काँठ क्षेत्रमा हराउँदै लिङ्गे पिङ

रमेश गिरी संचारकर्मी
भक्तपुर

‘चचहुइ……सरर’ भन्दै नेपालीको महान् चाड दसैँमा मच्चिएर खेलिने ‘लिङ्गे पिङ’ हराउँदै गएको छ । विशेष गरी काँठ क्षेत्रमा चोक–चोकमा, चौर तथा खुला क्षेत्रमा हालिने लिङ्गे पिङ यस वर्ष देखिएन ।

दसैँमा निकै रौनकता थप्ने लिङ्गे पिङ काँठ क्षेत्रमा देखिन छाडेपछि नयाँ पुस्ताका लागि यो एकादेशको कथा बन्न थालेको छ । केही वर्ष अघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि काठमाडौँ उपत्यकामा देख्नसमेत मुस्किल पर्‍यो । अघिल्लो पुस्तासम्म दसैँ आयो भन्ने बित्तिकै पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्ने योजना नै बन्ने गर्थ्यो । कानुनी रूपमा अवैध मानिएपछि लङ्गुरबुर्जा र ओखर खेल्न सरकारले रोक लगाएपछि यो परम्परा करिब ती क्षेत्रबाट हटिसकेको छ ।

दसैँमा मासु चिउरा खाएर कौसीमा बसेर चङ्गा उडाएर रमाइलो गर्ने परम्परासमेत अब लोप हुने अवस्थामा पुगेको छ । केही वर्ष अगाडिसम्म दसैँमा आकाशमा धेरै चङ्गा उडेको देखिन्थ्यो । तर केही वर्षयताको दसैँमा आकाशमा चङ्गा देखिन छाडेका छन् । खास गरी बालबालिकाहरू मोबाइललगायतमा उपलब्ध गेममा झुम्मिने कारण चङ्गाप्रतिको आकर्षण घटेको छ । दसैँ आगमनको सुरुआतसँगै खेलिने लिङ्गे पिङ यस वर्ष भक्तपुरमै पनि चार ठाउँमा मात्रै देखियो । त्यो पनि बच्चाका लागि भन्दै टोलवासीले हालिदिएको दुई वटा साना पिङले परम्परादेखि खेलिँदै आएको लिङ्गे पिङको अस्तित्व धानिरहेको देखिन्थ्यो ।

काँठ क्षेत्रमा विशेष गरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् । टोलवासीले घरधुरीको रूपमा निश्चित रकम सङ्कलन गरेर बाँसदेखि लठारोसमेत किनेर दसैँमा हालिएको पिङ तिहारसम्म राखेर खेल्ने दिन अब हराएका छन् ।

एउटा जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङ यस वर्ष भक्तपुर सहर क्षेत्रमा देखिएनन् । ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिए पनि विगतका जस्तो रौनकता देखिएको छैन । बस्ती बाक्लिँदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियोको डोरीकोसमेत अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको सूर्यविनायक नगरपालिका–१० का ७२ वर्षीय भगवाण कार्कीले बताए ।

दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउँदा पुण्य प्राप्त हुने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने प्रचलन रहँदै आएको उनी बताउँछन् । केही वर्षयता यस्ता लिङ्गे पिङ देख्नै नपाएको उनी बताउँछन् ।

चाँगुनारायण नगरपालिका– ९ ताथलीकी ४२ वर्षीया एशिला कार्कीले हरेक वर्ष दसैँमा टीका थाप्न माइत आउँदा माइती गाउँमा पिङ खेल्ने गरे पनि विगत चार वर्षदेखि भने माइती गाउँमा पिङ देख्नै नपाएको बताउँछिन् ।

आफ्नो घर ललितपुरको सुनाकोठीमा पनि धरै वर्षदेखि पिङ हाल्न छाडेकाले माइती गाउँमा आएर पिङ खेल्ने चाहना पनि अधुरै रहेको उनले बताइन् । विगतमा बाटो बाटोमा पिङ भेटिने भएकाले आफन्तको टीका थाप्न जाँदा रहर पुग्ने गरी पिङ खेले पनि अहिले आफ्ना छोराछोरीका लागि दसैँ तिहारमा खेलिने लिङ्गे पिङका बारेमा भन्नुपर्दा कथा भने जस्तै लाग्ने गरेको सुनाउनुहुन्छ, लक्ष्मीमाया कार्की । बच्चालाई लिङ्गे पिङ भनेको यस्तो हुन्छ भनेर फोटोमा र गुगलमा खोजेर देखाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

नयाँ पुस्ता दसैँमा पिङ खेल्ने भन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने, सामाजिक सञ्जालमा रमाउने गर्दा पिङको महत्त्व घट्दै गएको हो । पिङको रौनकतालाई जोगाउन स्थानीय तहले वडा कार्यालयमार्फत केही बजेटको विनियोजन गरेर सबैलाई पायक पर्ने गरी प्रत्येक वडामा कम्तीमा दुई वटासम्म पिङ हाल्ने व्यवस्था गरे यसको महत्त्व र रौनकता जीवित रहने चाँगुनारायण नगरपालिकाका महिला वडा सदस्य कमला गिरी बताउँछिन् ।

यस वर्ष केही स्थानीय सामुदायिक संस्थाले नगरपालिकाले पिङको लागि बजेटको व्यवस्था गरिदिन माग गरेको उनले सुनाइन् । विशेष गरी पिङ खेल्ने, चङ्गा उडाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दसैँको वास्तविक रौनक हराउँदै जान थालेको छ ।

तपाईको प्रतिक्रिया