कुमारी मोक्तान : जनसरकार प्रमुखदेखि मन्त्रीसम्म

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कुमारी मोक्तानले पाएकी छन् । नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता मोक्तानलाई बिहीबार नयाँ मन्त्रीमण्डल गठनमा गठबन्धनले सो जिम्मेवारी दिएको हो ।

बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट कुमारी मोक्तान सामाजिक, नेपाली काङ्ग्रेसबाट बनेका कृष्णलाल कँडेल भौतिक पूर्वाधार  र नेकपा एकीकृत समाजवादी (एस) बाट कृष्ण खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।

बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

विद्यालय छाडेर राजनीतिक, एक वर्ष जेल जीवन

पदम पोखरी-२ ठूल्थलीमा बुबा सानु कान्छा र आमा तीर्थमायाको जेठो सन्तानको रूपमा जन्मिएकी कुमारी विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएकी हुन् । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरे लगत्तै मोक्तानले १६ वर्षको उमेरमा विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिइन्।

लामो समयदेखि जनयुद्धमा होमिएर जनताको मुक्तिको दिन ल्याउन भनेर सबै त्यागेर लागेकाले पनि आफूलाई आज यस स्थानमा ल्याइपुर्‍याएको उनी बताउँछिन् ।

उनी २०५६ महिलातर्फको केन्द्रीय सदस्य हुँदै अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष बनिन् । ​सशस्त्र द्वन्द्वकै बेला उनले २०५७ सालमा एक वर्ष जेल जीवन बिताएकी छन् ।

मोक्तानले २०५८ मा माओवादीको इलाका इन्चार्ज र २०५९ मकवानपुर जिल्ला सचिवको जिम्मेवारी सम्हालिएकी थिइन् । त्यस्तै उनले २०६० मा पार्टीको जनसरकार प्रमुख, २०६१ प्रादेशिक जनसरकार उपप्रमुख र २०६१ मा क्षेत्रीय ब्युरो सदस्यमा रहेर काम गरिन् ।

२०६२ मा पार्टीको केन्द्रीय सदस्य रहेकी उनी २०६३ मा अन्तरिम विधायीकाको जिम्मेवारीमा रहिन् ।

माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आएपछि उनी २०६४ मा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भएकी हुन् । त्यस्तै २०७४ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्त्रगतको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ९क० मा वाम गठबन्धन माओवादी केन्द्रबाट विजयी भएकी हुन् ।

कुमारीका पति दावा तामाङ यसअघि केपी शर्मा ओलीको सरकारमा संघीय युवा तथा खेलकुद मन्त्री भइसकेका छन् ।

नेकपा (माओवादी केन्द्र) मकवानपुरकी इन्चार्जसमेत रहेकी मोक्तानले अहिलेसम्म मकवानपुरमा विजयी भएका अन्य उम्मेदवारभन्दा भारी मतले विजयी भएर इतिहास रचेकी छन् ।

थप यो पनि

कुमारी मोक्तान बागमती प्रदेशको मन्त्री बन्दै

तपाईको प्रतिक्रिया

पत्रपत्रिका