उचित खानपानको व्यवस्थापन अभावमा आजकल मानिसमा मोटोपनको समस्या देखिन थालेको छ । किशोर अवस्थादेखि युवा उमेरका मानिसहरु शरीरको सबै भाग फिट भएतापनि पेट भने बढेको हुन्छ ।
पेट बढ्ने समस्याले विभिन्न रोगहरु निम्त्याएको हुन्छ । पेट घटाउन मानिसहरुले मर्निङ वाक, योग, साइक्लिङ, जिम, ब्यायाम गर्ने गर्दछन् । यसरी गरिने क्रियाबाट मात्र मानिसको पेट लाग्ने समस्या न्युन हुँदैन । हामीले खाने खाना तथा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्दछ ।
पेट घटाउनका लागि यी उपयाहरु अपनाउन सकिन्छ ।
कागती पानी : हरेक दिन बिहान–बेलुका कागती पानी पिउनु उत्तम हुन्छ । कागती पानीले पेटमा जम्मा भएको बोसो घटाउन मद्दत गर्छ । यो प्रभावकारी घरेलु उपाय हो । तातो पानीमा कागतीको रस र नुन मिलाएर हरेक दिन सेवन गरे मेटापोलिजम दुरुस्त रहन्छ र बिस्तारै पेट घटेर जान्छ ।
उसिना चामल : पेट बढेको मानिसले उसिनाको चामल खाँदा उत्तम हुन्छ । कार्बोहाईड्रेड बढाउने खाद्य सामाग्रीको उपभोग गर्नु हुँदैन ।साथै खाजामा पनि ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य सामाग्री प्रयोग गर्नुहोस् ।
गुलियो कम : मीठाई तथा चिल्लो युक्त पदार्थको सेवनले पेट बढाउने गर्दछ । यस्ता खाद्य पदार्थले शरीरमा बोसो जम्मा गर्न मद्दत गर्छन् । गुलियो र तेलबाट लाग्ने बोसो भुँडी, तिघ्रा लगायतका स्थानमा जम्मा हुने गर्दछन् ।
अत्याधिक पानी पिउने :पानी धेरै पिउँदा पेट बढ्ने समस्या मात्रा होइन अरु रोगहरुका लागि पनि फाइदाजनक हुन्छ । नियमित केही घण्टाको अन्तरालमा पानी पिई राख्दा मेटापोलिजम बढ्छ र शरीरमा जम्मा भएका विषालु पदार्थ बाहिर निस्कन्छ ।
काँचो लसुन: बिहानबिहान २ पोटी काँचो लसुन चपाएर खाने गर्नले शरीरलाई धेरै फाइदा पुर्याउँछ । यदि काँचो लसुन चपाएर त्यसलाई कागती पानीले निल्नुहोस्, यो भुँडी घटाउने सबैभन्दा उत्तम उपाय हो ।
माछामासु नखाने : शाकाहारी भोजन गर्नेको भन्दा मांसाहारी भोजन गर्नेको भुँडी निकै बढेको देखिन्छ । माछामासुमा अत्यधिक मात्रामा बोसो हुने भएकाले त्यही बोसो शरीरमा जम्मा हुन जान्छ र स्वास्थ्य सम्बन्धी समस्याहरु देखा पर्न थाल्दछन् । त्यसैले सकेसम्म शाकाहारी भोजन गर्दा राम्रो हुन्छ । दिनमा दुई पटक फल र सागसब्जी खानु उत्तम हुन्छ ।
पकाउने तरिका बदल्ने: तपाईले खाना पकाउँदा भान्सामा प्रयोग गरेको शैली बदल्नुहोस् । साथै खाना पकाउँदा मसला र तेलको मात्रा कम गर्नुहोस् । दालचिनी, अदुवा तथा मरिच मिसाएर बनाएको मसला भान्सामा प्रयोग गरेमा तपाईको बढेको भुँडी घटेर जानेछ । यसले तपाईंको इन्सुलिनको क्षमता समेत बढाउँछ ।
बदाम खाने : पेट बढेको मानिसले बदामको सेवन गर्दा फाइदा हुन्छ । यसले लामो समयसम्म पेट भरिएको अनुभूति हुन्छ र यसले मोटाई बढाउँदैन । बदाम भिटामिन ‘इ’, प्रोटिन तथा फाइबरको राम्रो स्रोत मानिन्छ ।