ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

नवीन पौडेल संचारकर्मी
काठमाडौँ

नेपाल राष्ट्र बैङ्कले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैङ्कले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।

राष्ट्र बैङ्कले ९१ दिन अवधिको २० करोड रुपैयाँ, १८२ दिन अवधिको पाँच अर्ब रुपैयाँ र ३६४ दिन अवधिको छ अर्ब रुपैयाँ गरी जम्मा ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैङ्कले गत असोज २५ गते १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैङ्क, बैङ्क तथा वित्तीय संस्था, गैर-बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैङ्कले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

के हो ट्रेजरी बिल

मुद्रा बजारको एक प्रमुख उपकरणको रूपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन ९एक वर्षभन्दा कम० अवधिको स्रोत जुटाउन राष्ट्र बैङ्कले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नै गर्छ । अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैङ्कले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका