शब्द : एक शक्तिशाली हतियार

काठमाडाैं

मानिसले बोल्दा प्रयोग गर्ने शब्दहरुले मन-मस्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्दछ । त्यसको प्रभाव सकारात्मक वा नकारात्मक दुबै हुने गर्दछ । शासक वा सामन्ती वर्गका मानिसहरुले प्रयोग गर्ने गरेका शब्द र सर्वसाधारणले प्रयोग गर्ने शब्दहरुमा विभिन्नता हुन्छन् । तर, त्यस बारे हामीले खासै ख्याल गर्दैनौ । त्यसैगरी बालबालिका, किशोरकिशोरी, युवा, वयस्क र वृद्धवृद्धाहरुसँग बोल्दा के कस्ता शब्दहरु प्रयोग गर्दछन् त्यसको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ ।

म धरानमा हुर्केँ, बढेँ र त्यहीबाट शिक्षा हासिल गरेँ । समाज मिश्रित थियो । तर, मैले प्रत्यक्ष रुपमा जातीय विभेद भोगेको कहिल्यै अनुभूति गरिन । हुन सक्छ, विभेदको स्वरुपहरु बारेको अनभिज्ञताले पनि मैले त्यो अनुभूत गर्न सकिन होला, जानिन होला ।

तर, मेरो आमा भोजपुर जिल्लाको बाहुन क्षेत्री बाहुल्य समाजमा जन्मिनु र हुर्किनु भयो । उहाँले भने जातीय तथा लैङ्गिक विभेद अनुभूति गर्नु भएको रहेछ । उहाँले लैङ्गिक विभेदका पिडादायक अनुभवजन्य भोगाई र अनुभूतिहरु मेरी दिदी र मलाई बेला बखत सुनाउने गर्नु हुन्थ्यो । मेरी आमाको झैं विभेदका पिडादायक अनुभवजन्य भोगाई र अनुभूतिहरु नेपाली समाजमा धेरै छन्, होलान ।

मैले किशोरावस्थादेखि नै सुनेको र थाहा पाएको थिएँ कि तामाङ समुदायलाई गैरतामाङ, विशेषता बाहुन क्षेत्री समुदायका मानिसहरुले भोटे भन्ने गर्छन् । विराटनगरमा प्रमाणपत्र तह नर्सिङ अध्ययन गर्ने क्रममा छात्रावासमा थिएँ । एक दिन नुहाउन जाने बेलामा एकजना बाहुनी साथीले ‘यो लक्ष्मी त भोटे नुहुवाई गर्छे’ भने ।

यो सुनेपछि मैले तिनै साथीलाई ‘भोटे नुहुवाई भनेको के हो ?’ भनि प्रश्न गरेँ । उनले भनिन, ‘हामी बाहुनहरु एक लोटा पानी खनाएर चाँडै र दैनिक नुहाउँछौं । हिमालमा बस्ने भोटेहरु चाँही चिसोले गर्दा हत्तपत्त ननुहाउने, फोहोरी, गनाउने, वर्षमा एक दुई पटक मात्र नुहाउने । तर, नुहाएपछि धेरै समय लगाएर आन्द्रभुँडीमा भएको फोहोरमैला समेत सबै धोईपखाली नुहाउने गर्छन् भनि मेरो बुबाले भनेको सुने । तिमी पनि तामाङ अनि निकै समय लगाएर नुहाउने गर्छौ । त्यहि हो भोटे नुहुवाई ।’ यसपछि मैले बुझेँ कि फोहोरी, असभ्य जातिको अर्थमा भोटे शब्दको प्रयोग हुँदा रहेछन् ।

मलाई मेरै गाउँका एक जना दिदीले एक दिन रिसको झाेँकमा टप्परे भनि गालि गरे । टप्परे शब्द ब्राम्हण जो जजमानी गर्छन् उनीहरुलाई भनेको सुनेको थिएँ । यो सुनेपछि मेरो मानसपटलमा जिज्ञासा जागृत भयो । उनले किन मलाई टप्परे भनेका होलान ? जबकी मेरो बुबा कर्मकाण्ड गरी हिड्ने लामा पनि होइन । यस बारे मैले निकै पछिसम्म मेरा परिवार र आफन्तजनहरुदेखि गैरतामाङ समुदायका मानिसहरुलाई समेत सोधेँ । तर, कसैबाट मेरो कौतुहलता मेटाउने गरी चित्त बुझ्दो जवाफ पाईन ।

वि.स. २०५२ सालमा प्रमाणपत्र तह अध्यन पुरा गरी आफू कार्यरत कोशी अञ्चल असपतालबाट एक महिनाका लागि ललितपुर जिल्ला, लगनखेलस्थित मानसिक अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी तालिमको लागि आएँ । एक शनिबार संस्थाबाटै मानसिक बिरामीको घर अवलोकन गर्न काभ्रे जिल्लमा फिल्ड भ्रमण गयौं ।

संस्थामै कार्यरत एक पुरुष कर्मचारीले काभ्रे पुगेपछि वरिपरिका गाउँहरुतर्फ औंल्याउँदै भने, ‘यो वरिपरी जति पनि जस्ताका छानो भएका घरहरु छन् नि ती सबै तामाङहरुका हुन् । जसको घरमा जस्ताको छानो छ तिनीहरुको छोरीचेलीहरु बम्बईको कोठीमा देशव्यापार गर्छन् । तामाङ समुदायमा छोरी जन्मियो भने खुशी हुन्छन् र छोरा जन्मियो भने दुखि हुन्छन् । उनीहरुलाई देहव्यापार र वेश्यावत्ति गराउन उनीहरुकै आफ्ना बुबा, श्रीमान, दाजुभाइ, काका, मामाहरुले बिक्री गर्ने गर्छन् ।’ यो सुनेपछि म अवाक भएँ । यस्तो पनि हुन सक्छ ? आफ्नै छारीचेली, श्रीमतीलाई कसैले पैसाका खातिर बिक्री गर्छन् त ? पत्याउन गाह्रो भयो ।

दश महिना कोशी अञ्चल अस्पतालमा काम गरेपछि २०५३ सालमा म पुनः काठमाडौं आएँ । एक गैरसरकारी संस्थामा काम शुरु गरेँ । त्यति नै बेला पाँच गैरसरकारी संस्थाहरुले बम्बाई प्रहरीले त्यहाँका वेश्यालयहरुमा छापा मारी ६-७ महिनादेखि प्रहरी हिरासतमा राखेका १२० जना चेलीहरु जो आफ्नो देश नेपाल फर्किन इच्छुक थिए, नेपाल ल्याएर पुनस्थापना गरे । बम्बई कोठीमा बेचिएका अधिकांश छोरीचेलीहरु तामाङ समुदायका र काठमाडौं उपत्यका वरिपरीका जिल्लाहरुकै थिए ।

पुनस्थापना केन्द्रमा रहेका चेलीहरुका कथा उनीहरुका आफ्नै मुखबाट प्रत्यक्ष सुनेपछि आङ सिरिङ्ग भएर आउँथ्यो । झल्झली सम्झना आउँथ्यो ती पुरुषले कर्मचारीले केही समय अघि भनेका कुरा । आफ्नै आँखाले प्रत्यक्ष देखेपछि पत्याउन करै लाग्यो ती पुरुष कर्मचारीले ठिक भनेका रहेछन् । म फेरी निशब्द भएँ । त्यसै कारण प्रायः आर्यहरुले भन्ने गर्दा रहेछन्, ‘तामाङ समुदाय भनेको छाेरीचेली बेचबिखन गर्ने जाति हो । यिनीहरु बढी अपराधिक क्रियाकलापमा संलग्न हुन्छन् ।’
यसपछि म ऐतिहासिक तथ्यहरुतिर लागेँ । खोज्दै जाँदा १९ औं शताब्दीदेखि नै राज्यसत्ताले सुनियोति र संरचनागत रुपमै विभेदकारी ऐन, कानुन, नीति, नियम लादेर तामाङ समुदायमाथि अन्याय गर्दै आएको थाहा पाएँ । उनीहरुका छोरीचेलीलाई राजदरबारमा यौन दासी मात्र बनाइएन कि तत्कालिन हिन्दूस्तानका अंग्रेज सेनाहरुलाई समेत यौन प्यास मेटाउनका खातिर तामाङ समुदायका छोराछोरीहरुलाई बिक्री गरेको तथ्य प्रमाणहरु भेटिए ।

शासक र तिनीका भाइभारदारहरुले एकातिर तामाङ समुदाय छोरीचेलीको बेचबिखन गरे भने अर्कोतिर युवाहरुलाई पिपा, भरिया, दास, नोकर, चाकरको रुपमा प्रयोग र परिचालन गरे ।

तामाङहरुलाई होच्याउनका लागि शासक र सामन्ती वर्गले छोरीचेली बेचबिखन र अपराधिक क्रियाकलाममा संलग्नको आरोप लगाउने गर्दा रहेछन् ।

छोरीचेली बेचबिखन, देहव्यापार जस्ता अतिनै अमानवीय, विकृत र जघन्य अपराधिक कृयाकलापको विकाराल समस्या नेपालमा विद्यमान रहिरहेका छन् । यसबारे मैल विद्यालयस्तर र नर्सिङ क्याम्पसमा कहिँ कतै पढिन र सुनिन पनि । तर, जब स्वास्थ्य क्षेत्रको सामाजिक विकासे कार्यकर्ता भएर काम गर्दै गएँ, यसबारे बुझ्दै गएँ । आफू भन्दा वरिष्ठ व्यक्तिहरुद्वारा सुने, जानेँ र बुझेँ । आफू स्वयंले पनि समाजमा विद्यमान विभेदका बारेमा अवलोकन र विश्लेषण गर्न थालेँ ।

सुस्तरी सामाजिक विभेदका पत्रहरु उप्किँदै गए । समाजमा आर्थिक र सामाजिक आधारमा गरिने लैङ्गिक विभेद, जातीय विभेद, धार्मिक विभेद, भौगोकि/क्षेत्रीय विभेद, भाषीक विभेद र सांस्कृतिक विभेद विगतदेखि वर्तमानसम्म विद्यमान रहेछन् ।

अध्ययनकै शिलशिलामा अष्ट्रेलिय गएँ । अष्ट्रेलियन सरकारको छात्रवृतिमा ‘युवाहरुको यौन तथा प्रजनन स्वास्थ्यमा लैङलिक शक्ति सम्बन्धको प्रभाव’ शिर्षकमा विद्यावारीधी गरेँ । सोही क्रममा पश्चिमा मुलुकको अंग्रेजी भाषा, दक्षिण एसियाको हिन्दी र नेपालका पर्वते खस भाषाको शब्दजालको राजनीतिक बुझेँ । कसरी शासक वा सामन्ती वर्गले वर्ण, लिङ्ग र सम्प्रदायका शब्दजालकै प्रयोग गरी उत्पीडित र दमित वर्गमाथि शासन गर्दा रहेछन् भन्ने थाहा पाएँ ।
उदाहरणका लागि हामी बालबालिका, किशोरकिशोरी र युवा भन्ने गर्छै । तर, कुन उमेर समूहकालाई बालबालिका, किशोरकिशोरी र युवा भन्ने ? सामान्यतः अन्तर्राष्ट्रिय जगतमा १८ वर्ष मुनिकाहरुलाई बालबालिका, १०-१९ उमेर समूहकालाई किशोरकिशोरी र १५-२४ उमेर समूहकालाई युवा भनि संयुक्त राष्ट्रसंघले परिभाषित गरेका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने १८ वर्ष (पहिले १६ वर्ष) मुनिका कानुनत बालबालिका हुन् । त्यस्तैगरी १६-४० उमेर समूहभित्रका युवा । यो पनि वर्गले उनीहरुकै अनुकुल गर्दा रहेछन् ।

त्यसैले त कवि भूपी शेरचरनले भनेका रहेछन्- ‘नेपाल हल्लैहल्लाको देश हो’ । त्यसैगरी नेपाली कांग्रेशका महान नेता गणेशमान सिंहले नेपाली जनतालाई भेँडाको संज्ञा दिएका थिए । भूपी र गणेशमानका ती अभिव्यक्तीहरु उनीहरुका अनुभवजन्य भोगाइ र बुझाइ हुन् । भर्खरै मात्र पनि शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दालाई लिएर न्यूज २४ का कार्यक्रमका प्रस्तोता रबी लामिछाने प्रहरीले गरेको गिरफ्तारीको विरुद्ध मानिसहरु सडकमा उर्लिए, सामाजिक सञ्जालमा अपशब्दहरु प्रयोग गरे, यो पनि विषयलाई नबुझि हल्लैहल्लाम पछि लाग्ने प्रवृत्ति नै हो ।

सबैले थाहा पाएको तर खासै गहन रुपमा नबुझेको हाम्रो शरीरको अङ्गहरु मध्ये मस्तिष्क पनि एका हो । मस्सिष्क र मन दुई फरक तर अभिन्न हुन्छन् । कसैलाई मन के हो र कहाँ छ ? भनेर सोधेमा प्रायजसोले छातीभित्र वा मुटु देखाउँछन्, जबकी मन मस्तिष्कभित्र रहको हुन्छ । मस्तिष्क मानव शरिरको हार्डवेयर हो । भौतिक रुपमा बाहिरी आँखाले देख्ने खप्पर भित्रको अतिनै महत्वपूर्ण अङ्ग, जहाँ मन सफ्टवयरको रुपमा रही अदृश्र्यात्मक रुपमा काम गरिरहेका हुन्छन् ।
सतही ज्ञान सत्य र सहि हुँदैनन् । त्यो भ्रमपूर्ण हुन्छ र त्यसले असत्य र गलग मार्ग निर्देशन गर्ने गर्दछ । सतही रुपमा र सजिलै प्राप्त गर्ने वस्तुहरु खासै उपयोगी नहुन पनि सक्छ । सत्य सर्वव्यापी हुन्छ, जो प्राकृत हुन् ।

मन जस्तै अर्को गलत रुपमा प्रयोग गर्ने र बुझ्ने शब्द हो ‘धर्म’ । धर्म के हो ? कसैलाई सोध्यो भने कसैले धारण गर्ने भन्लान, कसैले जान्नु बुझ्नु भन्लान् । धर्म संस्कृत शब्द हो जुन पालि शब्द ‘धम्म’बाट आएको हो । अंग्रेजी शब्द ‘रिलिजन’ र संस्कृत शब्द ‘धर्म’को अर्थ फरक छ । हिन्दु दर्शनमा धर्म भनेको धारण गर्नुको अर्थभाव लाग्छ भने बुद्धमा कुनै वस्तु वा परिघटनाको प्राकृतिक गुण वा विशेषता बारे जान्नु भन्ने हुन्छ । तर, शासक वर्ग वा पाण्ड, पुरोहितहरुले यथार्थ भन्दा पनि भ्रामक वा कपोलकल्पित वर्णन र व्याख्या गरेका हुन्छन् । त्यसैलाई धर्म भन्दै ठग्दै आइरहेका छन् ।

नेपाली समाज यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुलेर बोल्न लाज मान्छन् । विडम्बना शिवलिङ् पुज्ने र शिवलिङ्ग बारे घरपरिवार, साथिभाइ, आफन्तजन सबैसँग खुलेर कुरा गर्छन् । तर, आफ्नो स्वास्थ्य समस्याको जड यौन तथा प्रजनन स्वास्थ्य र त्यसबारे बोल्न दिँदैनन् । औषधी, उपचार र व्यवस्थापन गर्ने कुरामा बन्देज लागउँछन् । यो पनि धर्मकै आडमा हुँदै आएका छन् ।
(काडमाडौंमा सम्पन्न तामाङ ज्ञान महोत्सवमा व्यक्त विचारको आधारमा)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका