अनाथ बालबालिका लागि ‘दिदी घर’

सैलुङअनलाइन संवाददाता
दाङ

समाज स्वार्थी बन्दै गएको छ । समाजमा रहने मानिस त्यो भन्दा बढी स्वार्थी छन् । अरूका लागि नै जीवन समर्पण गर्ने त झन् नगण्य मात्रामा नै रहेका छन् । अधिकांश आफ्नो स्वार्थकै पेरिफेरिमा घुमिरहेका हुन्छन् । यस्तो प्रवृत्ति हुँदाहुँदै पनि केही व्यक्तिले भने आफ्नो यौवनसहितको सारा जीवन समाज सेवामै अर्पेका हुन्छन् ।

अनाथ बालबालिकाको खुसीका लागि आफूलाई नै समर्पण गर्ने र आजीवन एकल बसेर बालबालिकाको शिक्षा-दीक्षा, स्वास्थ्य र संरक्षणका लागि लाग्नेहरू समाजमा त झन् कमै मात्र छन् । कतिले यस्तै काम गरे पनि देखावटी मात्रै गरेका हुन्छन् । तर, दाङमा एक जना महिलाले एकल रूपमा बालबालिकाप्रति समर्पित भएर बाल संरक्षण केन्द्र सञ्चालन गरेकी छन् ।

अनाथ, एकल र सडक बालबालिकाहरूलाई आफ्नै घरमा संरक्षण केन्द्र ‘दिदी घर’ सञ्चालन गरेर अभिभावकको भूमिका निर्वाह गरिरहेकी छन् तुलसीपुरकी स्यानी चौधरीले । जो वास्तविक सेवामा छिन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका-६ डुम्री गाउँकी चौधरीले अनाथ र एकल २२ जना बालबालिकालाई दिदीघरमा आश्रय दिइरहेकी छन् । उनले त्यत्ति मात्र नभएर सबै बालबालिकालाई शिक्षा-दीक्षा र पालन पोषण गरिरहेकी छन् । एक दशकदेखि उनले यो कार्य गर्दै आएकी छन् । विभिन्न सामाजिक संस्थामा काम गरेकी चौधरी वाल अधिकार सम्बन्धी दुई वर्ष जापानमा अध्ययन गरेर घर फर्किएपछि विवाहसमेत नगरेर यस्ता बालबालिकाको शिक्षा-दीक्षा र पालन पोषणमा लागेकी हुन् । आम नागरिकको सहयोग र साथीको प्रेरणाले अहिलेसम्म दिदीघरमा आउने सबै बालबालिकालाई राख्न सकेको स्यानी चौधरीको भनाई छ ।

उनले आफूसँग रहेका बालबालिकालाई बोर्डिङ स्कुलमा पढाई रहेको बताइन् । बालबालिका पनि पढाइमा अब्बल रहेको र उनीहरूलाई न्यूनतम कक्षा १२ सम्ममा पढाउने आफ्नो सोच रहेको उनले बताइन् ।नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिका अहिले दिदीघरमा रहेका छन् । दिदी घरमा अहिले मिनी लाइब्रेरी पनि सञ्चालनमा आएको छ । पढ्न चाहने सबैका लागि लाइब्रेरी खुला रहेको र लाइब्रेरीको नियम अनुसार अध्ययन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन । तुलसी बोर्डिङ स्कुलका विद्यार्थी मिलेर एक जना साथीको सम्झनामा ‘दिदी घर’मा लाइब्रेरी स्थापना गरेका हुन् ।

विद्यार्थीले आफ्ना स्वर्गीय सहपाठी तुलसीपुरकै शिवराज डाँगीको सम्झनामा ‘दिदी घर’मा असोजमा पुस्तकालय स्थापना गरेको स्यानी चौधरीले बताइन् । आफ्नो साथीको सम्झनामा डाँगीका सहपाठीहरूले आपसमा मिलेर झन्डै पचास हजार जति रकम सङ्कलन गरी ‘दिदी घर’ संस्थामा उक्त पुस्तकालय स्थापना गरेका छन् । किताब पढ्ने संस्कृतिको विकास गर्न र समाजमा ज्ञानको दायरा थप फराकिलो पार्न मद्दत पुगोस् भनेर त्यहाँ पुस्तकालय स्थापना गरिएको हो ।

‘दिदी घर’ सञ्चालक चौधरीले पुस्तकालय स्थापनापछि बिस्तारै युवा युवतिहरू दिउँसोको समयमा किताब पढ्न आउन थालेको बताइन् । ‘किताब पढ्न रुचि भएका जो कोही व्यक्ति यहाँ आएर दिनभर किताब पढ्न सक्नु हुन्छ,’ चौधरीले भनिन् । पुस्तकालय स्थापना गर्ने विद्यार्थीले नै किताब पढ्नका लागि केही नियम समेत बनाएर भित्तामा टाँसेका छन् । त्यसअनुसार त्यही बसेर पढेपछि किताब त्यही छोडेर जानुपर्छ । यदि कसैले घरमै लिएर जान चाहन्छ भने पाँच सय रुपैयाँ डिपोजिट राख्नुपर्छ । त्यसरी रुपैयाँ डिपोजिट गरेपछि १५ दिनका लागि किताब घर लगेर पढ्न पाइन्छ ।

कसरी स्थापना भयो दिदी घर

अनाथ बालबालिकाको सहारा बन्दै आएको ‘दिदी घर’ संस्था २०६१ सालदेखि सञ्चालनमा आएको हो । संस्थापक सञ्चालक चौधरीले आफ्नै घरलाई अनाथ बालबालिकाको लागि आश्रय स्थल बनाएकी छिन् । चौधरीले आफूले देश तथा विदेशमा काम गरेर आर्जन गरेको रकमबाट खरिद गरेको करिब डेढ कट्ठा जतिको क्षेत्रफललाई अनाथ तथा असहाय बालबालिकाको घरको रूपमा विकास गरेकी छिन् । पछिल्लो समय संस्थामा २२ बालबालिका छन् । ती मध्य केटा र केटीको सङ्ख्या लगभग बराबर जस्तै छ ।

चौधरीले उनीहरू सबैलाई तुलसीपुरकै अरनिको बोर्डिङ स्कुलमा पढाउँदै आएकी छन् । उनीहरूले कक्षा नर्सरीदेखि कक्षा पाँचसम्म पढ्ने गरेको चौधरीले बताइन् ।

सडकमा बेसाहा बालबालिका समेत प्रहरीले फेला पारी संस्थामा ल्याएर राख्न आग्रह गर्दै आएपछि बालबालिकाको सङ्ख्या बढ्दै गएको जानकारी दिइन् । सङ्ख्या बढ्दै जानुका साथै उमेर पनि बढ्दै जान थालेको हुँदा केटाका लागि अब छुट्टै होस्टेलको व्यवस्थापन गर्न थालेको चौधरीले जानकारी दिइन् ।

‘अब मङ्सिर महिनादेखि मेरो आफ्नै पुर्ख्यौली गाउँ तुलसीपुर-१३ बखरीयामा ब्वाइज होस्टेल बनाएर राख्न योजनाका साथ काम भइरहेको छ,’ चौधरीले भनिन्, ‘त्यहाँ पनि मैले आफैले आर्जन गरेको पैसाले २५ वर्षअघि केही जग्गा किनेर घर बनाएकी छु । अब ब्याइज होल्टल त्यही बनाउने सोचेकी छु ।’

उमेर बढ्दै गएका केटा र केटीलाई अलग राख्ने उद्देश्यले त्यसो गर्न थालिएको उनले बताइन् । ‘मैले यी सबै बालबालिकालाई यही राखेरै निस्शुल्क रूपमा कक्षा १२ सम्म पढाउने हो,’ उनले भनिन्, ‘त्यति पढेपछि सायद उनीहरूले आफ्नो जीवनको गन्तव्य पहिल्याउन सक्नेछन् भन्ने आशा छ ।’

चौधरीका आफ्नै सन्तान छैनन् । उनले बिहे पनि गरेकी छैनन् । अहिले उनको सबै थोक ती अनाथ बालबालिका मात्रै बनेका छन् । त्यसैले उनले अनाथ र असहाय बालबालिकालाई आश्रय दिएर उदाहरणीय कार्य गर्दै आएकी छन् । अहिले तीन जना सहयोगी राखेर आधा होस्टेल बखरियामा सञ्चालनको तयारी भइरहेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका