पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माण

दिलकुमार लिम्बु सञ्चारकर्मी
63 Shares
ताप्लेजुङ

लिम्बू समुदायहरूको संस्कृति जगेर्ना गर्नका लागि ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा (च्याब्रुङ स्तम्भ) मुक्कुमलुङ केःलाङ निवासो निर्माण गरिएको हो ।

लिम्बू ९याक्थुङ० समुदायको ऐतिहासिक सांस्कृतिक बाजाको रूपमा रहेको च्याब्रुङको स्तम्भ निर्माण गरिएको हो । लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने तथा च्याब्रुङ (केः) को प्रचारप्रसार गर्ने उद्देश्यले मुक्कुमलुङ परिसरमा स्तम्भ निर्माण गरिएको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका राष्ट्रिय सदस्य बालचन्द्र आङ्बुहाङले बताए ।

लिम्बू जातीहरूले शुभकार्यमा च्याब्रुङ बजाए नाच्ने गर्दछ । जन्म, विवाह, घर पैँचो लगायत शुभकार्यमा लिम्बू जातिका कलाकारहरू च्याब्रुङ बजाएर नाच्ने गर्दछ ।

स्तम्भ निर्माण समितिका सचिवसमेत रहेका आङ्बुहाङका अनुसार च्याब्रुङ स्तम्भमा कियाचु जापान शाखाले पठाएको २७ लाख रुपैयाँ बढी आर्थिक लगानी भएको छ । तीन हजार ७९४ मिटरको उचाइ रहेको पाथीभरा परिसरमा निर्माण गरिएको च्याब्रुङको प्रतिमा स्तम्भले लिम्बू समुदायको सांस्कृतिक पहिचानको जगेर्ना गर्नमा सहयोग पुग्ने अपेक्षा राखिएको किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।

पाथीभराको दर्शन गर्न देश विदेशबाट आउने भक्तजनले स्तम्भको अवलोकन गर्ने र च्याब्रुङबारे प्रचारप्रसारमा टेवा पुग्न सक्ने किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी सचिव इन्दिरा मेन्याङ्बोले बताए । भर्खरै निर्माण सम्पन्न गरिएको सो च्याब्रुङ स्तम्भको किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम एक्तेनले अनावरण गरे ।

एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माणले लिम्बूको संस्कृति संरक्षण साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने एक्तेनले बताए । यता पाथीभरा परिसरमा निर्माण भएको च्याब्रुङ स्तम्भको देवीको दर्शनमा आउने भक्तजनले अवलोकन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया