तजनको घुइँचो लागेको छ ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा चिनिन्छ । वर्षमा चार वटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् ।

शक्ति पीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्त्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

नक्साल भगवती मन्दिरमा राष्ट्रपति

तपाईको प्रतिक्रिया