गत वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेका राष्ट्रिय कविता महोत्सवका विजेता कविहरूलाई पुरस्कार प्रदान गरिएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच राष्ट्रपति भवन, शीतल निवासमा कविहरुलाई पुरस्कार प्रदान गरिन् ।
प्रथम हुने काभ्रेका कवि फूलमान बलले स्वर्ण पदकसहित नगद ३० हजार रुपैयाँ, दोस्रो हुने धादिङकी सुनिता खनालले कास्य पदकसहित नगद २५ हजार रुपैयाँ र तृतीयत्रय मोरङकी मेनुका चापागाईं, रामेछापका कवि जीवन खत्री र तेह्रथुमकी एलिना दुलालले जनही रजत पदकसहित नगद २० हजार रुपैयाँ पाएका छन् ।
कार्यक्रममा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी प्रथम कवि सिन्धुलीका प्रोल्लास सिन्धुलीय र द्वितीय कवि पाँचथरकी सरस्वती दुमी राईलाई पनि पुरस्कार हस्तान्तरण गरियो ।
उक्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सामाजिक रुपान्तरणमा नेपाली साहित्यले विशिष्ट योगदान दिँदै आएको बताइन् । उनले थपिन, स्रष्टाका सिर्जनाहरुले सिङ्गो राष्ट्र नै लाभान्वित भएको भन्दै राष्ट्रको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका रहनेछ ।
नयाँ पुस्ताका प्रतिभाहरूलाई सिर्जनाकर्ममा उत्प्रेरित गर्ने उद्देश्यले वि.सं २०२२ देखि नै कविता महोत्सव गरिँदै आएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए । प्रतिष्ठानले ‘नेपाल दर्पण’ प्रकाशन गर्ने उनले जानकारी दिए ।
उपकुलपति डा. जगमान गुरुङले पुस्ता र दक्षताको हस्तान्तरण गर्दै लैजानु नै महोत्सवको उद्देश्य भएको बताए ।
काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कवि प्रतिभाको विकास र कविता विधाको उन्नयनमा महोत्सवले विशेष भूमिका खेल्दै आएको उल्लेख गरे । उनले यस वर्षदेखि कविता वाचन कलालाई पनि मूल्याङ्कनको आधार बनाइने बताए ।