अधिकांश डिप्रेसन व्यक्ति आफैंले निर्माण गर्छन्

सैलुङअनलाइन संवाददाता
काठमाडौं

हामीले यो बुझ्न जरूरी छ कि आखिर डिप्रेशन (उदासीपन) के हो ? तपाईं उदास रहनुभयो भने, तपाईंभित्र के भइरहेको हुन्छ ? यसलाई मुलभूत रूपमा हेरौँ: तपाईंले केही भइदियोस् भन्ने अपेक्षा राख्नुभएको थियो, तर त्यसो भइदिएन ।

तपाईंले कोही व्यक्ति वा कुनै चिज तपाईंले चाहेअनुसार भइदियोस् भन्ने आशा गर्नुभयो अथवा भनौँ यो संसार वा नियति तपाईंले चाहेअनुसार भइदियोस् भन्ने अपेक्षा राख्नुभयो, तर त्यो त्यसो भइदिएन । अर्को शब्दमा भन्नुपर्दा, जे भइरहेको छ तपाईं त्यसको विरुद्धमा हुनुहुन्छ, यत्ति नै हो । सायद तपाईं कोही व्यक्ति वा परिस्थितिको विरुद्धमा हुनुहुन्छ होला अथवा तपाईं स्वयं जीवनको विरुद्धमा हुनुहुन्छ होला । त्यसैअनुरूप, डिप्रेशन वा उदासी पनि झन् भन्दा झन् बढी गहिरिँदै जान्छ ।

तपाईं किन कुनै कुराको विरुद्धमा हुनुहुन्छ ? केवल यसकारण किनकि ती कुराहरू तपाईंले चाहेजस्तो भइदिएनन् । यो पूरै विश्व तपाईंको चाहेअनुसार किन चल्नुपऱ्यो ? कृपया यो बुझ्नुहोस्, यो संसार तपाईंले चाहेअनुसार चल्दैन । यथार्थ के हो भने, कि त तपाईंलाई सृष्टिकर्ताप्रति भरोसा छैन वा तपाईंमा स्वीकार्य भाव छैन वा तपाईंमा यी दुवै छैनन् अनि तपाईंको अहंकार अति संवेदनशील छ । यही कारणले गर्दा तपाईं उदास हुनुहुन्छ ।

तपाईं डिप्रेशनमा हुँदा के हुन्छ ?

डिप्रेशनले तपाईंलाई असाध्यै निराश बनाउँछ अनि यो विशेषगरी आत्मघाती हुन्छ । उदास मानिसहरूले आफैंलाई बढी क्षति पुऱ्याउँछन् । क्षति भन्नाले भौतिक रूपमा नै हानि पुऱ्याउँछ भन्ने होइन । जो व्यक्ति तरबार लिएर अरूलाई मार्न जान्छ, उसको अहम् खासै संवेदनशील हुँदैन-यो त्यस रूपमा रहँदैन, जति उदास व्यक्तिले त्यसलाई आफूभित्र हुर्काउँदै गएको हुन्छ ।

हिंस्रक व्यक्तिलाई सजिलै शान्त पार्न सकिन्छ । के तपाईंले बाटोतिर यस्तो देख्नुभएको छ ? जब मानिसहरू झगडा गर्छन्, यदि त्यहाँ एकजना मात्रै पनि समझदार व्यक्ति छ अनि उसले दुवै पक्षलाई शान्त पार्न सक्छ भने, एक क्षण अघिसम्म एकअर्कालाई मार्न तम्सिएका मानिसहरू अर्को क्षणमै झगडा बन्द गरेर साथी बनी आफ्नो बाटो लाग्छन् । तर, डिप्रेशनमा भएको व्यक्तिको सन्दर्भमा त्यस्तो हुँदैन-उसले एउटै कुरालाई जीवनभरी बोकिरहन्छ । चाहे उनीहरूले सचेतन रूपमा गरून् वा अनजानमा, उदास व्यक्तिहरू आफ्नो छुरीलाई अझ धारिलो बनाइरहन्छन् अनि आफ्नै मुटु छियाछिया पारिरहेका हुन्छन् । किन कसैले आफैँलाई क्षति पुऱ्याउला र ? सामान्यतया, ती मानिसहरू सहानुभूति पाउन त्यसो गर्छन् । अत्यन्तै उदास व्यक्तिलाई सामान्य सहानुभूतिले काम गर्दैन; अर्को व्यक्ति उसको पीडामा डुबिदिनु पर्ने हुन्छ ।

तपाईंभित्र त्यस्तो के छ जो दु:खी बन्छ ? यदि मैले लट्ठीले तपाईंको शरीरमा हिर्काएँ भने, तपाईंको शरीरमा दुखाइ हुन्छ, त्यो फरक कुरा हो । अन्यथा, तपाईंभित्र त्यस्तो के छ, जो दु:खी बन्दछ ? मन र भित्री प्रकृतिमा पीडा हुन सक्दैन । तपाईंको अहम् मात्र दु:खी बन्दछ । जब तपाईं `म माथि उठ्न चाहन्छु´ भन्नुहुन्छ, यसको अर्थ तपाईं आफ्नो अहम् लाई कुल्चिएर त्यसबाट अगाडि बढ्न चाहनुहुन्छ ।

डिप्रेशनलाई समेत सदुपयोग गर्न सकिन्छ !

मानिसले जस्तोसुकै भावनालाई पनि आफ्नो जीवनको सृजनात्मक शक्तिमा बदल्न सक्छ । यदि तपाईंको उदासीले तपाईंलाई आफू अपूर्ण छु भन्ने सम्झना गराउँछ भने, यो राम्रो कुरा हो । आफ्नो उदासीपनलाई आफ्नो विकासमा सदुपयोग गर्नुहोस् । तपाईं यो उदासीलाई आक्रोशमा बदल्न चाहनुहुन्छ वा प्रेम र करूणामा ? जब तपाईं उदास रहनुहुन्छ, त्यसबेला करूणामयी बन्न एकदमै सजिलो हुन्छ । यो विलिन गर्ने खालको ऊर्जा हो; तपाईं यसको उपयोग गरेर अझै विलिन हुन दिन सक्नुहुन्छ, जसले तपाईंलाई तपाईंको परम खुसियालीतर्फ लैजान्छ । तर, तपाईं उदास हुँदा चिढिएर अझ बढी रिसाउनुहुन्छ अनि पूरै संसार गलत छ भनेर सोच्नुहुन्छ भने, तपाईं पटमूर्ख हो ।

दुर्भाग्यवश, मानिसहरूको सन्दर्भमा वास्तविकता के हो भने, मनुष्यलाई जीवनले चुटेपछि मात्रै उनीहरूको मानवताले काम गर्न थाल्दछ । अधिकांश मानिसहरू उदासी र पीडा नभोगी परिपक्व बन्न सक्दैनन् । त्यसो नहुने हो भने, उनीहरू आफूभित्र के भइरहेको छ अनि आफ्नो सेरोफेरोका अरूहरूप्रति के भइरहेको छ भन्ने कुरालाई कहिल्यै बुझ्न नै सक्दैनन् ।

योगमा, डिप्रेशनलाई शरीर, मन र ऊर्जाको स्तरमा सम्हालिन्छ । यदि अन्नमय कोष (भोजनले बनेको शरीर), मनोमय कोष (मानिसक शरीर) अनि ऊर्जामय कोष (ऊर्जा शरीर) लाई सन्तुलित र उल्लासमय अवस्थामा राखियो भने, आनन्दित रहनु निकै स्वाभाविक हो । आनन्दित मानिसमा कहिल्यै डिप्रेशन वा उदासी हुन सक्दैन ।

जब तपाईं डिप्रेशनलाई स्वाभाविक प्रक्रिया भनेर उद्‌घोष गर्नुहुन्छ, अब त्यसबाट बाहिर निस्किने कुनै तरिका रहँदैन । जब तपाईं बच्चा हुनुहुन्थ्यो, तपाईंको निम्ति प्रफुल्लित र आनन्दित रहनु स्वाभाविक थियो- उदास बन्नु होइन ।

डिप्रेशन स्वाभाविक हो भनेर घोषणा नगर्नुहोस् । डिप्रेशन मतलब तपाईं आफूभित्र जीवनको उल्लासलाई कायम राख्न सकिरहनु भएको छैन । यो तपाईंको शरीरमा समेत देखिन्छ । यदि तपाईं उदास हुनुभयो भने, तपाईंको शरीर नै अस्तव्यस्त बन्दछ । तपाईंभित्रको जीवन उल्लासमय छैन— यो खस्किएको छ अनि यसले आफ्नो उल्लास गुमाएको छ, किनकि तपाईं जीवनसँग सही कार्यहरू गरिरहनु भएको छैन । तपाईं यसमा अत्यधिक मात्रामा बाहिरी बकवास थोपर्दै हुनुहुन्छ । तपाईंले आफ्ना जीवन ऊर्जाहरूलाई जीवन्त र उच्चतम अवस्थामा राख्न केही पनि गर्नुभएको छैन ।

डिप्रेशन किन हुन्छ ?

डिप्रेशन एक किसिमको यातना हो । यदि तपाईं परम–आनन्दमा हुनुको सट्टा यातनामा डुब्नुभएको छ भने, यसको कारण यो हो कि तपाईंको ऊर्जाको ठूलो हिस्सा बाध्यात्मक वा विवश रूपमा भइरहेको छ, न कि सचेतनपूर्वक । यो बाहिरी परिस्थितिहरूप्रति प्रतिक्रिया गर्ने शैलीमा भइरहेको छ । जब तपाईं बाध्यात्मक वा प्रतिक्रियात्मक रूपमा सञ्चालित रहनुहुन्छ, डिप्रेशन हुनु निकै सामान्य कुरा बन्दछ-किनभने बाहिरी परिस्थितिहरू कहिल्यै पनि शत–प्रतिशत तपाईंको नियन्त्रणमा हुँदैनन् । संसारमा कयौँ कुराहरू घटिरहेका हुन्छन् । यदि तपाईं बाध्यात्मक रूपमा प्रतिक्रया जनाउनुहुन्छ भने, त्यसमै फस्नु अनि निराश बन्नु स्वाभाविक हो । यस्तो अवस्थामा जीवनका विभिन्न पक्षहरूसँग तपाईं जति बढी सामना गर्नुहुन्छ, तपाईं त्यति नै बढी दुःखी बन्नुहुनेछ ।

मानिसहरू विभिन्न तरिकाहरूले उदास मनस्थिति (depressed mood) मा रहने गर्छन् । उनीहरू जुन कुरालाई अमूल्य ठान्छन्, त्यसलाई तपाईंले खोसिदिनु भयो भने, उनीहरू उदास बन्छन् । थुप्रै मानिसहरूको सन्दर्भमा, विशेषगरी सम्पन्न समाजहरूमा, सबैभन्दा दु:खद कुरा के हो भने उनीहरूसँग सबैथोक छ, यद्यपि उनीहरूसँग केही पनि छैन । डिप्रेशन अर्थात् कहीँकतै तपाईंभित्र निराशा भरिएको छ । तपाईं कुनै विकट र गरीब गाउँहरूमा गएर हेर्नुहोस्: उनीहरू वास्तवमै विपन्न र दरिद्र अवस्थामा हुन्छन् । तैपनि, तपाईंले त्यहाँ प्रसन्न अनुहारहरू देख्न सक्नुहुन्छ, किनभने उनीहरूमा यो आशा छ कि भोलिको दिन अझ राम्रो हुनेछ । सम्पन्न समाजहरूमा भने त्यो आशा हराइसकेको छ । डिप्रेशन बढ्दै गएको छ, किनभने बाहिरी रूपमा जे–जति गर्न सकिन्थ्यो, सबैथोक भइसकेको छ ।

एउटा गरीब व्यक्तिले सोच्न सक्ला, `भोलि, यदि मैले एक जोर नयाँ जुत्ता पाएँ भने, सबैथोक ठीक हुनेछ ।´यदि उसले एक जोर नयाँ जुत्ता पायो भने, ऊ राजाझैँ प्रफुल्ल मुहार लिएर हिँड्नेछ । किनभने उसमा आशा छ, उसको निम्ति बाहिरी आवश्यकताहरू अझै सुनिश्चित भइसकेका छैनन् । सम्पन्न समाजहरूमा, बाहिरी आवश्यकताहरू सुनिश्चित गरिएका छन्, तर भित्री स्थितिमा केही गरिएको छैन । त्यसैले त्यहाँ निराशा र उदासी छ । त्यहाँ खाना छ, त्यहाँ घर छ, त्यहाँ लगाउन लुगा छ- त्यहाँ सबैथोक छ, तैपनि त्यहाँ केही न केही समस्या छ । उनीहरूले त्यो समस्या के हो भनेर पहिचान गरेका छैनन् ।

जसैजसै हामी बाहिरी आवश्यकतामाथि काम गर्दै जान्छौँ, हामीले आफ्नो भित्री स्थितिलाई पनि सही अवस्थामा राख्नुपर्छ । त्यसबेला, संसार सुन्दर बन्नेछ । जब हामी आध्यात्मिक प्रक्रिया भन्छौँ, त्यसको अर्थ यही हो: जीवनमा वस्तुपरक वा भौतिक पक्षहरू मात्रै सुनिश्चित गर्ने नभई, तपाईं जो हो, त्यसको मूल रूपमा वा आत्मपरक पक्षलाई समेत सही अवस्थामा राख्ने ।

उदासीपन-अरूबाट सहानुभूति र ध्यान खिच्न !

यदि तपाईंमा कुनै चिजप्रति निकै सशक्त र प्रबल भावनाहरू वा विचारहरू छैनन् भने, तपाईं उदास बन्न सक्नुहुन्न । कुरा यत्ति हो कि तपाईं यस्ता विचार र भावनाहरू उत्पन्न गरिरहनु भएको छ, जसले तपाईंकै विरूद्धमा काम गर्छन्, न कि तपाईंको लागि । तसर्थ, तपाईं आफूलाई डिप्रेशनमा लैजान वा उदासी बनाउन एकदमै सक्षम हुनुहुन्छ । यो कुरा मैले अरू व्यक्तिको रोगप्रति कुनै सरोकार नराखिकन वा अरूप्रति ममा करूणा नभएकोले भनेको होइन । म यो यसकारण भनिरहेको छु, किनभने मानिसमा डिप्रशन यसरी नै हुने गर्दछ ।

अधिकांश डिप्रेशन व्यक्ति आफैँले निर्माण गर्छन् । केही मानिसहरूको शारीरिक प्रणाली रोगग्रस्त भएकोले त्यो अवस्थामा पुग्न सक्छन् । तर, लगभग सबैजसोले आफूलाई पागलपनको अवस्थामा पुऱ्याउन सक्छन्, किनकि सद्देपन र पागलपन बिचको रेखा एकदमै मसिनो हुन्छ । मानिसहरू आफूलाई त्यसतर्फ धकेलिरहन्छन् । जब तपाई रिसाउनुहुन्छ, तपाईं त्यो रेखा धकेल्दै हुनुहुन्छ । तपाईं सद्देपनको रेखालाई धकेलेर केही समयको लागि पागलपनको अवस्थामा जानुहुन्छ अनि फर्किनुहुन्छ ।

तपाईंले आफ्नो जीवनमा बिरामी हुनको लागि थुप्रै प्रोत्साहन पाउनुभएको छ । तपाईं बच्चा हुँदा, तपाईं बिरामी भएको बेला मात्रै सबैजनाको ध्यान पाउनुहुन्थ्यो । तपाईं खुसी हुँदा ठूलाबडाले तपाईंलाई हकार्थे । जब तपाईं हर्षित भएर चिच्याउनु हुन्थ्यो, उनीहरूले उल्टै तपाईंलाई झपार्थे । तपाईं शिथिल भएको बेला, उनीहरू “हह बाबु हह” भन्दै फकाउँथे । जब तपाईं बच्चा हुनुहुन्थ्यो, शारीरिक रूपमा बिरामी हुनु राम्रो थियो, किनकि तपाईंले आमा, बुबा अनि वरपरका सबैजनाबाट राम्रो हेरचाह र ध्यान पाउनुहुन्थ्यो । त्यसदिन तपाईं विद्यालय जानु पर्दैनथ्यो । तसर्थ, तपाईंले शारीरिक रूपमा बिरामी हुने कला सिक्नुभयो । तर, जब तपाईंले विवाह गर्नुभयो, तपाईंले मानसिक रूपमा बिरामी हुने कला सिक्नुभयो ! तपाईं कसैको ध्यान आकर्षित गर्न चाहनुहुन्छ भने, एउटा कुनामा गएर उदास भएको नाटक गरेर बस्न सक्नुहुन्छ । मानिसहरूले तपाईंलाई ध्यान दिनेछन् । अत: यदि तपाईंले यो खेल खेलिरहनुभयो भने, एकदिन तपाईंले नाघ्नुभएको रेखाबाट फर्किन सक्नुहुन्न । त्यसदिन, तपाईंलाई मेडिकल रूपमा पुष्टि गरिनेछ ।

डिप्रेशनबाट कसरी मुक्त हुने ?

शारीरिक प्रणालीमा हुने रसायनहरूलाई सन्तुलनमा राख्नको लागि शारीरिक क्रियाकलापहरू निकै महत्वपूर्ण हुन्छन् । अघिल्ला केही पिँढीहरूबाट यहाँसम्म आइपुग्दा हाम्रा शारीरिक क्रियाकलापहरू अत्यधिक घटेका छन् । त्यसैले, हाम्रो प्रणालीमा रसायनहरूलाई सन्तुलित राख्न कठिन हुन्छ । यो असन्तुलनको एउटा रूप डिप्रेशन हो । केही निराश भएर कोठाको कुनै कुनामा बस्छन् । जो मानसिक रूपमा सन्की छन्, उनीहरू हिंस्रक बन्न सक्छन् । यस्तो स्थितिलाई शान्त पार्न सामान्य रूपमा केमिकल दिइन्छ, औषधी वा सुई प्रयोग गरिन्छ । तर, यसले मनुष्यमा भएको सम्भावना र सामर्थ्यलाई नष्ट गर्दछ ।

आफूमा सन्तुलन ल्याउने सबैभन्दा सरल र उत्तम तरिका भनेको प्राकृतिक वातावरणमा धेरै भन्दा धेरै शारीरिक क्रियाकलाप गर्नु-यो सानै उमेरबाट शुरु गर्नु उचित हुन्छ । अर्को पक्ष भनेको पाँच तत्वहरू वा पञ्चतत्व (धरती, जल, वायु, अग्नि वा सूर्यको प्रकाश र आकाश) को सम्पर्कमा रहनु हो । तपाईंले जस्तो प्रकारको खाना खानुहुन्छ, त्यो पनि कारक हो, त्यसैले अत्यधिक प्रशोधित खानेकुराहरू खानुहुँदैन । त्यसैगरी, भावनाको स्तरमा असुरक्षित महसुस गर्नु पनि अर्को कारक हो, जुन आधुनिक पिँढीले भोगिरहेको छ । अहिले मानिसहरू भावानात्मक रूपमा कसैसँग पनि खासै जोडिन सक्दैनन्, किनकि कोही पनि लामो समयसम्म साथमा हुँदैनन् ।

सारमा भन्नुपर्दा, डिप्रेशन यसरी बढ्दै जानुको मुख्य कारण भनेको बदलिँदो जीवनशैली हो । चाहिनेभन्दा अति बढी खानु, पर्याप्त मात्रामा शारीरिक क्रियाकलाप नहुनु, प्रकृतिसँग नजोडिनु, पञ्चतत्वको सम्पर्कमा नरहनु, भावनात्मक रूपमा असुरक्षित महसुस गर्नु-यिनै मुख्य कारणहरूले गर्दा, आज विश्वमा डिप्रेशन वा उदासीपन व्यापक रूपमा फैलिएको छ । यदि हामीले यी कुराहरूमा ध्यान दिने हो भने, डिप्रेशन लगायत अन्य मानसिक समस्याहरू जुन रूपमा फैलिएको छ, त्यसलाई उल्लेखनीय रूपमा कम गर्न सक्छौं ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका