चाडबाडलाई लक्षित गरी सुरक्षा व्यवस्था मिलाएको छु : प्रजिअ जैसी

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी भई आउनुभएका नवराज जैसी २०५५ सालदेखि जागिरमा प्रवेश गरेका हुन् । रसुवामा २०७८ असोज २२ गतेदेखि प्रजिअ हुनुभएका जैसी दैलेखमा बुवा देविराम जैसी र आमा अमृता जैसीको कोखबाट जन्मिनुभएका हुन् । उनीसँग जिल्लाको समसामयिक विषयमा संवाददाता सरस्वती न्यौपानेसँग गरिएको कुराकानी :-

निजामती सेवामा प्रवेश गरेको कति वर्ष भयो ?

लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट २०५५ सालमा राजपत्र अनङ्कित तृतीय श्रेणीको मुखिया पदबाट निजामती सेवामा प्रवेश गरेको हुँ । त्यस्तै सोही वर्ष द्वितीय श्रेणी खरिदार, २०६१ सालमा प्रथम श्रेणी नायब सुब्बा, २०७० सालमा राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत र २०७७ सालमा उपसचिव भएको हुँ ।

तत्पश्चात् सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, महिला मन्त्रालय, श्रम मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, लोकसेवा आयोग अनामनगर हुँदै रसुवा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको पदमा आज कार्यरत छु ।

पहिलो पटक यस जिल्लामा प्रमुख जिल्ला अधिकारी भई आउनुभएको छ । जिल्लामा रहँदासम्म के कस्ता काम गर्ने सोच बनाउनुभएको छ ?

प्रमुख जिल्ला अधिकारीको पदमा यस रमणीय जिल्ला रसुवामा आएको छु । यसअघि मुगु जिल्लामा द्वन्द्वकालमा २०६१ देखि २०६३ सम्म निमित्त प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेको अनुभव मसँग छ। त्यसैले जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्ने, जनधनको सुरक्षा र नागरिक स्वतन्त्रताको संरक्षण र संवद्र्धन, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने, विकास निर्माणका क्रियाकलापमा सहजीकरण गर्ने र तीनै तहबिच समन्वय गर्ने जस्ता भूमिकामा केन्द्रित हुन्छु । पदीय जिम्मेवारीलाई हिजोकोभन्दा अझ राम्रो प्रभावकारी भूमिका निभाउनु प्रयासरत छु ।

यस जिल्लामा रही जनताको सेवा गर्न पाउँदा कस्तो महसुस गर्नुभएको छ ?

भाग्यमानी ठानेको छु । राजधानीदेखि नजिकैको जिल्लमा रही यहाँका जनताको लागि सेवा गर्नु पाउँदा ‍औधि खुसी लागेको छु । त्यस्तै ऐतिहासिक स्थलहरू गोसाईंकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, पार्वतीकुण्ड, उत्तरगयाधाम, गुप्तेश्वर महादेव, कालिकास्थान मन्दिर, क्यान्जिङ गुम्बा, ऐतिहासिक रसुवागढी, लामटाङ हिमाल, गणेश हिमाल, याला पिक लगायतका काखमा बसी सेवा गर्न पाउँदा सायद योभन्दा आनन्द कहीँ पाउँदैन जस्तो महसुस लिएको छु ।

चाडपर्वका बेला जिल्लामा शान्ति सुरक्षाको व्यवस्था कस्तो रहेको छ?

विभिन्न जातजाति, धर्म, वर्ण र समुदायका आआफ्नै चाडपर्व र रीतिरिवाजले हाम्रो मुलुक समृद्ध छ। चाडपर्वको खुसीयालीमा शान्ति र सुव्यवस्थामा खलल पुग्ने गतिविधि पनि हुने गरेको विगतका उदाहरणहरू छन्। यस वर्षका नेपालीहरूका महान पर्वहरू वडा दसैँ, तिहार, छठ, ल्होसार, इद लगायतका अवसरमा जिल्लाको शान्ति र सुव्यवस्थामा कुनै कमी नहोस् भनेर जिल्लाको संवेदनशील स्थान र चोकहरूमा प्रहरी गस्ती, पट्रोलिङ र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानबिच सूचना सङ्कलन सुरक्षा व्यवस्थापनमा समन्वय र सहकार्यको प्रबन्ध मिलाइएको छ । यस व्यवस्थाले जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।

यसअघि कार्यरत रहँदाका क्षेत्र र अहिले प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहँदा फरक के पाउनुभयो ?

मन्त्रालय, सचिवालय वा आयोग वा अन्तरगत कार्यरत रहँदा कुनै निश्चित विषयको निश्चित जिम्मेवारी र भूमिका मात्र हुन्थ्यो । त्यस विषयमा मात्र जिम्मेवार र जबाफदेही भए पुग्थ्यो तर अहिले त्यस्तो जिम्मेवारी र जबाफदेहिताले मात्र पुग्दैन। प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी र भूमिका नै बहुआयामिक खालको हुन्छ । जिल्लाभरिको शान्ति सुरक्षा, नागरिक सेवा प्रवाह, विपद् व्यवस्थापन, विकास निर्माण, र सङ्घ, प्रदेश र स्थानीय तहबिच सौहार्द वातावरण निर्माण आदिका सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले कमान्ड, कन्ट्रोल र कोर्डिनेसनमा आफूलाई उत्कृष्ट देखाउनुपर्ने विषय अलि चुनौतीपूर्ण भए पनि त्यसलाई अवसरका रूपमा उपयोग गर्न सकिन्छ होला भन्ने आशा लिएको छु ।

आफ्नो जिम्मेवारीप्रति सन्तुष्ट हुनुहुन्छ ?

लोकतन्त्रमा नागरिक सार्वभौम हुन्छन् भन्ने मान्यतासँगै लोकतन्त्रले विधिमा आधारित सहमति र सहकार्य को माग पनि गर्दछन् भन्ने विश्वास गरिन्छ । जिल्लाको समग्र व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको भूमिका पर्याप्त हुन्छ भन्ने हुँदैन अहिले सङ्घीयतालाई संस्थागत गर्नुछ । सार्वभौम नागरिकका आवश्यकता र आंकाक्षा सम्बोधन गर्नुछ । कार्यलाई पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्नुछ । यी विषयमा सबैको साथ र सहयोग आवश्यक रहन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका