बुद्धिमान मोक्तानको जन्मजयन्तीमा अन्तरक्रिया

सैलुङअनलाइन संवाददाता
काठमाडौं

तामाङ पहिलो लेखक बुद्धिमान मोक्तानको १२२ औँ जन्मजयन्तीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । काठमाडौँकाे स्वयम्भू विजेश्वरीस्थित तामाङ कुदापमा तामाङ डाजाङको २०७ औँ शृङ्खलामा शनिबार एक कार्यक्रम आयोजना गरी मोक्तानको लेखन तथा योगदानको स्मरण गरेका हुन् ।

मानवशास्त्री डा. मुक्तसिं लामाले लामा टी. ग्याल्छेनको सहयोगमा आफूले बुद्धिमान मोक्तान लिखित प्रथम तामाङ पुस्तक जिक्तेन तामछ्योइ ग्रन्थलाई देवनागरी लिपिमार्फत् तामाङ भाषामा उल्था गरेर प्रकाशनमा ल्याएको र अहिले ह्रामालाई अनुवाद गरिरहेको जानकारी दिए ।

त्यस्तै भाषाविद् अमृत योञ्जन तामाङले बुद्धिमान मोक्तानले सन् १९५६ मा प्रकाशन गरेर ल्याएको जिकतेन तामछयोइ पहिलो तामाङ पुस्तक रहे पनि त्यसअघि पनि अप्रकाशित रूपमा केही पुस्तक लेखन भएको जानकारी दिए । उनले भने‚ ‘मोक्तानबाट प्रारम्भ भएको तामाङ लेखनको अहिलेको यात्रासम्ममा विभिन्न विधामा २०० भन्दा बढी तामाङ कृतिहरू रहेका छन् ।’ याेन्जनले काठमाडौँको बौद्धस्थित तामाङ गुठीमा तामाङ राष्ट्रिय पुस्तकालय स्थापना कार्य अघि बढेको र त्यहाँ तामाङसम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन हुने सूचना समेत प्रवाह गरे ।

त्यसैगरी भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चनले तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोगका लागि आफ्नो सहयोग रहने बताए ।

सोही कार्यक्रममा पोखराका दीपक तामाङले पोखरामै तामाङ साहित्यिक संस्थालाई विगत ३ वर्ष अघि नै स्थापना गरेर यस क्षेत्रमा भरथेग सहयोग गर्ने काममा संलग्न रहेको बताए ।

कार्यक्रममा सदाझैँ तामाङ लेखक तथा कलाकारहरूबाट तामाङ भाषामा लिखित सिर्जनाहरू कविता, गजल, हाइकु आदि सुनाइएका थिए ।

कार्यक्रमको अन्तमा डाजाङका अध्यक्ष फूलकुमार बमजनले पुर्खा (म्हेमे)ले देखाएको बाटो हिँडेर तामाङ संस्कृति, भाषा, साहित्यको संरक्षण, संवर्धन र विकास गर्नु नै हामी सबैको उहाँप्रतिको श्रद्धा सुमन रहेको बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका