पैतालामा हिउँ, आँखामा हिमाल: एक अनुभूति

काठमाडौँ

विषय प्रवेश:

संसारमा प्रचलित साहित्यिक विधाहरूमध्ये नियात्रा विधा पनि एक प्राचीन विधा हो । पूर्वीय र पाश्चात्य दुवै साहित्यिक जगतमा नियात्रा विधा प्रभावशाली र लोकप्रिय विधाको रूपमा स्थापित भएको छ । अङ्ग्रेजी शब्द ट्राभलग (Travelogue) को नेपाली रूपान्तरण हो– नियात्रा । साहित्यको प्राचीनतम विधामध्ये एक भईकन पनि नेपाली साहित्यको क्षेत्रमा नियात्रा लेखनको थालनी १७ औँ शताब्दीको प्रारम्भतिरबाट सुरु भएको देखिन्छ । विक्रम संवत् १६०० तिर पण्डित गदाधर पाध्य सुवेदीले पं गदाधर पाध्य सुवेदीको अर्जीपत्र लेखेका थिए । यसको प्रकाशन २०५९ सालको भारद्वाज पत्रिकामा भएको भए पनि लेखन समयको दृष्टिले यसैलाई नेपाली नियात्रा साहित्यको प्रथम कृति मानिएको छ तर प्रकाशनको दृष्टिले चाहिँ सुबेदार मेजर शेरसिंह रानाको मेरो लण्दन राजनीतिक यात्रालाई नेपाली नियात्रा साहित्यको प्रथम कृति मानिन्छ । यस कृतिको प्रकाशन वि. सं. १९१३ मा बनारसबाट गरिएको थियो । यसपछि जङ्गबहादुर राणाको बेलायत यात्रा प्रकाशित भएको हो ।

नियात्रा साहित्यमा नियात्राकार स्वयम् नै द्रष्टा र भोक्ताको रूपमा उपस्थित हुनुलाई अनिवार्य मानिन्छ । नियात्राकार स्वयम्ले यात्राका सिलसिलामा गरेका प्रकृति, मानवसमाज तथा अन्य चराचरसँगको संसर्ग तथा अन्तरक्रियाबाट निःसृत हुन आएको अनुभव र अनुभूतिलाई कलात्मक ढङ्गबाट गर्ने गर्दछन् । समकालीन नेपाली साहित्यको क्षेत्रमा नियात्रा विधा प्रभावकारी र रुचिको विषय बन्दै आइरहेको छ । तर पनि उच्च कोटीका नियात्रा-कृतिको अभाव भने नेपाली साहित्यानुरागी र पाठकहरूले अनुभूति गरिरहेकै बखत राजेन्द्रमान डङ्गोल एक सशक्त र प्रभावशाली नियात्राकारको रूपमा देखा परेका छन् ।

पैतालामा हिउँ, आँखामा हिमाल कृति:

वस्तुतः यात्रा साहित्य हो– नियात्रा । नुवाकोट जिल्लाको भैरवी आदर्श गाउँ पञ्चायत साबिकको विदुर नगरपालिका वडा नं.– २ कपास खोरियामा वि. सं. २०२६ सालमा जन्मिएका राजेन्द्रमान डङ्गोल नेपालका समकालीन साहित्यका गतिशील र प्रभावशाली नियात्राकार हुन् । यात्राका पाइला शीर्षकीय नियात्रा कृति २०७६ श्रावणमा प्रकाशित गरेका उनको दोस्रो नियात्रा कृति हो— पाइलामा हिउँ, आँखामा हिमाल । नियात्राकारले २०६० देखि यताका विभिन्न कालखण्डमा सम्पन्न गरेका एघार वटा यात्राका क्रममा देखे भोगेका विभिन्न प्राकृतिक, सामाजिक तथा सांस्कृतिक परिवेश तथा घटनाहरूले पैदा गरेका मानसिक, भावनात्मक तथा वैचारिक चिन्तन धाराको सुन्दरतम अभिव्यक्ति हो– पैतालामा हिउँ, आँखामा हिमाल । यस कृतिमा हेलम्बुमा हेलिँदा, बादलमाथिको मन्दिर, इन्द्र दहमा पाँगा कल्पँदा, पोखरा पल्तिर, सिराइचुलीमा चुलिँदा, नारपाभूमिको आतिथ्य, यात्राबिचको यात्रा, काठमाडौँको काँठतिर…, पिके पिकको झलक, रुबी भ्याली स्मृतिका कोसेली, फ्याम ट्रिप –२०२१ लगायत ११ वटा मूल शीर्षक अन्तर्गत ३१ वटा फुटकर नियात्रा सङ्गृहीत छन् । सङ्गृहीत नियात्रामध्ये नारपाभूमिको आतिथ्यले सबैभन्दा लामो र फराकिलो आयाम लिएको छ ।

नियात्राकार राजेन्द्रमान डङ्गोल पेसाले पर्यटन व्यवसायी हुन् । करिब तीन दशक लामो व्यावसायिक दौडानमा उनले कैयौँ पटक नेपालका अधिकांश जिल्ला र पर्यटकीय स्थलको भ्रमण गरिसकेका छन् । कहिले विदेशी पर्यटकका पथ–प्रदर्शक भएर, कहिले साथी सँगातीहरूको आग्रहलाई नकार्न नसकेर त कहिले निजी योजना र चाहनामा आफूले यात्रा गरेका विभिन्न ठाउँहरूको प्राकृतिक र सामाजिक विषयवस्तुलाई टपक्क टिपेर साहित्यिक रूप दिन सक्नु डङ्गोलको वैशिष्ट्य हो ।

नियात्राकार डङ्गोलले सिन्धुपाल्चोक मुस्ताङ, काठमाडौँ, धादिङ, सिन्धुली, चितवन, मनाङ, कास्की र रामेछाप जिल्लाका पर्यटकीय गन्तव्यहरू भ्रमण गरी प्राकृतिक, सामाजिक जीवनका विभिन्न पक्षहरूको सूक्ष्म अवलोकन गरेका छन् । यिनै यात्राका दौडानमा आफ्ना ज्ञानेन्द्रियहरुले ग्रहण गरेका कुरालाई लिपिबद्ध गरी पैतालामा हिउँ, आँखामा हिमाल कृति तयार गरेका छन् ।

‘पतिको मृत्युपछि किरिया बस्न हेलम्बुबाट काठमाडौँ फर्किएकी उनै राजराजेश्वरीले जालसाजीमा परी नौ दिनपछि सतीको रूपमा जिउँदै जल्नु पर्‍यो । सौताहरू सुवर्णप्रभा र ललित त्रिपुरासुन्दरीको चाल र भीमसेन थापाको तजबिज । रानी राजराजेश्वरी एक्लीको के लाग्नु !’

लेखकीय शैली:

नियात्राका नाममा यात्रा गरेका ठाउँहरूसँग सम्बन्धित घटना विशेषको लम्बेतान व्याख्या वा परम्परागत रूपका दैनिकी रूपरेखाका कोरा विवरण मात्र प्रस्तुत गरिने वर्तमान यथास्थितिमा नियात्राकार राजेन्द्रमान डङ्गोलले नियात्रा लेखनमा नवीन शैलीको उद्बोधन गराएका छन् । त्यो के हो भने– मूल शीर्षकसँगै सिङ्गो यात्राका प्रतिविम्बलाई सङ्क्षिप्तरुपमा पस्केर उप–शीर्षकमार्फत रोचक र सुललित ढङ्गले त्यसका आयामलाई विस्तृतीकरण गरेका छन् । ‘पैतालामा हिउँ, आँखामा हिमाल’ पढ्दा यस्तो लाग्छ कि– नियात्राकार डङ्गोल नेपालको प्राकृतिक तथा सामाजिक दृश्य र परिवेशहरूलाई मिहिन ढङ्गबाट अवलोकन गर्न र यसका विविध आयामहरूलाई पगेल्न निकै माहिर छन् ।

२५ भन्दा बढी भाकाका स्वदेशी र एक–एकवटा फ्रान्सेली र हिन्दी गीतका अंशको प्रस्तुतिले नियात्रालाई एकोहोरो हुनबाट अलग्याएको छ भने कविताका सात वटा अंश र एउटा आफ्नै कविताले नियात्रालाई काव्यात्मक रङ दिएको छ । हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित तीन श्लोकले यस कृतिलाई पौराणिक धार्मिक आयामको गाम्भीर्यतालाई स्पष्ट पारेको छ । यस कृतिका हरेक शीर्षक र उपशीर्षकहरू पाठकप्रति अनौठो किसिमको आकर्षण प्रवाह गर्न सफल भएका कारण यसलाई पढुन्जेल स्वयम् पाठक नै हरेक यात्रा, घटना, दृश्य, कल्पना र यथार्थताको द्रष्टा र भोक्ता बनिरहेको सहज अनुभव गर्न सक्तछ । यदि कतै वास्तविक जीवनमा टुनामुनाको अस्तित्व छ भन्ने कुरालाई विश्वास गरिन्छ भने यसको प्रमाणको रूपमा पाठकसामु हरेक क्षण यही कृति उपस्थित भएझैँ अनुभूत गराउन सक्नु नियात्राकार डङ्गोलको चानचुने लेखकीय कला र कुशलता होइन ।

 कृतिको अन्तर्वस्तु

‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रा सङ्ग्रहमा सङ्गृहीत नियात्राहरुलाई अध्ययन गर्दा तिनमा बहुआयामिक प्रवृत्ति र विशेषता रहेको देखिन्छ । प्राकृतिक, सामाजशास्त्रीय, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, राजनीतिक र अर्थशास्त्रीय आयामसँग सम्बन्धित भोगाइ र बुझाइलाई साहित्यिक कलेवरमा यस सङ्ग्रहमा प्रस्तुत गरेका कारण हरेक शीर्षक र उपशीर्षकले मात्र होइन, हरेक अनुच्छेदहरूले पाठकमा चुम्बकीय प्रभाव पार्न सक्ने सामर्थ्य राख्नु यस कृतिको कलात्मक विशेषता हो । यसका मुख्य आयामहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ–

‘दामोदरकुण्डको पानी मिसिएर आउने कालीगण्डकी र मुक्तिनाथ धामबाट आउने कागखोलाको सङ्गम नै कागबेनी हो । दुवैतर्फबाट आउने नदीहरूको वेणी परेकाले कागबेनी भनिएको हो । यही कागबेनी नै कागबेनी भएको हो ।’ (प्रेमको प्रतीक: धुम्बाताल, पृष्ठ— ८२)

प्राकृतिक स्वरूप र यसको विशिष्ट पहिचानसँग नियात्राकारको बोधगम्यताको विस्तृत परिधि पहिचानका निम्ति उपर्युक्त तीन वाक्य नै काफी छन् । समाजशास्त्रीय दृष्टिकोणले पनि नियात्राकारले बडो सचेततापूर्वक आफ्नो धारणा अभिव्यक्त गरेका छन् । यसैको एउटा दृष्टान्त–

‘त्यसो त लिच्छवि र मल्लकालमा धेरै नेवार कालिगडहरू उपत्यकाबाट बाहिरिएका थिए । कला र शिल्पकै कारण अरनिको (बलबाहु शाक्य) जस्ता विख्यात कलाकार तिब्बतसम्म पुगेका थिए । उनीहरू जहाँ गए, स–सम्मान त्यहीँ बसे । पुस्ताहरूले पनि पुर्ख्यौली बिँडो थाम्दै गए । बस्ती विस्थापित हुनुको अन्य कारण व्यवसाय विस्तारका क्रममा क्रमशः बाहिरिएकोले पनि हुन सक्छ । महामारीका कारणले बस्ती नै सखाप भएको पनि हुन सक्छ । बिफरको महामारी आउँदा थुप्रै नेवारहरूलाई तामाकोशीपारि पुर्‍याइएका थिए, राजा रणबहादुर शाहका पालामा ।’(ठिसोङको पुस्तासँग कुञ्चेप्वाकलमा, पृष्ठ– २६४)’

यो त नेवार समुदायको विस्तार र सङ्कुचनप्रतिको उनको दृष्टिकोण हो । योभन्दा अघि बढेर उनी नेपालको अल्पसङ्ख्यक आदिवासी जनजातिमध्ये माझी जातिको बारेमा पनि यसरी आफ्नो दृष्टिकोण प्रस्तुत गर्दछन्–

‘आदिवासी हुन्– माझी । सीमान्तकृत समूह । युगौँदेखि बसोबास गर्दै आएका छन् यहाँ । पृथक् भाषा, पहिरन, संस्कृति र संस्कार भएको विशिष्ट जाति हो– माझी । विडम्बना चाहिँ नेपाली समाजको अङ्गको रूपमा रहेको माझी जाति उत्पत्तिको तथ्यपूर्ण अनुसन्धान हुन सकेको छैन ।’( माझी गाउँका मनहरू पृष्ठ– ३८६)

यी त एकाध दृष्टान्त मात्रै हुन् । यस कृतिमा अन्य जाति र समुदायका उद्भव, विस्तार र विकासबारे चाखलाग्दा धारणाहरू नियात्राकारले प्रस्तुत गरेका छन् ।
राजेन्द्रमान डङ्गोल प्राकृतिक सौन्दर्य, सामाजिक–सांस्कृतिक परम्पराको ऐतिहासिक उद्भवप्रति जति गहिरो रुचि राख्दछन्, त्यति नै रुचि देशको राजनीतिक शासन व्यवस्था र शासकहरूको चरित्रगत विशेषतापट्टि पनि राख्न सक्दा रहेछन् भन्ने सटीक दृष्टान्त पनि हो, यो नियात्रा सङ्ग्रह । उनले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक दुरवस्थाको मूल कारण राजनीतिक विसङ्गतिलाई यसरी अनावरण गरेका छन्–

‘नेपालमा निषेधको राजनीति थियो र छ । राणा शासनको त कुरै गर्नु परेन । पञ्चायतमा दलहरू निषेध थिए । लोकतन्त्रमा राजा । प्रतिगमन गरेको अर्थमा राष्ट्र निर्माताको वंशजलाई पाखा त लगायौँ । तर सयौँ छोटे राजा जन्मे । ऊ वेला राणाका सन्तानले गर्ने मोजमस्ती अहिले नेता र तिनका अनुचरले गर्छन्, यो वा त्यो बहानामा । आखिर स्वेच्छाचारीको जन्म त हुँदो रहेछ ! गणतन्त्रले देश अग्रगमनमा जान्छ भन्ने कतै भ्रममा त छैनौँ हामी ?’(सेल्फी डाँडामा सेल्फी, पृष्ठ ३७५)

नेपालको सांस्कृतिक परम्परालाई जीवन्त प्रस्तुत गर्ने नियात्रा कृति हो यो । आफूले पाइला टेकेका र देखेका प्राकृतिक छटाहरूको पट्यारलाग्दो बयानलाई भन्दा मानवबस्ती र त्यसभित्रका विभिन्न सामाजिक तथा सांस्कृतिक परम्पराबारे गहनतम अध्ययन र त्यसको सजीव प्रस्तुति यस सङ्ग्रहको प्रमुख विशेषता हो ।  नियात्रा यसरी बोल्छ–
‘नार र फुमा अन्नबाली लगाइसकेपछि ‘छे कोरो पर्व’ मनाइन्छ । यो वेला धार्मिक ग्रन्थ बोकेर खेतबारी र गाउँघर परिक्रमा गरिन्छ । यसो गर्दा गाउँलेलाई शुभ हुने, बालीमा किरा नलाग्ने र उत्पादन राम्रो हुने विश्वास गरिन्छ । वर्षा लाग्नुअघि घोडे जात्रा पनि हुन्छ (पैतालामा हिउँ, आँखामा हिमाल, पृष्ठ २०५) ।

यसै गरी– ‘सोरठी भनेको एउटा गीति कथा हो ।  यो नृत्यको कथावस्तु प्राचीनकालीन एक निःसन्तान राजाका सेरोफेरोमा केन्द्रित हुन्छ ।’ (स्मृतिमा चालीस गाउँ, पृष्ठ ३६२ )
नियात्राकारले यस कृतिलाई ऐतिहासिक आयामका दृष्टिले पनि निकै महत्त्वपूर्ण बनाउने प्रयास गरेका छन् । मानव बस्तीको सामाजिक र सांस्कृतिक आयामप्रति नियात्राकार जति पारङ्गत देखिएका छन्, त्यति नै जागरूक ऐतिहासिक आयामप्रति पनि देखिएका छन् । उनी नेपाली राजनीतिको ऐतिहासिक दुष्चक्रबारे लेख्छन्–

‘पतिको मृत्युपछि किरिया बस्न हेलम्बुबाट काठमाडौँ फर्किएकी उनै राजराजेश्वरीले जालसाजीमा परी नौ दिनपछि सतीको रूपमा जिउँदै जल्नु पर्‍यो । सौताहरू सुवर्णप्रभा र ललित त्रिपुरासुन्दरीको चाल र भीमसेन थापाको तजबिज । रानी राजराजेश्वरी एक्लीको के लाग्नु !’ (हेलम्बुमा हेलिँदा, पृष्ठ ३६)

यसै गरी– ‘देवीप्रसाद शर्माको आधुनिक नेपालको इतिहास नामक पुस्तकका अनुसार इसाईको रोमन क्याथोलिक सम्प्रदायका धर्मगुरु ‘क्यापुचीन पादरी’लाई वि. सं. १६८५ मा कान्तिपुरका राजा शिवसिंह मल्लले पहिलो पटक धर्म प्रचारका लागि नेपाल भित्र्याए ।’ (अन्तहीन दृश्य, पृष्ठ– ३४२)

फलतः यो कृति ऐतिहासिक दृष्टिले पनि निकै रोचक बन्न पुगेको छ ।

नेपाल धार्मिक सहिष्णुता भएको मुलुक हो । यसैको एउटा उदाहरण हो– मुक्तिनाथ मन्दिर । अरू पनि कैयन छन् यस्ता उदाहरणहरू । मुक्तिनाथ मन्दिरको विशेषताबारे नियात्राकार लेख्छन्–‘पद्मासनमा अभय मुद्रासहितका भगवान् विष्णुको मूर्ति रहेको छ । यसैलाई बौद्धमार्गीहरु अवलोकितेश्वरको रूप मान्दछन् । समान आस्था छ दुवै धर्मावलम्बीहरूमा । दायाँ र बायाँ दुवैतिर सरस्वती र लक्ष्मीका मूर्ति छन् ।’ ( अलौकिक दृश्य, पृष्ठ ८९ )    

यसै गरी

भोटे पीपलका वृक्षहरूले पात हल्लाएर ‘ॐ मणि पद्मे हुँ’ जप्दै थिए । त्यही लोलीमा बोली मिलाउँदै थिए, गुम्बा अगाडिका लुङ्दा र गुम्बा परिसरका रक्तवर्णका छ्योर्तेनहरुमा टाँगिएका लुङ्दरका सञ्जाल । यहीँबाट सुरु भएको थियो हिमालय क्षेत्रमा बौद्ध धर्मको प्रचार ।’ (योजनाविनाको यात्रा, पृष्ठ २३९ )

नेपाली समाज विभिन्न किसिमका मिथकहरूसँग हुर्किएको समाज हो । विभिन्न प्रसङ्गमा उल्लिखित मिथकहरूले कृतिलाई मिठासपूर्ण बनाएको छ । मिथकहरू मानव चेतनाले निक्र्यौल गर्न नसकेका रहस्यमयी घटनाहरूको स्वरै काल्पनिक वर्णन हुन् ।  युग–युगान्तरदेखि पुस्तान्तरण हुँदै वर्तमान समयसम्म पनि नेपाली समाजमा अस्तित्वमा रहँदैै आएका मिथकहरू नेपाली सभ्यताका अनमोल सूचना भण्डार हुन् । यिनै मिथकहरूलाई नियात्राकारले यसरी अभिव्यक्त गरेका छन्–

‘दुष्टात्मा र प्रेतहरू लखेट्ने सिलसिलामा पद्मसंभव मुस्ताङको तेताङसम्म आइपुग्दा धेरैलाई हराइसक्नुभएको थियो रे । तर ढाकछेन्मा भन्ने राक्षसी उम्कन सफल भइछ । उकालो लागेपछि पछ्याउँदापछ्याउँदै घमी खोलावारिको मैदानमा आइपुगेपछि पद्मसंभवले उसलाई पक्रन सफल हुनुभएछ ।’ (योजनाविनाको यात्रा, पृष्ठ २३९ )

यस्तै अर्को साक्ष्य– ‘तलाउको पानी विस्थापित गरी मञ्जुश्रीले काठमाडौँको स्थापना गर्नु अगावै विपश्वी बुद्धले नागार्जुनको टुप्पोमा बसेर तपस्या गरेका थिए रे । उनले कार्तिक महिनामा दक्षिण फर्केर मन्त्र गरी कमलको बिउ दहमा रोपे रे !’ (जामाचोबाट काठमाडौँ चियाउँदा, पृष्ठ २९७ )

देशको नाजुक अवस्थामा रहेको अर्थतन्त्रमा जीवन कसरी भर्न सकिन्छ भन्नेतर्फ पनि नियात्राकार डङ्गोल चिन्तनशील देखिएका छन् । लेख्छन्–‘नेपालको राजनीतिक खिचातानीले गर्दा अरुण–३ जस्तो महत्त्वको आयोजना विफल भएको थियो । सिक्टा सिँचाइ आयोजनामा द्विपक्षीय वा बहुपक्षीय सहयोग आएन । कैयौँ आयोजनाहरू गर्भमै तुहिएका थिए । एक दशक बितिसक्दा पनि मेलम्ची खानेपानी परियोजनाको सुरसार भएको थिएन ।’ (ग्रेटवाल छेउमा पुग्दा, पृष्ठ ५४)

पञ्चायती शासन व्यवस्थामा नेपालको निर्यात व्यापारको प्रमुख वस्तुको रूपमा रहेको गलैँचा निर्यात बहुदलीय शासन व्यवस्था सुरु भएपछि धराशायी बन्न पुगेको थियो । यसको मूल कारण अरू जेसुकै भए पनि नियात्राकारको ठम्याइमा ‘नेपालीहरूले बालश्रम प्रयोग गरे भन्ने अर्थमा युरोपियनले नेपाली कार्पेट बहिष्कार गर्दा उद्योग नै धराशायी भएको थियो  ।’ (हेलम्बुमा हेलिँदा पृष्ठ ३७)

ऊर्जा सङ्कटले आक्रान्त बनेको नेपाली जनजीवनको दुर्दशालाई दूर गर्न सकिने उपाय र यसको निम्ति विगतमा भएका प्रयासबारे उनी भन्छन्– ‘कालीनदी र यहाँ चल्ने हावा दुवैबाट बिजुली निकालेर नेपाललाई झिलिमिली पार्न सकिन्थ्यो होला । वि. सं. २०४४ सालमा राजा वीरेन्द्र सरकार बेलायत जाँदा उपहारस्वरुप प्राप्त बिस किलोवाट क्षमताको टर्बाइन कागबेनीमा जोडिएकै थियो नि !’(प्रेमको प्रतीक धुम्बा ताल, पृष्ठ ७८ )

प्राकृतिक सौन्दर्यलाई टपक्क टिपेर त्यसमा साहित्यिक लय प्रदान गर्न पोख्त डङ्गोल भन्छन्– ‘पहाडको छातीमा कोरिएको नागबेली पदमार्ग पछ्यायौँ हामीले ।  सिरसिरे हावामा चलमलाउँदै थिए, खस्रुका बोट । सुसेल्दै थिए सल्ला र झुल्दै थिए बुकीफूलहरु । सकी नसकी बयेली खेल्दै थिए भुईंचम्पाहरु ।’(आफ्नै दिन, आफ्नै मर्जी, पृष्ठ ३२१ )
जिन्दगी सम्बन्धी आफ्नै किसिमको वैचारिकी निर्माण गरेका छन् नियात्राकारले । उनी भन्छन्– ‘अलिखित पाठ्यपुस्तक हो जीवन आफैँमा र जिन्दगीभर चलिरहन्छ सिकाइ र भोगाइको क्रम (हेलम्बुमा हेलिँदा पृष्ठ ३७)’

यिनै बहुआयामिक विशेषताहरूले पूर्ण रहेको ‘पैतालामा हिउँ, आँखामा हिमाल’ नेपाली साहित्य जगतको एउटा उत्कृष्ट नियात्रा सङ्ग्रह हो । विधागत विशेषता र विभिन्नतालाई आत्मसातीकरण गरेर साहित्य सिर्जना गर्ने सन्दर्भमा समकालीन साहित्यकार कतै निम्छरो देखिन थालेका हुन् कि भन्ने आभास हुनु एउटा जोखिम नै हो । साहित्यका विभिन्न विधागत विकास र विस्तारका निम्ति यो ठुलो चुनौती पनि हो । विधागत विविधताका सीमालाई आत्मसात् गर्ने सन्दर्भमा नियात्राकार कतैकतै अलमलमा परेको हो कि भन्ने भान हुन्छ । नियात्रा साहित्यको पनि केही मूलभूत विशेषता छन् । यी विशेषताहरूमा नियात्रा आलम्बित भएको हुनुपर्छ । यी आधारभूत कुराहरूमा सचेत रहँदारहँदै पनि द्वितीय स्रोतको कतिपय सन्दर्भमा उल्लेख गरिएको देखिन्छ । नियात्रा साहित्यमा यस्तो स्रोतलाई वाञ्छनीय मानिँदैन । आगामी दिनहरूमा यसतर्फ नियात्राकारको ध्यान केन्द्रित हुने नै छ ।

अन्त्यमा, प्रकृति र मानवसमाज नियात्रा लेखनको मूल स्रोत हो भने यसको कलात्मक र आकर्षक प्रस्तुति यसको आत्मा हो । नियात्राकार आफैँ प्रकृति र मानव समाजको संसर्गमा पुग्दा र तिनीहरूसँग अन्तर्क्रिया गर्दा प्राप्त अनुभव र ज्ञानलाई तथ्यपरक रूपमा आकर्षक किसिमले साहित्यिक कलेवरमा अभिव्यक्त गर्न सक्नु सफल नियात्राकारको विशेषता हो ।

नेपाली समाजको बहुआयामिक प्रवृत्ति र विशेषताहरूलाई बुझ्नको निम्ति साहित्यानुरागीलाई मात्र नभई ऐतिहासिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित शोधकर्ताहरूलाई समेत ‘पैतालामा हिउँ, आँखामा हिमाल’ उपयोगी सिद्ध हुने छ । नियात्राकारले गरेका यात्राहरूमध्ये ११ वटा यात्रालाई समावेश गराएको यो सुन्दर कृतिलाई फिनिक्स बुक्स प्रा. लि. ले २०७८ मा प्रकाशित गरी पाठकहरू समक्ष ल्याएको छ । कृतिमा लिपिबद्ध गराइएका अन्तर्वस्तुको झल्को दिने गरी आकर्षक आवरण तयार पारिएको छ । ३१ वटा नियात्रा सङ्गृहीत यो पुस्तकको मोटाइ ३९२ पृष्ठको छ र मूल्य रु. ५९९।– निर्धारण गरिएको छ । विषयवस्तु र सिर्जनाकलाका दृष्टिले पैतालामा हिउँ, आँखामा हिमाल जस्तो सुन्दर कृति नेपाली साहित्य भण्डारलाई उपहार दिनुहुने नियात्राकार राजेन्द्रमान डङ्गोललाई हार्दिक साधुवाद !

तपाईको प्रतिक्रिया