जिल्ला बिपद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले पासाङल्हामु राजमार्ग अन्तर्गत कालिका-स्याफ्रुवेशी-रसुवागढी सडकखण्ड मर्मत र ग्रावेल गर्ने भएको छ । स्याउबारीदेखि धुन्चे हुदै रसुवागढीसम्मको सडकखण्डका खाल्डाखुल्डी र मर्मत गर्नै पर्ने सबै स्थानको सडकमा ग्रावेल कार्य शुरु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिए ।
यसको लागि सम्वन्धित गाँउपालिकाको अध्यक्षको अगुवाइ तथा डिभिजन कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, नागरिक समाज, पत्रकार महासंघ, उद्योग बाणिज्य महासंघ जिल्ला शाखा र चेम्वर अफ कमर्श रसुवाको प्रत्यक्ष सहभागिता रहने गरी सडक सुधार संयन्त्र निर्माण गर्ने प्रजिअ भण्डारीले बताए ।
बैठकले १५ महिनाभित्र यस क्षेत्रमा सहज रुपले यातायात संचालन गर्ने गरी कार्य गर्ने निर्णय गरेको छ ।
सो सडकमा ग्रावेल गर्दा हुन सक्ने अवरोध र आउदो दशैतिहार लगायतका पर्बहरुलाई ध्यानमा राखी बेत्रावती-मैलुङ-स्याफ्रुवेशी सडकखण्ड असोज पहिलो साता संचालनमा ल्याउन आवश्यक कार्य गर्ने निर्णय भएको छ । तत्काल सडक मर्मत प्रारम्भ गर्नको लागि आवश्यक ब्यवस्था मिलाउन गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक योजनालाई बिशेष अनुरोध गर्ने बताइएको छ ।