तामाङ सोसाइटी अफ अमेरिकाद्वारा ‘तामाङ समाज अमेरिका’को नाममा हुने गतिविधि नरोके कानुनी प्रक्रिया अघि बढाउने चेतावनी

सैलुङअनलाइन संवाददाता
अमेरिका

तामाङ सोसाइटी अफ अमेरिकाले केही व्यक्तिहरुले ‘तामाङ समाज अमेरिका’को नाम र लेटरप्याडको अनाधिकृत प्रयोग गरेर व्यक्तिगत स्वार्थसिद्धिका लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालमा अवान्छनीय गतिविधि बढाएको र सोसाइटी विरुद्ध अफवाह र भ्रम फैलाउने कार्य गरेको प्रेस विज्ञप्ती मार्फत् जनाएको छ ।

नोभेम्बर २ तारिख तदानुसार कार्तिक १६ गते मंगलबार जारी सोसाइटीका अध्यक्ष छेमाङ लामाद्वारा जारी विज्ञप्तीमा उक्त गतिविधि तुरुन्त बन्द नगरेमा कडा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

‘तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ अमेरिका विधिवत एकता भैसकेको अवस्थामा सो संस्थाको नाममा गरिएको भनिएको कथित अधिवेशन अवैधानिक मात्र नभै सो संस्थाको नाममा भैरहेको सबै गतिविधिहरु यहाँको कानुनसम्मत समेत नभएको जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तीमा उल्लेख छ, ‘तामाङ समाज अमेरिकाको नाममा हुँदै आएको त्यस खाले गतिविधीहरु तुरुन्तै बन्द गर्न सम्बन्धित व्यक्तीहरुलाई यसै प्रेस विज्ञप्ती मार्फत् जानकारी गराइन्छ र वेवास्ता गरी गैरकानुनी क्रियाकलाप जारी राखेमा कानुनी प्रकयाको बाटोमा जान तामाङ सोसाइटी अफ अमेरिका बाध्य हुने बेहोरा यसै विज्ञप्तीबाट जानकारी गराइन्छ ।’

यसै वर्ष तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ अमेरिका बिच विभिन्न चरणमा वार्ता भई १२ बुँदे सहमति सहित दुवै संस्था एकताको टुङ्गोमा पुगेको थियो । सोही सहमति अनुसार २०२१ मे २७ तारिखका दिन दुवै संस्थाले आ-आफ्ना केन्द्रीय समितिको बैठकले उक्त सहमति सहित एकताको निर्णय गरेको र मे २७ तारिखका दिन दुवै संस्थाको न्यूयोर्कमा सम्पन्न संयुक्त अधिवेशन एकता घोणना गरेका थिए ।

एकता पछि संस्था तामाङ सोसाइटी अफ अमेरिकाको नामले सञ्चालन हुँदै आएको थियो । हालै विभिन्न सामाजिक सञ्जाल र संचार माध्यमहरुमा तामाङ समाज अमेरिकाको नामबाट विभिन्न खालका गतिविधिहरु हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका