नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसै

एजेन्सी एजेन्सी
काठमाडाैं

महान् पर्व दसैँ नेपालमा मात्र नभएर अन्य केही देशमा पनि मनाइन्छ । हिन्दुहरूको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढङ्गले दसैँ मनाइन्छ । भारतमा विशेष गरि नवदुर्गाको पूजा गरिन्छ । सिक्किम, दार्जिलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ । भारतबाहेक बङ्गलादेश बर्मा, थाइल्यान्ड, भुटान, श्रीलङ्का र मलेसियामा पनि दसैँ मनाइन्छ । मनाउने शैली फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन् ।

पश्चिम बङ्गालमा नवदुर्गा पूजाको आराधना गरेर मनाइन्छ । बङ्गालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी र नवमीमा दुर्गाको पूजा हुन्छ ।

आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसै मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । पहिला तीन दिन धन र समृद्धिकी देवी लक्ष्मीको आराधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ ।

गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ । त्यस्तै, महाराष्ट्रमा देवीको पूजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसङ्ख्यक हिन्दुले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन् । भक्तजनहरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन् । नवरात्रीमा तालको बिचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ ।

करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दसै मनाइन्छ । नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैँ मनाइन्छ ।

वर्मापछि बङ्गलादेशमा पनि दसैँ मनाइन्छ । १६ करोड जनसङ्ख्या भएको बङ्गलादेशमा १४ प्रतिशत हिन्दु धर्मावलम्बी छन् । हिन्दु धर्मावलम्बीले नवदुर्गाको पूजा आराधना गर्छन् । बङ्गलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन् ।

त्यस्तै बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पनि हिन्दुहरूले दसैँ मनाउँछन् । त्यसैगरी मलेसिया, थाइल्यान्ड इन्डोनेसियाका हिन्दुहरूले मनाउँछन् ।

तपाईको प्रतिक्रिया