सुदूरपश्चिममा बर्षाले मच्चायो बितण्डा, हालसम्म चार जनाको मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
कैलाली

तीन दिनदेखिको अविरल बर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् ।

महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए । यसैगरी, कञ्चनपुरका अन्य ससाना नदी तथा खोलामा पनि पानीको बहाव बढेको र धेरै स्थानमा बस्ती नै जोखिममा परेका उनले बताए ।

कर्णाली नदीमा आएको बाढीले रानी जमरा-कुलरिया सिंचाई आयोजना अन्तर्गतको ड्याम भत्किँदा कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेका छन् । अहिलेसम्म कर्णाली नदीको बाढीबाट ७० भन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन् । कैलालीको खुटिया नदी, मोहना नदी लगायत ससाना नदी तथा खोलामा पानीको बहाव उच्च बनेको छ ।

बझाङस्थित सेती नदीले पनि बितण्डा मच्चाएको छ । स्थानीयका अनुसार सेती नदी र स्थानीय बाहुली खोलामा पानीको बहाव अत्याधिक बढ्दा सदरमुकाम चैनपुर जोखिममा परेको छ । सदरमुकाममा निर्माणाधीन बसपार्क समेत बगाएको छ। सुदूरपशिचममा बाढी र पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भसकेको पुष्टि भएको छ ।

कैलालीको खुटिएकाले बगाउँदा गोदावरी-८ का ३० बवर्षीय गणेश आउजी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरो जाँदा स्थानीय ३० बर्षियय बिष्णु अवस्थी र उनकी ६ बर्षीया छोरीको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका-६ स्थित वीरबहादुर कुञ्जेडाको घरमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका-४ मा पहिरो जाँदा २३ जना बेपत्ता भएको सूचना छ । बाढी तथा पहिरोमा परी दर्जनभन्दा बढी पशुचौपाया मरेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।

सुदूरपशिचम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले प्रभावित सबै क्षेत्रमा राहत तथा उद्धारका लागि सरकार लागि परेको बताइन् । प्राकृतिक प्रकोपपछि प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाइएको उनले बताइन् । यसैगरी विभिन्न स्थानमा फसेका नागरिकको उद्धारका लागि दुई वटा हेलिकोप्टर पठाएको मन्त्री जोशीले बताइन । बैतडीको ढुंगाडमा फसेका ६० जनाको उद्धारका लागि ठुलो हेलिकोप्टर त्यसतर्फ पठाएको उनको भनाइ छ ।

यसैगरी कञ्चनपुरको ब्रह्मदेउस्थित महाकाली टापुमा फसेका पाँच जना तथा कैलालीको मोहन्याल गाउँपालिकास्थित ठुलीगाढको दोभानमा फसेका दुई जनाको उद्धारका लागि पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको मन्त्री जोशीले बताइन । मौसम अनुकुल हुनासाथै उद्धार हुने उनले बताइन । बझाङमा ठुलो मानविय क्षेति भएको भन्ने खबर आए पनि सञ्चारबिच्छेद हुँदा एकिन विवरण प्राप्त हुन नसकेको मन्त्री जोशी बताइन ।

तपाईको प्रतिक्रिया