अब हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था हुन्छ : मन्त्री श्रेष्ठ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
मकवानपुर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आज श्रम तथा रोजगार कार्यालय हेटौँडाको अनुगमन गरेका छन् । अनुगमनपछि मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि हेटौँडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने बताएका छन् । ‘अब वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृतिको व्यवस्था हेटौँडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइने छ,’ मन्त्री श्रेष्ठले भने । अहिले बुटवल, जनकपुर, पोखरा, धनगढी लगायतका ठाउँबाट श्रम स्वीकृति दिँदै आएको उनले बताए ।

मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूति हुने गरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने पनि बताए । मन्त्री श्रेष्ठले श्रम कार्यालय, हेटौँडाको समस्या बारे जानकारी लिँदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि सकेको प्रयास गर्ने बताए ।

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, पार्टी उपाध्यक्ष एवं हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामा, सचिव विष्णुप्रसाद दाहालसहित श्रम तथा रोजगार कार्यालयमा अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले हेटौँडा औद्योगिक क्षेत्र भएकाले श्रमिक तथा रोजगारदाताका बिचका समस्या समाधानका लागि लागि पर्ने बताए ।

कार्यालय अनुगमनमा मन्त्रालयका सहसचिव सुमन घिमिरे, मन्त्री श्रेष्ठका स्वकीय सचिव कृष्ण सुवेदीलगायतको उपस्थिति थियो । मन्त्री श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै कार्यालय प्रमुख छन्दनारायण श्रेष्ठले कार्यालयले सम्पादन गरिरहेका काम, समस्या, आगामी योजना लगायतका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया